बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इन्नोभेट टेकले ई–लर्निङ प्लेटफर्म ‘माई सेकेन्ड टिचर’ ल्याउँदै

शुक्रबार, २७ चैत २०७७, १८ : ४५
शुक्रबार, २७ चैत २०७७

काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा परिवर्तन ल्याउने लक्ष्यसहित इन्नोभेट टेकले ‘माइ सेकेन्ड टिचर’ नामक ई–लर्निङ्ग प्लेटफर्म लन्च गर्ने भएको छ । यो प्लेटफर्म वैशाख १ गतेदेखि लन्च हुने जानकारी शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिइएको छ । 

इन्नोभट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले नेपालको शैक्षिक गुणस्तर सुधारमा यो प्लेटफर्म कोशेढुंगा साबित हुने दाबी गरे । ‘हाम्रो शैक्षिक पाठ्यक्रममा समय सान्दर्भिक सुधार नभएको होइन । तर विद्यार्थीले सिकेका कुरा वास्तविक जीवनमा लागू हुन सकेन । नेपालमा विद्यार्थीहरु जाँच पास हुनका लागि पढ्छन् र शिक्षकले जाँच पास गराउन पढाउँछन्’ बुढाथोकीले भने, ‘विद्यार्थीलाई मनोरञ्जनात्मक तरिकाले पढाउन र शिक्षकको समेत क्षमता बृद्धि गर्नका लागि यो टेक्नोलोजी प्रभावकारी हुन्छ भन्ने हाम्रो बुझाई हो ।’

क्याम्ब्रिज विश्वविद्यालयका तीनजना प्रोफेसरले डिजाइन  गरेको ‘माइ सेकेन्ड टिचर’ प्रणालीलाई नेपाली जनशक्तिले नै तयार पारेको र अहिले विश्वका विभिन्न १८ देशका १ सय ४० जना विद्यालयले यो प्रणाली प्रयोग गरिहेको उनले बताए । ‘क्याब्रिज विश्वविद्यालय अन्तर्गतका विद्यालयहरुमा अहिले यो प्रणालीको प्रयोग भइरहेको छ । जसअन्तर्गत विदेशमा बस्ने विद्यार्थीलाई पनि कुनै कुरा बुझ्न गाह्रो भएमा उनीहरुले अनलाइनमार्फत आफ्ना समस्या राख्छन् र बालुवाटारस्थित हाम्रो कार्यालयमा रहेका शिक्षकहरुले त्यसको जवाफ पठाउँछन् । यो गर्वको विषय हो,’ बुढाथोकीले भने,‘हामीले यस प्रणालीअन्तर्गत अहिले झन्डै ३ सय जना आईटी प्रोफेसनल र एजुकेटरलाई रोजगारी दिइरहेका छौं । २०२१ भित्र १ हजार र २०२४ सम्म १० हजारलाई रोजगारी दिने लक्ष्य छ ।’

यही प्रणालीअन्तर्गत नेपाली पाठ्यक्रममा आधारित रहेर नेपाली र अंग्रेजी दुबै भाषामा सहज रुपमा बुझ्न सक्नेगरी ‘माइ सेकेन्ड टिचर’ ले विभिन्न सहयोगी सामाग्रीहरु विकास गरेको हो । जसअन्तर्गत विभिन्न विषयका समसामयिक अवधारणा, पाठ्यक्रमका विषयवस्तु र दैनिक जीवनका अनुभवहरूलाई शिक्षण पद्धतिसँग जोडिनेगरी शिक्षा विद्यार्थीको रोचक संवादमा आधारित अन्तरक्रियात्मक भिडियाे सामाग्री, नबुझेका कुरा अनलाइनमार्फत शिक्षकसँग व्यक्तिगत रुपमा सोध्नसकिन ट्युटर सेवा, प्रत्येक विद्यार्थीको सही मुल्याङ्कन गर्ने आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी बनाइएको डाइग्नोस्टिक रिर्पोट, विद्यार्थीले आफ्नो क्षमता परीक्षण गर्न मिल्ने टेस्ट पेपरलगायत समावेश छन् । ‘विद्यार्थीहरुले सिकेका कुरालाई व्यवहारिक जीवनसँग तुलना गरेर हेर्न र सहज रुपमा बुझ् नसक्नेगरी सामाग्रीहरु तयार गरिएको छ,’ बुढाथोकीले भने । 

एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुलाई लक्षित गर्दै कक्षा १० को अनिवार्य गणित, विज्ञान, अंग्रेजी र ऐच्छिक अर्थशास्त्र विषयका शिक्षक विद्यार्थीको कुराकानीमा आधारित अन्तरक्रियात्मक भिडियो सामाग्रीहरु देशभर उपलब्ध गराइने पनि उनले बताए । इन्टरनेटको पहुँचमा रहेका विद्यार्थीहरुले सहजै रुपमा यी भिडियो सामग्रीहरुको प्रयोग गर्नसक्ने उनले बताए ।

इन्टरनेटको पहुँच बाहिर रहेका विद्यार्थीहरुलाई ध्यानमा राखेर सामुदायिक विद्यालयहरुमा ‘माई सेकेन्ड टिचर’ अन्तर्गतका सामाग्रीहरु उपलब्ध गराउने विषयमा पनि सोचिरहेको बुढाथोकीले बताए । उनले यसबारे छिट्टै कम्पनीले नयाँ घोषणा गर्ने बताए । त्यस्तै, उनले इन्टरनेटको पहुँचलाई गाउँ–गाउँसम्म विस्तार गर्नका लागि संघीय सरकार र स्थानीय सरकारको ध्यानाकर्षण गराए । ‘म स्थानीय जनप्रतिनिधिलाई भन्न चाहन्छु, बरु सडकपछि पु-याउनुहोला । तर इन्टरनेट अहिल्यै पु-याउनुस् किनकी सडक हाम्रो र इन्टरनेट भविष्यको पुस्ताका लागि हो,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप