बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय जनगणनाको तयारी तीव्र

बुधबार, १८ चैत २०७७, १६ : ५२
बुधबार, १८ चैत २०७७

काठमाडौं । राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र  हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ । समितिले गणकलाई प्रत्येक घरदैलोमा पुगेर वास्तविक तथ्यका आधारमा तथ्याङ्क सङ्कलन गर्ने कार्यमा कुनै कमी कमजोरी हुन नदिन आयोग र विभागको गम्भीर ध्यानाकर्षण गराएको छ । सरकारले आगामी जेठ २५ देखि असार ७ गतेसम्म बाह्रौं राष्ट्रिय जनगणना गर्दैछ । 
 
समितिको आजको बैठकमा सदस्यहरुले खासगरी बसाइसराइँ र विभिन्न पेशा व्यवसायमा संलग्न हुने सिलसिलामा शहर र विदेशमा जाने नागरिकको दोहोरो गणना हुनसक्ने सम्भावनालाई समयमै होस् पुर्याउन सुुझाव दिए । 

जनगणनामा शिक्षा, पेशा, बसाइँ सराइका अतिरिक्त विदेशमा रहेका नेपाली र नेपालमा रहेका विदेशीको पनि गणना हुन आवश्यक रहेको बताउँदै उनीहरुले सही तथ्याङ्क सङ्कलन गर्न गणकहरु प्रत्येक घरमा पुगे नपुगेको अनुगमन गर्ने प्रणालीसमेत आवश्यक रहेको उल्लेख गरे । जनगणनाको स्थलगत तथ्याङ्क सङ्कलन गर्न ३९ हजार गणक तथा आठ हजार सुपरीवेक्षक परिचालन गरिने सो अवसरमा जानकारी दिइयो । 

सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षताको संस्थागत विकास गर्ने बलियो आधार जनगणना भएको हुँदा सही तथ्याङ्क सङ्कलन गर्न सक्नुपर्छ भन्दै सदस्यहरुले सामाजिक रुपान्तरणका लागि कुप्रथाको जड र केन्द्रविन्दु मानिएका विषय पत्ता लगाउने गरी फारम विकास गर्न सुझाव दिए ।

कर  र राजश्वलगायतका कारणले सही सूचना नदिने पाटोमा सुधार गर्दै जनगणनामा सबैलाई सहभागिताका लागि प्रेरित गर्न सुझाव दिए । महिलाले घरभित्र गरेका कामको मूल्यको गणना हुन आवश्यक रहेको बताउँदै उनीहरुले मुलुकभर सेवा क्षेत्रमा भएको विस्तारको अवस्था कस्तो छ भन्ने कुरा पनि जनगणनामा आओस् भने ।
नेपालले प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । प्रत्येक वर्ष असार ८ गतेलाई जनगणना दिवसका रुपमा मनाउने गरिन्छ । यस वर्षको जनगणनाको मूल नारा ‘मेरो गणनाः मेरो सहभागिता’  रहेको छ ।
 
योजना आयोगका सदस्य डा.रामकुमार फुयाँलले राष्ट्रको विकास र समृद्धिको अभियानलाई अघि बढाउन ठिक तथ्याङ्क आवश्यक पर्ने भएकाले राष्ट्रिय जनगणनामार्फत सही तथ्याङ्क सङ्कलन गर्न आयोगले भगीरथ प्रयत्न गर्ने दृढता व्यक्त गरे । तथ्याङ्क विभागका महानिर्देशक नेवीनलाल श्रेष्ठले स्थानीयवासीलाई प्रोत्साहन गर्न रोजगारमा संलग्न नभएका युवायुवतीलाई प्राथमिकता दिने उद्देश्यले दरखास्त आह्वान गरी गणक परिचालन गर्न लागिएको बताए ।

उनले भने, ‘युवालाई गौरव बोध होस् भन्ने हेतुले विगतमा ९८ प्रतिशत शिक्षक परिचालन गर्दै आएकामा यस पटक ठिक विपरीत सोही प्रतिशत युवालाई गणनामा सहभागी गराउने व्यवस्था गरिएको छ ।’ शहरका उच्च वर्गको तुुलनामा कम साक्षरता भए पनि दूरदराजका जनताले वास्तविक तथ्याङ्क उपलब्ध गराएर सहयोग पुर्याएको विगतको अनुभव सुनाउँदै महानिर्देशक श्रेष्ठले समाजका सवै तह र तप्कालाई राष्ट्रिय जनगणनामा सहभागी भई सहयोग पुर्याउन अपिल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप