शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘आहा–रारा गोल्ड कप’ प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा र एपिएफ भिड्ने

बिहीबार, १९ चैत २०७७, १३ : १५
बिहीबार, १९ चैत २०७७

पोखरा । यही चैत २१ गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने ‘आहा रारा गोल्डकप’ को उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरीको एपीएफ भिड्ने भएका छन् । बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा १९ औं संस्करणको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाकारी समेत दिएको छ ।

प्रतियोगितामा नेपालका चर्चित ७ र एक विदेशी सहित ८ वटा क्लवहरुको सहभागिता रहने आयोजक सहारा क्लबका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिए ।  उनका अनुसार यसपटक सहारा क्लब पोखरा, नेपाल एपिएफ क्लब, मछिन्द्र क्लब, अफ्रिकन रुट एसोसिएसन, जाउला क्यामरुन, संकटा क्लबको सहभागिता रहने छ । त्यसैगरी नेपाल आयल निगम मनाङ्ग मस्र्याङ्गदी क्लब, रुसलान थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको उपाधि विजेता र उपविजेताले क्रमशः १० लाख १ हजार र ५ लाख १ हजार रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । प्रतियोगितामा १ करोड २९ लाख १ हजार रुपैयाँ आम्दानी हुने अनुमान आयोजक क्लबले जनाएको छ । त्यसैगरी क्लबले १ करोड १ लाख ८१ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको अध्यक्ष थापाले बताए । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई अप्रिल स्कुटर प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट स्ट्राइकर, मिड फिल्डर, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगदसहित पुरस्कृत गरिने अध्यक्ष थापाले जानकारी दिए ।  प्रतियोगिताको अवसरमा सहारा क्लबले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७ बाट एकजना खेलाडीलाई नगद ३५ हजारसहित दोषल्ला र ताम्रपत्र प्रदान गरेर सम्मान गर्ने जनाएको छ ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले गर्ने बताइएको छ । १९ औं संस्करणलाई सहारा क्लबले पोखराका प्रतिष्ठित उद्योगपति तथा राजनीतिककर्मी स्व.सूर्य बहादुर केसीको स्मरणमा विशेष बनाउने भएको छ । पोखराको फुटबल विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै उनको संस्मरणमा विद्यागततर्फ १० हजारले बृद्धि समेत गरेको अध्यक्ष थापाले बताए । 

केसीको स्मृतिमा सहाराले प्रदान गर्ने विधागत अवार्डमा स्व.केसीको नाम समेत जोड्ने भएको छ । जसमा विभिन्न विधाका विजयी खेलाडीलाई विधागत अवार्डमा ट्रफी र नगद २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
सहारा क्लबले विगत २० वर्षदेखि पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगिताबाट बचत भएको रकम प्रतियोगिता आयोजक सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडमीमा खर्च गरिनेछ । 
पोखरा १७ दोबिल्लामा रहेको सहारा एकेडमीमा हाल १४ जिल्लाका २४ जना असहाय बालकहरू आश्रित छन् । क्लबले उनीहरुलाई शिक्षा, दीक्षा निःशुल्क प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप