शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

७६ वर्षको उमेरमा रेडपाण्डाको सिकार, पाप काट्न पूजा !

शनिबार, १४ चैत २०७७, ०८ : ०४
शनिबार, १४ चैत २०७७

काठमाडौं । रेडपाण्डाको सिकार गर्ने र अवैध तरिकाले बेच्ने एउटा समूह पत्ता लगाउन प्रहरी सफल भएको छ । भक्तपुरको कौशलटारबाट अप्रेसन सुरु गरेको चार दिनमा प्रहरीले उक्त सफलता हात पारेको हो ।

भक्तपुरको कौशलटारबाट चैत ६ मा सोलुखुम्बु घर भएका बाबुराम विक र दाङको तुल्सीपुरका पूर्ण डाँगी पक्राउ परे । उनीहरु प्रतिबन्धित वन्यजन्तु रेडपाण्डा लिएर हिँडेको सुराक प्रहरीले पाएको थियो ।

महानगरीय प्रहरी वृत्त जगातेबाट खटिएको टोलीले उनीहरुको साथबाट एउटा रेडपाण्डाको छाला बरामद ग¥यो । कौशलटारबाट पक्राउ परेका दुईजनाको बयानका आधारमा बौद्धबाट सोलुखुम्बुका २८ वर्षीय पवन विक पक्राउ परे ।

महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापा भन्छिन्, ‘पवनलाई पक्राउ गरेपछि रेडपाण्डाको मुख्य कारोबारीसम्म पुग्न सफल भयौं ।

पवनले नै काठमाडौंको कपनमा बस्ने बाबुराम र पूर्णलाई सो छाला दिएका हुन् । उनीहरु महँगो मूल्य तिर्न तयार ग्राहकलाई भेट्न कौशलटार पुगेका थिए ।

७६ वर्षे सिकारी

प्रहरीलाई पवनले आफूलाई रेडपाण्डा पठाउने मुख्य मान्छे सोलुखुम्बुमा रहेको जानकारीमात्र होइन, ती मुख्य मान्छेसँग अनुसन्धान अधिकृतकै सामु फोनमा कुरा गरे ।

मुख्य मान्छे थिए, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका२ घर भएका जगत बहादुर राई । उमेर ७६ पुगेका जगतले काठमाडौं आउँदा पवनलाई ९ वटा रेडपाण्डाको छालाको फोटो देखाएका थिए भने एक थान छाला छाडेर गए ।

पवनसँग प्रहरीले कुरा गराउँदा जगतले भने, ‘२० ओटा माल (पाण्डा) तयार छ, काठमाडौं आउँदिन, ग्राहकलाई सोलुखुम्बु नै लिएर आउनू ।

अनि, प्रहरीको अर्को टीम सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा रेडपाण्डा सिकारीलाई खोज्ने अप्रेशनमा जुट्यो । सोलुखुम्बुका डिएसपीसँग कुरा गरेर त्यहाँ अप्रेशन चलाउन भन्यौं, भक्तपुरकी एसपी थापा भन्छिन्, ‘त्यहाँ लुकाएर राखेको ७ वटा पाण्डाका छाला भेटियो ।

प्रहरी निरीक्षक मन्दिप चौहान नेतृत्वको टोलीले महाकुलुङ गाउँपालिका२ का जगत बहादुर राई, वडा नम्बर३ का मित्रधन राई र कविरशेखर राईलाई पक्राउ ग-यो भने ७ वटा रेडपाण्डाको छाला बरामद भयो ।

जगत राई पाण्डाको सिकार गर्ने मुख्य मान्छे हुन् । जगतको योजना अनुसार मित्रधनले मकालु वरुण राष्ट्रिय निकुञ्जमा पासो थाप्ने गरेका थिए । उनीहरुले गोठ छेउमा राति पासो थाप्ने गरेका रहेछन्, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी कवित कटुवालले रातोपाटीसँग भने, ‘पासोमा परेपछि समातेर मार्ने गरेको थाहा भएको छ ।

मित्रधन र कबिरशेखर उमेरले ५० कटेका छन् । पाण्डा मारेपछि नङ्ग्रा र दाँतसहितको छाला निकालेर उनीहरुले एउटा पाण्डाको छाला ५० देखि ६० हजार रुपैयाँमा बेच्ने गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।

पाप काट्न पूजा

पाण्डा सिकार गर्नेहरु पाप नलागोस् भनेर पूजा गर्थे । किराँत एवं बुद्ध धर्म मान्ने उनीहरु रातभर पाण्डाको सिकार गर्थे अनि पाप काट्न भन्दै दिउँसो पूजा गर्ने गरेको प्रहरीले जनाएको छ ।

पाप नलागोस्, हाम्रो मिसन सफल होस् भनेर पूजा गर्दा रहेछन्, डिएसपी कटुवाल भन्छन्, ‘रेडपाण्डा सिकार गर्ने र ब्यापार गर्ने कामचाहिँ उनीहरु रातिमात्रै गर्ने रहेछन् ।

पाण्डाको छाला बेच्नुअघि समास्या नआओस् भनेर उनीहरुले बुद्धको प्रार्थना गर्ने गरेको प्रहरीलाई बताएका छन् । 

सोलुखुम्बुमा ५० देखि ६० हजार रुपैयाँमा बिक्री हुने रेडपाण्डाको छाला काठमाडौंमा ७ लाखसम्ममा उनीहरुले बेच्ने गरेको बताइएको छ । चैत ९ सम्ममा ८ थान छाला र ६ जनालाई पासोसहित पक्राउ गरेपछि प्रहरीको सो अप्रेशन सकिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार पाण्डा मार्नेलाई ५ देखि १० लाखसम्म जरिवाना वा पाँचदेखि १५ बर्षसम्म कैद हुने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप