शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा एमाले संसदीय दलको बैठकमा खनाल–नेपाल समूह पनि सहभागी

आइतबार, २२ चैत २०७७, १४ : ३९
आइतबार, २२ चैत २०७७

नेकपा एमालेले आज बोलाएको संसदीय दलको बैठकमा एमालेको झलनाथ खनाल–माधव नेपाल समुह पनि सहभागि बनेको छ ।  केही बेर अघिदेखि शुरु भएको बैठकमा सरकारमा रहेका मन्त्रीसहित खनाल–नेपाल समुहका सबै सांसदहरु सहभागी बनेको सांसद सुशील थापाले जानकारी दिए । बैठकमा सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र अर्थ मन्त्री प्रकाश ज्वाला पनि सहभागी छन् । बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि चैत ४ गते बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिइएको समर्थन फिर्ता लिएको घोषणा गरेको थियो । उक्त बैठकले गरेको निर्णयमा खनाल–नेपाल पक्षका सांसदहरूले भने सहमति जनाएका थिएनन् । उनीहरू बैठकमा सहभागीसमेत भएका थिएनन् ।

सांसद यामलाल कँडेलको निकै प्रयास पछि खनाल–नेपाल समुह पनि आजको बैठकमा सहभागि बनेको हो । बैठकमा संसद् आह्वान, सरकारलाई दिइएको समर्थन फिर्तालगायत विषयमा छलफल भइरहेको बताइएको छ ।  आजको बैठकमा सरकारमा रहेका मन्त्रीले राजीनामा दिने विषयमा पनि छलफल हुने स्रोतले जानकारी दिएको छ । 

कर्णाली प्रदेश सभामा नेकपा एमालेमा १९ जना सांसद (सभामुखबाहेक) ले नै मुख्यमन्त्रीलाई दिइएको समर्थन फिर्ता लिएको खण्डमा प्रदेश सरकार संकटमा पर्नेछ । त्यसपछि नयाँ सरकार निर्माणको विकल्प खोज्नु पर्नेछ ।

कर्णालीमा नेकपा एमालेको मात्र सरकार बनाउन भने सम्भव छैन । कर्णाली प्रदेशको माओवादी केन्द्र संसदीय दलले एमालेमा प्रवेश गरेका सांसद् धर्मराज रेग्मीलाई  हटाइदिएपछि प्रदेश सभामा सांसदको संख्या ३९ भएको छ ।

३९ जना सांसदमध्ये पनि सरकार गठनका लागि २० जनाको बहुमत आवश्यक पर्छ । एमालेका एक जना सांसद सभामुख भएकाले एमालेका १९ जनामात्र सांसद हुनेछन् । प्रदेश सभामा नेपाली काँग्रेसका ६, राप्रपाका एक, माओवादी केन्द्रका १२ जना सांसद छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप