शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालयको लापरवाहीले एसिडको होली: पीडित किशोरी भन्छिन्- ‘मलाई पहिलेकै अनुहार दिलाइदिनुस्’

मङ्गलबार, १७ चैत २०७७, १९ : ३९
मङ्गलबार, १७ चैत २०७७

काठमाडौं । आइतबार होलीको दिन । काठमाडौंको शंखरापुर नगरपालिका वडा नं. १ नाङ्लेभारेमा रहेको नवीन ग्राम माध्यमिक बिद्यालयको प्राङ्गणभित्रै एसिडको होली खेलियो । पानी ठानेर एसिड छ्याप्दा ३ जना बालबालिकासहित अन्य केही व्यक्ति घाइते भए ।  साँखुको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारपछि २ जना घाइते बालकलाई डिस्चार्ज गरिएको छ भने गम्भीर घाइते बालिका अस्मिता तामाङको उपचार भइरहेको छ । उनको दुबै आँखा बन्द अवस्थामा छ भने अनुहार सुन्निएको छ । अहिले उनको अवस्था खतरामुक्त रहेको अस्पतालका मेडिकल डाइरेक्टर सन्तोषविक्रम भण्डारीले जानकारी दिएका छन् । घटनापछि नाङ्लेभारे प्रहरीले ३ जनालाई प्रक्राउ समेत गरेको छ । 

यसरी भएको थियो घटना 

नवीनाग्राम माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने बालिका अस्मिता तामाङ होली पर्वको दिन गत आइतबार साथीहरुसँग होली मनाउन स्कूल पुगेकी थिइन् । त्यसदिन सार्वजनिक बिदा भएकोले स्कूल बिदा थियो । स्कूल छेउमा साँखु–मेलम्ची सडक मर्मतका खटिएका मजदूरहरु काम गरिरहेका थिए । अस्मिता आफ्ना साथीहरुसँग स्कुल परिसरभित्र होली खेलिरहेकी थिइन् ।

दिउँसो साढेँ ३ बजेतिर होली खेलिरहेका बेला सडक निर्माणमा खटिएका १७ वर्षका पवन पहाडी र १८ वर्षका आकाश तामाङ पनि होली खेल्न विद्यालयभित्र छिरे । विद्यालय हाताभित्र जर्किनमा रहेको एसिडलाई पानी ठानेर त्यसमा रंग घोलेर अस्मिता, तामाङ, सविन तामाङ लगायतलाई छ्याप्न थाले । जब शरीरका विभिन्न भागमा पोल्न थाल्यो, तब उनीहरुले त्यो पानी नभई एसिड रहेको थाहा पाए ।

होली खेल्ने क्रममा भूलबस भएको एसिड प्रहारबाट सबैभन्दा धेरै असर अस्मितालाई परेको छ । उनको अनुहार तथा शरीरका विभिन्न भागमा एसिड परेको छ । साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गराइरहेकी उनले अनुहार तथा शरीरका विभिन्न भागमा पोलिरहेको र दुखिरहेको बताइन् । स्कुलमा जहिले पनि त्यो सेतो जर्किन रहने गरेको तर त्यो अहिले आएर एसिड भएको थाहा भएको उनले बताइन् । 

होली खेलिरहेका बेला स्कुलमा आएर एसिड हान्नेलाई आफूले पहिले कहिल्यै पनि नदेखेको उनले बताइन् । उनले आफूलाई यस्तो अवस्थाहरूमा पुर्‍याउनेलाई कारवाही गर्न माग गरेकी छिन् । अस्मिताकी फुपु दिदी श्रीमाया तामाङले एसिडले पोलेपछि बहिनी धेरै आत्तिएको र रोइरहेको बताइन् । उनले प्रश्न गरिन्–‘विद्यालयको कम्पाउन्डमा डेरी, अरु उद्योग खोल्न लगाउने हो ? विद्यालयभित्र जहाँ पायो त्यही एसिड राख्ने हो ? विद्यालयको व्यवस्थापकहरु समेत यसको जवाफदेही हुनुपर्छ । को–को दोषी छन्, तिनीहरुलाई कारवाही हुनुपर्छ । एसिड हान्नेलाई, राख्नेलाई र विद्यालय व्यवस्थापन समितिलाई कारवाही हुनुपर्छ ।’ 

अस्पतालमा उपचार गराइरहेकी अस्मिता आफ्नो अनुहार पहिलेको अवस्थामा नफर्किने हो कि भनेर चिन्तामा छिन् ।  अस्पतालको शैयाबाट उनले भनिन्– ‘यस्तो बनाउनेलाई कारवाही होस् । मलाई मेरो  पहिला जस्तो अनुहार थियो, त्यस्तै अनुहार चाहिन्छ ।’ 

उनको अनुहार र दुबै आँखा सुन्निए पनि अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।  ११ वर्षका सविन तामाङ पनि नवीनग्राम माविमा कक्षा ४ मा पढ्छन् । एसिडबाट उनको अनुहारको छाला डढेको छ । स्कुलमा होली खेलिरहेका बेला उनलाई पनि समातेर रंग मिसाएको एसिड दलिदिएको बताए । 

उनकी आमा बेली तामाङले आइतबार सबिन २ बजे घरबाट होली खेल्न निस्किएको र अस्पताल पुर्याएपछि दिउँसो ४ बजे मात्र घटनाबारे थाहा पाएको बताइन् ।   उनले आफ्नो परिवारको आर्थिक कमजोर रहेकोले उपचार खर्च बेहोर्न नसक्ने उल्लेख गरिन् । उनले भनिन्– ‘उपचार गर्न हाम्रो क्षमता छैन् । मेरो छोराको अनुहार जस्तो थियो त्यस्तै बनाइ दिइयोस् ।’  विद्यार्थीका अभिभावक मानबहादुर तामाङले बिद्यालयको कारण यस्तो घटना घटेको उल्लेख गर्दै उपचारका लागि आफ्नो आर्थिक अवस्थाले नभ्याउने बताए ।  

चिकित्सक भन्छन्– ‘अहिले खतरामुक्त अवस्थामा छन्’ 

एसिडको होलीबाट घाइते बालबालिकाको स्वास्थ्य खतरामुक्त रहेपनि उनीहरुको उपचारमा केही साता लाग्ने सुष्मा कोइराला मेमोरियल अस्पतालका मेडिकल डाइरेक्टर डा.सन्तोष विक्रम भण्डारीले जानकारी दिए । 

उनले आगोले पोलेको भन्दा एसिडले पोलेको जलन धेरै हुने, सल्फरिक एसिडले पोलेकोले जलन बढी हुने र उपचारमा केही साता लाग्ने बताए । उनले भने–‘अहिले उनीहरुलाई सबै औषधीहरु चलाइरहेको छ । अनुहार, दुवै आँखा सुन्निएको छ । उपचारका लागि झन्डै ३ साता बढी लाग्नसक्छ । उपचार खर्च तीन चार लाख हाराहारी लाग्न सक्छ ।’ 

स्कूलमा डेरी चलाउन दिने प्रध्यानाध्यापक भन्छन्- ‘म अहिले अप्ठेरोमा परेको छु’

नवीनग्राम माविका प्रधानाध्यापक गुरुप्रसाद दंगालले विद्यालय परिसरमा दुध संकलन गर्ने डेरी चलाउन भाडामा विद्यालयको कोठा दिएका थिए । स्थानीयका अनुसार विद्यालय व्यवस्थापन समितिसँग छलफल समेत नगरी एकलौटी ढंगले एकल निर्णयमा विद्यालयको कोठा भाडामा लगाएका थिए । विद्यालयको कोठा डेरी चलाउन भाडामा दिएपनि विद्यालय प्रशासनले कहिले पनि अनुगमन गर्ने, व्यवस्थापनबारे चासो राख्ने नगरेको स्थानीय बताउँछन् । रातोपाटीले प्रअ गुरुप्रसाद दंगालसँग पटक–पटक विद्यालयमा भएको एसिड घटनाबारे जिज्ञासा राख्दा उनले आफू निकै अप्ठेरोमा परेको र पछि फोन गर्ने बताउँदै फोन राखे ।

विद्यालय क्षेत्रलाई सुरक्षित र व्यवस्थित राख्न नसक्नु प्रधानाध्यापक र विद्यालय व्यवस्थापनको गम्भीर कमजोरी रहेको सोही विद्यालयमा कार्यरत एक शिक्षकले उल्लेख गरे । विद्यालयमा एसिडको घटना घटेपछि विवादमा आएका उनी यसअघि पनि शिक्षकले पाउनुपर्ने तलब नदिएका कारण विवादमा परेका थिए । एमालेको स्थानीय नेता तथा शिक्षक राजनीतिमा समेत लागेका उनलाई कोरोना पछि भएको लकडाउन अवधिमा शिक्षकले पाउनुपर्ने तलब नदिएपछि केही शिक्षकहरुले आक्रमण समेत गरेको सोही विद्यालयका एक शिक्षकले बताए । 

अनुसन्धान गर्न अदालतले दियो ५ दिनको म्याद 

एसिडमा रंग घोलेर दल्ने १७ वर्षीय पवन पहाडी र १८ वर्षीय आकाश तामाङ प्रहरी हिरासतमा रहेका छन् । आरोपीले नाङ्गलेभारे नवीन ग्राम माविमा रहेको  सरस्वती दुग्ध उत्पादन सहकारी संस्थाले राखेको सल्फ्युरिक एसिड ल्याएका थिए । 

दुग्ध सहकारीका ४४ वर्षीय केशव नेपाललाई पनि पक्रेर मुद्दा चलाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर आरोपीहरुमाथि महानगरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । 

होली खेल्ने क्रममा पानी मागेपछि ९ वर्षका बालकले डेरीबाट ग्यालिनको एसिड लगिदिएको र एसिड भन्ने नचिनेर उनीहरुले दलेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।

यस्तो छ कानुनी व्यवस्था

सरकारले एसिडलाई घातक बस्तु मान्दै एसिड आक्रमण तथा एसिड प्रयोग सम्बन्धमा कडा कानुनी व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता ०७४ (संसोधित) को दफा–१९३ अनुसार तेजाब प्रहार गरेर कुरुप बनाएमा २० वर्ष कैद र १० लाख जरिवाना हुने कानुनी व्यवस्था छ । जरिवाना बापतको रकम पीडितलाई क्षतिपूर्ति दिनुपर्छ । 

यस्तै अनुहार कुरुप बनाउने मनसाय नभएको तर लापरवाही गरेको पुष्टि भएमा २ वर्ष कैद अथवा २० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।   तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश–०७७ अनुसार एसिड राख्नका लागि अनुमति लिनुपर्छ । तर यो घटनामा अनुमति नलिई विद्यालयभित्र एसिड राखेको पाइएको प्रहरीले बताएको छ । अनुमति नलिई एसिड राख्नेलाई ५० हजारदेखि १ लाख जरिवाना र ३ महिनादेखि १ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । 

पीडितका परिवारले दुग्ध उत्पादन सहकारीका सञ्चालकसहित ३ जनाविरुद्ध किटानी जाहेरी दिएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नविन कार्कीले रातोपाटीलाई बताएका छन् । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप