शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ वर्षमा नयाँ फिल्म हेर्न नपाइने !

निर्माता अड्किए एमजीमा, हल सञ्चालकको बेग्लै गुनासो
सोमबार, २३ चैत २०७७, १४ : ०३
सोमबार, २३ चैत २०७७

काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा नयाँ वर्षलाई सबैभन्दा ठूलो अवसर मानिन्छ । नयाँ वर्षमा रिलिज भएका फिल्मले लगानी सुरक्षित मात्र गर्दैनन्, व्यावसायिक नाफा पनि आर्जन गर्ने गरेका छन् । त्यही भएर नयाँ वर्षमा फिल्म रिलिजका लागि निर्माताहरूमा तँछाड–मछाड हुने गर्छ ।

कोरोनाको कहर अगाडिका वर्षको कुरा गर्ने हो भने यो समय तीन वा सोभन्दा बढी सङ्ख्याका फिल्म रिलिज हुन्थे । यसरी रिलिज भएका सबै फिल्मले व्यावसायिक नाफा कमाएका थुप्रै उदाहरण छन् फिल्म क्षेत्रमा ।

फिल्म रिलिजका लागि राम्रो मानिएको नयाँ वर्ष नजिकिँदै गर्दा नेपाली फिल्म हल लगभग खाली हुने देखिएको छ । नयाँ वर्षमा राम्रा र नयाँ फिल्म हेर्ने दर्शकको चाहना अधुरै रहने भएको छ ।

हुन त केही दिनअगाडिसम्म नयाँ वर्षका लागि भन्दै ‘लप्पन छप्पन–२’, ‘कृष्णलीला’ र ‘मनसँग मन’ नामका तीन फिल्म आउने तयारीमा थिए । तर, रिलिज मिति नजिकिँदै गर्दा सबै फिल्मले रिलिज स्थगित गरेका छन् ।

हुन त पहिले नै अड्किएर राम्रो समय रिलिज हुन कठिन मानिएका फिल्म ‘बेस्ट फ्रेन्ड’ र ‘श्री’ अहिले रिलिज हुने तरखरमा छन् । अन्तिम समयमा यी पनि रिलिज हुन्छन् हुँदैनन् यसै भन्न सकिने अवस्था छैन ।

निर्माताहरूले नयाँ वर्षमा फिल्म रिलिज स्थगित गर्नुको कारण बलिउड, हलिउडमा पनि नयाँ फिल्म रिलिज नहुनु, कोरोनाको कहर र व्यावसायिक कारण भनेका छन् । केही निर्माताले भने फिल्म हल सञ्चालक र सरकारलाई पनि दोष देखाएका छन् ।

नयाँ वर्षका लागि फिल्म के ? यो समय दर्शकले नयाँ फिल्म हेर्न पाउने कि नपाउने ? अहिले सबैको मनमा उब्जिएका प्रश्न हुन् । यिनै प्रश्न हामीले फिल्म क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग पनि राखेका थियौँ । उनीहरूको जवाफ जस्ताको त्यस्तै ।

फिल्म दिने आँट गर्न सकेनौँ

रोहित कट्टेल (निर्माता तथा वितरक) :

म फिल्म निर्माता र वितरक पनि हुँ । एक हिसाबले हेर्दा नयाँ फिल्म दिने काम मजस्तो वितरकको हो ।

अहिले एकदमै गाह्रो परिस्थिति छ । फेरि बन्दको हल्ला चलेको छ । सरकारबाट फिल्म रिलिज गर्न कुनै पनि सपोर्ट छैन । बलिउडका बिग ब्यानरका फिल्मले समेत रिलिज डेट सारेको अवस्थाले मैले पनि आफ्नो फिल्म ‘कृष्णलीला’ सारेर नयाँ फिल्म दिन नसकेको हो ।

एक किसिमले हेर्ने हो भने अहिले हिन्दी फिल्म नआउनु नेपाली फिल्मका लागि अवसर पनि हो । तर एक वर्षदेखि फिल्म रिलिज नभएको अवस्थामा हामीले डेढ करोडको फिल्म लगाएर दर्शक आएनन् भने सबै लगानी स्वाहा हुने जोखिम मोल्न सक्दैनौँ ।

अहिलेको अवस्थामा फिल्म रिलिज गर्ने भए केही हदसम्म एमजी दिनुपर्ने कुरो छलफल र मिटिङमा उठेको पनि थियो । त्यो भयो भने फिल्म रिलिजका लागि आँट गर्न सकिन्छ भनेर मैले भनेको थिएँ ।  त्यसका लागि कोही तयार भएनन् ।

कोराना अगाडिको समय नयाँ वर्ष फिल्म रिलिजका लागि वर्षभरिकै राम्रो समय हुन्थ्यो । त्यही भएर नयाँ वर्षलाई नै लक्षित गरेर फिल्म रिलिज गर्ने तयारी गरेका पनि थियौँ । एक वर्षदेखि धेरै हल बन्द भएको, कोरोना बढेको र भ्याली बाहिर नयाँ वर्षमा पनि धेरै हल नखुल्ने अवस्था लगायतले फिल्म रिलिजको आँट गर्न सकिएन ।

नयाँ वर्ष हाम्रा लागि चाड हो

रोज राणा (महासचिव चलचित्र निर्माता सङ्घ) :

नयाँ वर्षमा दर्शकले राम्रा फिल्म हेर्न पाउने सम्भावना छैन । कोरोनाका कारण नयाँ फिल्म रिलिज गर्ने वातावरण पनि छैन । पहिले त्यो वातावरण निर्माण गर्नुप¥यो । यो मैले पटक–पटक भन्दै आएको कुरो हो ।

अहिलेको अवस्था कोरोना सङ्क्रमण सकिएको, डर नभएको अवस्था होइन । त्यसैले नयाँ र राम्रा बजेटका फिल्म रिलिज हुने अवस्था छैन ।

जबसम्म हलवाला (प्रदर्शक)ले फिल्मका लागि एमजी (मिनिमम ग्यारेन्टी) दिन सक्दैनन् तबसम्म निर्माताले फिल्म दिने अवस्था रहँदैन ।

अहिलेको अवस्थामा निर्माता सङ्घले निर्णय गरेर निर्मातालाई फिल्म रिलिज गरौँ भन्न पनि मिल्दैन ।

जबसम्म दर्शक आउने, फिल्मको लगानी सुरक्षित हुने माहोल बन्दैन तबसम्म नयाँ र राम्रा चलचित्र रिलिज हुन गाह्रो छ । नयाँ वर्ष हामी फिल्मकर्मीका लागि सबैभन्दा ठूलो चाड पनि हो । तर, अघिल्लो वर्ष र यो वर्ष दुर्भाग्य पर्यो ।

फिल्मको वातावरण बिस्तारै बन्नुपर्छ र बनाउनका लागि हामी विभिन्न छलफलमा छौँ ।

निर्मातालाई नेपालमा जति पनि हल छन्, ती सबैले १०, २०, ५० हजारका दरले सकेजति दिऔँ, अलिअलि भए पनि उनीहरूको लगानी सुरक्षित हुने वातावरण बनाऔँ भनेको हो । त्यसो गरेर फिल्मले लगानी उठायो भने ठिकै छ, उठाउन सकेन भने हलले दिएको त्यो पैसा निर्माताले अर्काे फिल्म बनाएर तिर्ने वातावरण मिलाऔँ भनेको थिएँ ।

यसो गर्दा राम्रो फिल्म बजारमा आउँछ र बजार गर्माउँछ भन्ने मेरो बुझाइ थियो । दर्शकलाई हलसम्म तान्ने फिल्म नै रिलिज नभएका कारण अहिले फिल्मी माहोल बन्न नसकेको हो ।

हामीलाई एमजी कसले दिने ?

मधुसुदन प्रधान (अध्यक्ष, नेपाल चलचित्र सङ्घ) :

जबसम्म मानिसमा कोरोनाको डर रहन्छ, तबसम्म फिल्म हलमा दर्शक देखिने सम्भावना न्यून रहन्छ । कोरोनाको त्रास कायमै रहेको कारणले पनि अहिले नयाँ फिल्म रिलिज हँुदैन ।

केही अगाडिसम्म दर्शकका लागि नयाँ फिल्म दिने माहोल बनाएका थियौँ । यही समय दोस्रो चरणको कोरोना सुरु भयो । त्यो माहोल बिग्रियो । रिलिज हुने तयारीमा रहेका फिल्म सरियो ।

बलिउड र हलिउडमा पनि नयाँ रिलिज फिल्म छैनन् । कतिपय निर्माताले हामीले एमजी नदिएकाले नयाँ फिल्म रिलिजमा नदिएको भनेका छन् । हामी प्रदर्शक पनि अहिले घाइते नै छौँ । हामीले पैसा भएर हल खोलेका होइनौँ । कोहीले भाडामा, कोहीले ऋणमा खोलेका छाँै । बत्ती, पानीदेखि सबैतिर खर्च छ हाम्रो ।

हलमा दर्शक आउन राम्रो फिल्म चाहिन्छ । राम्रो फिल्मको कुरो गर्ने हो भने मेरो तीन करोडको फिल्म भनेर निर्माता दाबी गर्छन् । हामीले एमजी गर्नुपर्ने कुरा गर्छन् । हामी नै पीडामा छौँ, कसरी एमजी दिने ।

हाम्रो हलको एमजी कसले दिने ? हाम्रो पनि लगानी छ । हामीले कोहीसँग एमजी मागेका छैनौँ । एउटा चलचित्र घर बनाउन २० देखि ३० करोड लाग्छ । यो समय सरकार मौन छ । त्यसैले अहिलेको अवस्था नयाँ फिल्म होइन, आफ्नो स्वास्थ्य हेर्ने बेला हो ।

कोरोना सुरु हुनुभन्दा अगाडिका नयाँ वर्षमा तीनदेखि ४ फिल्म आउँथे । यो समय राम्रो फिल्म भयो भने ४० देखि ५० करोडभन्दा माथिको व्यवसाय हुन्थ्यो । कतिपय समय नेपाली फिल्मले बलिउड फिल्मसमेत विस्थापित गरेकोे रेकर्ड हामीसँग छ ।

बोर्ड सहयोग गर्न तयार छ

दयाराम दाहाल (अध्यक्ष, चलचित्र विकास बोर्ड) 

नेपालमा मात्र होइन, विश्वमै यो समय नयाँ फिल्म रिलिजमा छैन । हामी अहिले धेरै अत्तालिएका छौँ । विदेशमा झन्झन् हल बन्द हँुदै गएका छन् । नेपालमा कसरी रिलिज हुन्छ नयाँ फिल्म ? हाम्रो मात्र होइन बलिउड, हलिउड, कोरियनलगायत सबै फिल्मका हालत यस्तै हो ।

सरकारले कोरोना बढ्ने देखिएकाले सभासम्मेलन गर्न झन् कडाइ गर्दैछ । नयाँ वर्षमा फिल्म रिलिज गर्न  हल पूरै दर्शक राखेर खोल्ने अन्तिम प्रक्रियामा मैले पुर्याएको थिएँ । माहोल फेरि बिग्रियो ।

अब कोरोना अन्तर्राष्ट्रिय स्तरमै कम भयो भन्ने सन्देश नफैलिएसम्म फिल्म चल्दैन । २, ३ करोड लगाएर निर्माताले बनाएको फिल्म हामीले अहिले जबर्जस्ती रिलिज गर भन्न सक्दैनौँ । फिल्म रिलिजका लागि बोर्डले केही गरेन भन्छन् । हामीले रिलिजका लागि १२ लाख दिने प्याकेज र निर्माणका लागि विभिन्न सुविधा दिएका छौँ । त्यसका लागि प्रक्रियामा उहाँहरू आउनुभएको छैन ।

सरकारले लगानी दिने कुरो नियममा पनि छैन । बोर्डले पहल गरेन भन्ने कुरो गलत हो । त्यो नितान्त व्यवसायसँग सम्बन्धित कुरो हो । हलवाला र निर्माताले मिलाउनुपर्छ । बोर्ड त्यसका लागि आवश्यक सहयोग गर्न तयार छ ।

फिल्म किनेर ल्याएर हलमा चलाउने काम बोर्डको होइन । हाम्रो नीतिनियम बनाउने काम हो । त्यो हामीले गरेका छाँै । यसमा सबै प्रस्ट हुनुपर्छ ।

हलमा मानिस हुल्ने, फिल्म किन्ने काम बोर्डले गर्न सक्दैन । बोर्डले प्रत्येक हलका लागि ४० हजारका दरले स्वस्थ्य सामग्री र रिलिज हुने फिल्मका लागि विभिन्न खर्चको व्यवस्था गरेको छ । त्यो प्रक्रिया पु¥याएर लिँदा हुन्छ । प्रक्रियामा नआउने बोर्डले केही गरेन भन्न पनि मिल्दैन । 

अहिले गरेको सहयोगमा अझै केही बढाउन सकिन्छ कि भनेर हामी छलफलमा छौँ । बोर्डलाई गाली गर्नु, आफू चोखिन खोज्नु हो । व्यावसायिक कुरा व्यवसायीहरू नै बसेर मिलाउनुपर्यो । बोर्डले प्रोत्साहन गर्ने कुरा केही बाँकी राखेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप