शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराको आकाश तुवाँलोले ढाक्यो, हवाई उडान अवरुद्ध

मङ्गलबार, २४ चैत २०७७, १२ : ३६
मङ्गलबार, २४ चैत २०७७

वायु प्रदूषणका कारण बाक्लो तुवाँलो लाग्दा पोखराको हवाई उडान पुनः प्रभावित भएको छ । वायु प्रदूषणले भिजिबिलिटी नहुँदा झन्डै एक साता अवरुद्ध रहेको उडान गत बिहीबारदेखि सुचारु भए पनि सोमबारदेखि पुनः प्रभावित भएको हो । अहिले पोखरा आकाश तुवाँलोले ढाकेको छ । 

सोमबार पोखराका लागि झण्डै तीन दर्जन उडान तालिका बने पनि आकाशमा तुवाँलो बढेर भिजिबिलिटी नहुँदा दिउँसो मात्र काठमाडौँमा २ वटा र जोमसोमका लागि ७ वटा उडान भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिए । 

मङ्गलबार भने भिजिबिलिटी नहुँदा कुनै पनि उडान हुन नसकेको प्रमुख गौतमले बताए । ‘मौसममा सुधार आउने प्रतीक्षामा छौँ, उडानका लागि आवश्यक ५ किमि भिजिबिलिटी नपुग्दा उडान गर्न सकिएको छैन’ उनले भने, ‘मौसममा सुधार आउनेबित्तिकै उडान सुचारु हुन्छ ।’

झन्डै एक साता अवरुद्ध भएका उडान गत बिहीबारदेखि सञ्चालनमा आएको भए पनि सोमबारदेखि फेरि मौसम बिग्रिएकाले उडान प्रभावित भएको गौतमको भनाइ छ ।  उनले आज मौसममा सुधार आउने सम्भावना कम देखिएको बताए । 

गौतमका अनुसार सोमबार समिट एयरका चार र तारा एयरका तीनवटा उडान जोमसोमका लागि भएका थिए । तर पोखरा–काठमाडौँ रुटमा भने बुद्ध र यतिले एक–एकवटा मात्र उडान गरेका थिए । 

पोखराको मुख्य बजारबाट नजिकै रहेका सराङकोट, काहुँडाँडा, पुम्दीकोट लगायत डाँडाहरू तुवाँलोले देखिएका छैनन् । धुवाँ र धुलोले भिजिबिलिटी कम हुँदा पोखराबाट उडान हुन नसकेको पोखरा विमानस्थलले जनाएको छ।

देशभर ७ सय बढी जङ्गलमा लागेको डढेलो, किसानले बाली भित्र्याएर खेतबारी, खरबारी लगायतका ठाउँमा आगो लगाउने चलनले पनि प्रदूषण बढाएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप