बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

होलीको बदलिँदो स्वरुप: डम्फुको ठाउँमा डिजे, गाउँमा रौनक घट्दै

सोमबार, १६ चैत २०७७, १६ : ०२
सोमबार, १६ चैत २०७७

सिरहा । केही वर्ष अघिसम्म होली भन्नासाथ तराई मधेसमा छुट्टै रौनक हुन्थ्यो, रोजगारी, अध्ययन तथा व्यापार–व्यवसायका सिलसिलामा टाढा पुगेकाहरू पनि होली मनाउनका लागि गाउँघर फर्कने गर्दथे । ढोलक, डम्फु, हार्मोनियमको तालमा होली गीत गाउँदै गाउँ नै झुम्थ्यो । समूह समूहमा बाँडिएर मानिसहरु होली खेल्न घरघर जान्थे । घरमुलीले क्षमताअनुसार दक्षिणा दिएर रङ लगाइदिन्थे । राति अबेरसम्म गाउँघर गीत आउँदै होली खेल्दै रमाइलो हुन्थ्यो ।

अहिले ती रौनक हराएका छन् । होलीमा ढोलक, डम्फु, हार्मोनियमको सट्टा अहिले डिजे बाजा बजाएर घरघर हिँड्ने चलन बढ्न थालेको छ । जसले गर्दा नेपालकै मौलिक बाजाहरू लोप हुन थालेका छन् । होलीको महत्त्व पनि गाउँघरमा कम हुँदै गएको छ ।

रङहरूको पर्व भनिए पनि अचेल होलीमा रङको प्रयोग कम, खानपिनमा ज्यादा जोड दिन थालिएको छ । सिरहाको औरही गाउँपालिका–५ का श्री देव यादव भन्छन्, ‘आधुनिकताको प्रभावले होलीको रौनक घट्दै गइरहेको छ, घरघरमा टिभी, हातहातमा मोबाइल छ, यिनै विद्युतीय साधनको प्रयोगबाट एक्लै बसेर दिन कटाउन अभ्यस्त हुँदै गएका मानिस समूहमा निस्किएर होली मनाउन छाडेका छन् ।’

होलीका अवसरमा गाइने मौलिक गीत अचेल गाउँघरमा सुन्न पाइँदैन । म्युजिक सिस्टममा फिल्मी गीत बजाएर होली मनाउने गरेका कारण होलीमा मौलिकता पनि घट्दै गएको यादवको भनाइ छ ।

सिरहा वरियारपट्टीका सुनिल यादव पाँच वर्षपछि गाउँमा होली मनाउन आएका छन् । हुम्लामा अध्यापन गर्दै आएका उनले भने, ‘पाँच वर्षपछि गाउँमा होली मनाउन आएको तर अहिले कुनै रौनक नै छैन, पहिला पहिला गाउँमा आउँदा अर्कै रौनक हुन्थ्यो, चारैतिर डम्फुको आवाज, ढोलक, हार्मोनियमको आवाज गुञ्जायमान हुन्थ्यो । रङ लगाएर शुभकामना आदान प्रदान हुन्थ्यो । अहिले ती सबै हराएका छन् ।’

रोजगारी, अध्ययन तथा व्यापार–व्यवसायका सिलसिलामा गाउँघरबाट बाहिर पुगेकाहरू पनि होली मनाउनका लागि गाउँ आउन छाडेका छन् । ‘जो जहाँ छन्, त्यतै रहेर चाडपर्व मनाउन थालेका छन्,’ उनले भने, ‘त्यही भएर पनि गाउँघरमा होलीको रौनक देखिएको छैन ।’

विगतमा डम्फु बजाउँदै होली गीत गाएर यो पर्व मनाउने गरेका मानवीर यादवले गाउँमा युवाहरु नै नरहेपछि बाजा बजाएर गीत गाउने, रमाइलो गर्ने जनशक्तिको अभाव देखिएको बताए । ‘युवाहरु सबै विदेश गएका छन्, पढे–लेखेकाहरु कर्मचारी भएर सहर गएका छन्, छोराछोरीहरू अध्ययनका लागि सहर गएका छन्, अनि होली कसले मनाउने ?’ उनको प्रश्न छ ।

परम्परालाई जोगाउन, होली गीत गाएर रमाइलो गर्न आफूलाई अझै रहर लागिरहेको उल्लेख गर्दै उनी भन्छन्, ‘होलीका गीतहरू रेडियोमा बज्न थालेका छन्, त्यसमै मान्छे रमाउन थालेका छन् । अहिले हामीजस्ता बूढापाकालाई कसले सोधखोज गर्छ र ?’

तराई मधेसमा वसन्त पञ्चमीदेखि होली सुरु हुन्छ । वसन्त पञ्चमीको दिनदेखि डम्फु बजाएर होलीलाई स्वागत गरिन्छ । त्यो दिनदेखि प्रत्येक साँझ गाउँमा होलीको गीत गुञ्जायमान हुन्थ्यो तर अचेल त्यो प्रचलन हराइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप