शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा एमालेले नयाँ सरकार निर्माणको गृहकार्य थाल्यो

मङ्गलबार, २४ चैत २०७७, १९ : २३
मङ्गलबार, २४ चैत २०७७

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कर्णालीमा नयाँ सरकार निर्माणको गृहकार्य थालेको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा नयाँ सरकार निर्माणको गृहकार्य थालिएको हो ।  एमाले सांसद सुशील थापाले रातोपाटीलाई भने, ‘सरकार बनाउनका लागि अन्य दलहरूसँग समन्वय र सल्लाह गर्ने काम यामलाल कँडेलले गर्नेछन् ।’ 

एमालेबाट सरकारमा रहेका तीनजना मन्त्रीहरुले राजीनामा दिएलगत्तै बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले मंगलबार राजीनामा दिएका छन् । उनीहरुले पार्टीको निर्णयलाई स्वीकार गर्दै सरकारबाट राजीनामा दिएको बताएका छन् । यस्तै संसदीय दलको बैठकले आफ्नो पार्टीको विधान पनि पास गरेको छ ।  

सांसद थापाले भने, ‘मुख्यमन्त्रीले राजीनामा दिएर अब बाटो खुला गरिदिनुपर्छ ।’  बाटो खुला गरिदिएपछि नयाँ सरकार बनाउन सहज हुन्छ ।’ नैतिकताका आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ’ उनले भने । यद्यपि, मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने तत्कालै राजीनामा दिने सोचमा छैनन् ।

एमालेले चैत ५ गते समर्थन फिर्ता लिएपछि आफ्नो पक्षमा समर्थन कायम रहेको देखाउन मुख्यमन्त्री शाहीलाई अब पाँच दिनको समयावधि बाँकी रहेको छ । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।  संविधानको धारा १८८ मा विश्वासको मत र अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था गरिएको छ ।

जसको  उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ ।
तर, शाही विश्वासको मत लिने योजनामा रहेको मुख्यमन्त्रीको सचिवालय स्रोतको दावी छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र  १ जना राप्रपाका सांसद छन् । जसमध्ये माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई माओवादी केन्द्रले कारवाही गरेका कारण कर्णाली प्रदेशसभामा सांसदहरुको संख्या ३९ रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप