शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बालकलाकार आश्रितीको बालचित्र कथा ‘करण र कार्टुन’

आइतबार, २२ चैत २०७७, १२ : ०८
आइतबार, २२ चैत २०७७

काठमाडौँ । बाललेखक समिर कोजू र बालकलाकार आश्रिती श्रेष्ठको बालचित्र कथा ‘करण र कार्टुन’ सार्वजनिक भएको छ । नेपाल आर्ट काउन्सिल बबरमहलमा शनिबार आयोजित कार्यक्रममा संस्कृतिविद् तथा शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले पुस्तक विमोचन गरे ।

कार्यक्रममा वाङ्मय पुरुष जोशीले कला र संस्कृतिको प्रवद्र्धनले मात्र देश समृद्ध हुने विचार राखे । उनले हरेक बालबालिका सिर्जनशीलता हुने धारणा व्यक्त गर्दै  प्रतिभालाई अगाडि बढ्ने वातावरण निर्माणमा  सबैले जोड दिनु पर्ने बताए । 

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले चित्रकार, लेखक र समीक्षक पनि बालप्रतिभा भएकैले विशेष रहेको बताए । उनले बाललेखक कोजुले समसामयिक, चेतनामूलक विषयलाई लिएर कथा लेखेको र बालकलाकार आश्रितीले निकै राम्रा चित्र बनाएको जनाए ।

कार्यक्रममा बाल समीक्षक सोइना दाहालले किताबका बारेमा चर्चा गर्दै बालबालिकामा मौलाउँदै गएको मोवाइल संस्कृतिले विकृतिको रुप लिएको बताइन् । उनले पुस्तकका माध्यमबाट बालबालिकामा हुने प्रविधिको लतलाई निकै आकर्षक रुपमा उधिनेको विचार व्यक्त गरिन् ।

कार्यक्रममा कार्टुनिस्ट अविन श्रेष्ठले कथा समसामयिक र सन्देशमूलक रहेको बताउँदै आश्रितीका चित्रका बारेमा चर्चा गरे । उनले बालबालिकालाई माहोल दिन सकिए उनीहरुमा रहेको प्रतिभा प्रस्फूटन हुने बताए । 

मोहन कार्की, काठमाडौं मेरिडियन स्कुलका प्राचार्य दिनेश न्यौपाने, सुशिला देउजा समेतको उपस्थिती रहेको कार्यक्रममा बालकलाकार आश्रितीको एक दिवसीय  चित्रकला प्रदर्शनीसमेत गरिएको छ । प्रदर्शनीमा आश्रितीले दुई वर्षको उमेरदेखि बनाएका चित्र राखिएको छ ।

महाराजगञ्जस्थित मेरिडियन स्कुलमा कक्षा ३ मा अध्ययनरत् नौ वर्षीया आश्रितीले धार्मिक, सांस्कृतिक, प्राकृतिक विषयमा केन्द्रित रही सिर्जनात्मक ढंगले चित्र तयार पारेकी छन् । ‘करण र कार्टुन’ चित्रकथालाई बालसाहित्य प्रतिष्ठान नेपालले करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिको सहयोगमा प्रकाशन गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप