बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र क्षेत्रलाई चलायमान बनाउन के गर्नुपर्छ  ?

सोमबार, २३ चैत २०७७, १४ : ०१
सोमबार, २३ चैत २०७७

काठमाडौं । वरिष्ठ कलाकार नीर शाहले औद्योगिक चरित्र हासिल गर्न नसकेका कारण चलचित्र क्षेत्र उद्योगको रुपमा स्थापित हुन नसकेको बताएका छन् । नेपाल चलचित्र निर्देशक समाजको १३ औं वार्षिक साधारणसभामा बोल्दै शाहले चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीति नियम बनाएपनि औद्योगिक चरित्र हासिल नभएसम्म उद्योगको रुपमा स्थापित हुन नसक्ने बताए । चलचित्र क्षेत्र आफै राष्ट्रियस्तरको बन्न नसकेको गुनासो शाहको रहेको थियो । 

‘जुन भाषा मात्र लिएर दशकौंदेखि सिनेमा बनेका छन् त्यसकै आधारमा राष्ट्रिय भइसक्नुपर्ने तर त्यसो हुन नसक्नुको मुख्य कारण सबैले जान्ने र माया गर्ने भाषामा चलचित्रमा प्रस्तुत गर्न नसक्नु नै रहेको हो’ शाहले थपे । ‘जबसम्म देश भरका सम्पूर्ण भाषा, संस्कृति, संस्कारलाई सन्तुलित ढङ्गबाट अगाडि बढाउन सकिन्न तबसम्म चलचित्र उद्योगले राष्ट्रिय स्वरुप हासिल गर्न सक्दैन ।’ शाहले देशभरका जुनसुकै भाषा, समुदाय, संस्कृति र संस्कारमा विश्वास गर्ने चलचित्रकर्मीहरु एकजुट भएर दरिलो वित्तिय संस्था गठन गर्न तत्पर हुन पनि आग्रह गरेका थिए ।

फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणाले चलचित्र क्षेत्रलाई चलायमान बनाउन सबैभन्दा पहिला हल खोल्नुपर्ने बताइन् । त्यस्तै निर्देशक समाजका उपाध्यक्ष राजेन्द्र उप्रेतीले सरकारले कोरोना खोप सबै नागरिकलाई दिनुपर्ने र भिडमा जाँदा कोरोना सर्दैन भन्ने विश्वास दिलाउनुपर्ने धारणा राखेका थिए । उनले फिल्मी वातावरण बनाउन यसका लागि राम्रो चलचित्र बनाई राम्रो आम्दानी गर्दै आएका निर्माताहरुले नै पहिलो तत्परता देखाउनुपर्ने बताए । 

यस्तै निर्देशक, निर्माता नरेश पौडेलले सरकारले पाँच वर्षसम्मका लागि चलचित्र क्षेत्रका सबै व्यवसायलाई सम्पूर्ण रुपले कर छुट गर्नुपर्ने बताए ।  कलाकार दिनेश डिसीले सबैभन्दा पहिला गाँस, बास र कपासको समस्या समाधान नभईकन चलचित्र क्षेत्र चलायमान बन्न नसक्ने धारणा राख्दा कलाकार तथा निर्देशक दीपाश्री निरौलाले सामाजिक दुरी कायम गर्दै चलचित्र हेर्नका लागि आम दर्शकलाई आह्वान गर्नुपर्ने बताइन् ।

कार्यक्रममा अधिकांश वक्ताले कोभिडबाट सबैभन्दा बढी प्रभावित भएको चलचित्र क्षेत्र चलायमान बनाउन अहिले चुनौति रहेको र त्यसका लागि बिभिन्न संस्था र सरकारले पहल गर्नुपर्ने धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप