शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा माओवादीले छाडेका दुई मन्त्रालयको जिम्मेवारी तोकियो

शुक्रबार, २७ चैत २०७७, १६ : ४७
शुक्रबार, २७ चैत २०७७

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादी केन्द्रले छाडेर खाली भएका मन्त्रालयको जिम्मेवारी तोकेका छन् । गत बुधबार माओवादीका हरिबहादुर चुमानले आन्तरिक मामिला तथा कानुनमन्त्री र लेखबहादुर थापामगरले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट राजीनामा दिएका थिए । मुख्यमन्त्री गुरुङले खाली रहेका ती दुई मन्त्रालयको जिम्मेवारी तोकेका हुन् । 

लेखबहादुरले छोडेको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तत्काललाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ आफैँले सम्हाल्ने भएका छन् । त्यसैगरी चुमानले सम्हालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी भने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सम्हाल्ने गरी तोकिएको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री गुरुङले मन्त्री बस्नेतलाई दुवै मन्त्रालय सम्हाल्ने गरीे शुक्रबार नै पदभार ग्रहण गराएका छन् । मन्त्री बस्नेत गोरखाबाट एमालेका तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचन भएका थिए । अर्काे मन्त्री नियुक्त नहुँदासम्म आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी बस्नेतले सम्हाल्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशमा माओवादी सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । तत्काललाई सरकारलाई दिएको समर्थन कायम राख्ने जनाउँदै माओवादीले हाल सरकारबाट मात्र फिर्ता भएको जनाएको छ ।
सर्वोच्च अदालतले साविक नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने गरी फैसला गरेपछि केन्द्रदेखि प्रदेशसम्म सरकार परिवर्तनका हल्ला चलिरहेका छन् । गण्डकीमा पनि माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री गुरुङले राष्ट्रिय जनमोर्चालाई मन्त्री पदको अफर देखाएर फकाउने प्रयास गरिरहेका छन् ।

उनको सरकार जोगाउनका लागि राष्ट्रिय जनमोर्चा, काँग्रेस वा माओवादीमध्ये एकले समर्थन गर्नुपर्छ । यदि यी तीन मध्येबाट समर्थन नपाएको अवस्थामा यिनै दलको अगुवाइमा अर्को सरकार बन्ने सम्भावना भएकाले मुख्यमन्त्री गुरुङ साना दलहरूलाई फकाउने योजनामा लागिरहेका छन् ।

तीन सांसद रहेको राष्ट्रिय जनमोर्चाले अहिले सरकारलाई समर्थन गरिरहेको छ । तर जनमोर्चालाई फकाउन सकेको अवस्थामा सरकार गिराउने योजनामा माओवादी समेत सक्रिय रहेको छ । सानो दल भएपनि गण्डकी प्रदेशमा सरकार बनाउने र गिराउने मुख्य चाबी जनमोर्चाको हातमा छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप