शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘वर्षौदेखिको पक्की पुलको चाहना बल्ल पूरा हुन लाग्यो’

शनिबार, २८ चैत २०७७, १० : ०२
शनिबार, २८ चैत २०७७

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार र व्यास नगरपालिका–३ देउरालीनगर जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल चलाउँदा दुर्घटनाको जोखिम बढेपछि चार वर्ष अगाडि जिल्ला अदालतले पुलमा मोटरसाइकल चलाउन नपाउने आदेश जारी गर्‍यो । अदालतको आदेशपछि सवारी साधन भएका स्थानीयवासी व्यास नगरपालिका–५ पाटनको बाटो हुँदै दमौली आउन थाले । 

अदालतको आदेशसँगै पैदलयात्रीलाई त झोलुङ्गे पुलबाट आवतजावत गर्न सहज भयो, तर सवारी साधन भएकालाई वारी आउन केही समय बढी लाग्ने अवस्था आयो । केही समय लगत्तै पुनः झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्न थालियो । अदालतको निर्णय अव्यवहारिक भएको भन्दै स्थानीयवासीबाट उक्त आदेश उल्लङ्घन भयो । 

झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्दा दुर्घटनाको जोखिम उत्तिकै छ । साँघुरो पुल त्यसमाथि मोटरसाइकल गुडाइदिँदा वारपार गर्ने सर्वसाधारणलाई समस्या हुँदै आएको छ । झापुटारका स्थानीयवासीको मुख्य बजार दमौली हो । झोलुङ्गे पुल तरेर पाँच मिनेटमै दमौली बजार आइपुग्छ । त्यसको विकल्पमा पाटनबाट दमौली आउन २० मिनेट भन्दा बढी लाग्छ । 

झापुटारबाट देउरालीनगर जोड्ने पक्की पुल नहुँदा यहाँका स्थानीयवासीलाई समस्या हुँदै आएको छ । स्थानीयवासीले वर्षौदेखि सेतीनदीमाथि पक्की पुलको माग गर्दै आए । विगतमा धेरै सरकार बनेपनि स्थानीयवासीको माग पूरा हुन सकेन । 

सङ्घीयता आएपछि गठन भएको गण्डकी प्रदेश सरकारले स्थानीयवासीको माग सम्बोधन गरेको छ । स्थानीय विजयलक्ष्मी थापाले हाम्रो माग सुनेर पक्की पुल निर्माण थालेकामा प्रदेश सरकारलाई धन्यवाद दिइन् । प्रदेश सरकारको रु ३२ करोड ४० लाख २७ हजार ३९४ को लागतमा पुल निर्माण शुरु भएको छ । पुल निर्माणका लागि विसं २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौसँग सम्झौता भएको थियो । विसं २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको कार्यालय प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए । 

एक सय ५४ मिटर लामो रहने पुलको चौडाइ ९.५० मिटर रहनेछ । पाइल फाउण्डेशनमा निर्माण हुने पुल स्टिल ट्रसको हुनेछ । पुल निर्माणका लागि चालू आर्थिक वर्षमा रु चार करोड ५० लाख विनियोजन भएकामा निर्माण कम्पनीलाई रु दुई करोड ८६ लाख भुक्तानी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप