शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देश बनाउन परदेश हिँड्ने श्रमजिवीहरूको कथा ‘सनैया’ सार्वजनिक

सोमबार, १६ चैत २०७७, १५ : ५९
सोमबार, १६ चैत २०७७

काठमाडौं । उराठ चल्ने उजाड मरुभूमिमा सुन्दर जीवनको खोजी गर्ने केही मानिसहरु छन्, जो आफ्नो परिवार र सन्तानको भविष्यका लागि पसिनाका धारा बगाइरहेका छन् । कतै अग्ला भवनमा झुन्डिएर रङ लगाइरहेका त कतै सिसाका झ्याल मिलाइरहेका उनीहरुको श्रम रियाल, दिनार र दिराममा साटिएर नेपाल आइपुग्छ । यिनै नेपाली युवाहरुलाई अरबको गर्मीमा पछ्याउँदै पत्रकार होम कार्कीले लेखेको पुस्तक ‘सनैया’  सार्वजनिक भएको छ।

‘जुन दिन म अप्ठ्यारोमा परेका कामदारहरुलाई भेटेर फर्कन्थें, त्यो रात मेरो निद्रा भाग्थ्यो । फिटिक्कै निदाउन सक्दिनथें । बन्द गरेका आँखावरिपरि उनीहरु झल्झली घुमिरहन्थें । ती झझल्कोहरुलाई ल्यापटपमा उतारेपछि मात्रै मलाई शान्ति मिल्थ्यो,’ लेखक होम कार्की भन्छन्, ‘यो किताब त्यसैको परिणाम हो ।’

कार्की विगत एक दशकदेखि वैदेशिक रोजगारीका बहुआयामिक पाटाहरुको रिपोर्टिङमा संलग्न छन् । त्यस क्रममा चार बर्ष दोहामा बसेर पत्रकारिता गरेको अनुभव उनीसँग छ । कार्कीले कतार, साउदी अरब, बहराइन, ओमन र कुबेत गएर गरेका स्थलगत लेखनले पनि राम्रो चर्चा पाएका थिए । यो किताब उनले खाडी क्षेत्रमा कार्यरत् ५ सय ४० जना नेपाली कामदारसँग कुराकानी र अन्तर्वार्ता गरेको आधारमा तयार पारिएको हो ।

‘सनैया’लाई सुन्दर भविष्यको खोजीमा जवान वर्तमान साटिरहेका नेपालीहरुको कथा भन्न सकिन्छ । आफ्नो देश र समाजले उपयोग गर्न नसकेको, उपेक्षा गरेका सस्ता श्रमिकको जीवन गाथा पुस्तकमा रहेको बताइएको छ । 

किताब पब्लिसर्सले प्रकाशन गरेको ‘सनैया’ सोमबारबाट बजारमा उपलव्ध रहेकाे जनाइएको छ । 

यो पुस्तकमा वैदेशिक रोजगारीका नाममा चलिरहेको आप्रवासी मजदुरहरुको उत्पीडन र सङ्घर्षको चक्रलाई भिन्न–भिन्न पात्र र भिन्न–भिन्न कथाका माध्यमबाट चित्रण गर्ने प्रयास गरिएको छ । यसमा पाठकले पिडा र समस्या, आँशु र पसिनामात्र हैन, खुशी, प्रेम र सफलताका असामान्य घटनाहरु पनि पढ्न पाइने किताब पब्लिसर्सले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप