बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा माओवादीका मन्त्रीले राजीनामा दिने निर्णय

यस्तो छ गण्डकी प्रदेशको अंकगणीत
बुधबार, २५ चैत २०७७, १३ : ०८
बुधबार, २५ चैत २०७७

पोखरा । गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिने भएको छ । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी पार्टीलाई ब्युँताउने फैसला गरेपछिको अवस्थामा माओवादी सरकारबाट बाहिरिन लागेको हो । गण्डकी प्रदेश सरकारमा रहेका माओवादीका तर्फका दुई मन्त्रीले राजीनामा दिने निर्णय भएको छ ।

माओवादी संसदीय दलको बुधबार विहान बसेको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको प्रदेश अर्थ विकास समितिका सभापति एवं माओवादी केन्द्रका सांसद दीपक कोइरालाले जानकारी दिए । उनले तत्काल गण्डकी प्रदेश सरकारबाट बाहिरिएर नयाँ सरकार बनाउन समीकरणका लागि प्रयास गर्ने निर्णय बैठकमा भएको बताए । माओवादी केन्द्रबाट पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेख बहादुर थापा रहेका छन् । 

गण्डकी प्रदेशमा ६० जना प्रदेश सभा सदस्य रहेका छन् । नयाँ सरकार बनाउनका लागि ३१ साँसदको समर्थन आवश्यक पर्छ ।

प्रदेश सभामा हाल एमालेका २७, माओवादीका सभामुखसहित १३ सांसद, नेपाली काँग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् । 

मनाङबाट स्वतन्त्र चुनाव जितेका सांसद राजीव गुरुङ (दीपक मनाङे)को समर्थन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई छ । एमालेका २७ र दीपक गुरुङ सहित सरकारका पक्षमा २८ सांसद छन् । सरकार बचाउनका लागि एमालेलाई थप ३ सांसदको आवश्यकता पर्छ । 

प्रदेश सभामा ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले साथ दिएको अवस्थामा एमालेको सरकार कायम रहने अवस्था छ । 

यदि जनमोर्चाले पनि समर्थन फिर्ता लिएको अवस्थामा काँग्रेसको समर्थन आवश्यक पर्दछ । प्रदेशमा एमाले बाहेकको नयाँ सरकार गठन गर्नका लागि सवै राजनैतिक दल एक ठाउँमा उभिनु पर्ने अवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप