ad
केन्द्रीय संस्करण
निबन्ध

किन बोल्नु मञ्जुल !

person explore access_timeचैत २८, २०७७ chat_bubble_outline0

 

 

-श्रीओम श्रेष्ठ ‘रोदन’

 

के मानिसको जीवन भनेको बालुवामा बनाएको मूर्ति हो ?

के मानिसको जीवन भनेको हिउँमा बनाएको चित्र हो ?

होइन, कदापि होइन । कोही कोही यस्तै परिभाषामा आफूलाई बचाउन खोज्छन् र समय आएपछि अलिकति हावाले उडाएर बनेको शून्यता जस्तै बन्छन् । अलिकति सूर्य देखिनासाथ पग्लेर पानी पानी बन्ने मूर्तिमा रमाउने जमात देखेर अचम्म लाग्छ मलाई ।

मलाई त्यस्तो मान्छे मन पर्छ जो मनले र मानले पनि चट्टान जस्तो होस् । यस अर्थमा मैले खोजेको जस्तै मान्छे हो मञ्जुल । मञ्जुललाई धेरैले धेरै किसिमले चिन्छन् तर मैले चिनेको मञ्जुल त्यो हो जसको आवाजले धेरै ठूला पर्खालहरू भत्किएका छन् । जसको कलम क्षेप्यास्त्र जस्तो थियो र छ पनि । पहाडजस्तो छाती देखाउँदै हिँड्नेहरू थरथरी भएका थिए र छन् पनि । देश र जनताको लागि, न्याय र समानताका लागि उहाँको आवाज सुन्नेहरू मात्र होइन सुनाउनेहरूले पनि मञ्जुलको अनुहार खोजी गरिरहन्थ्योे ।

झरनाको कञ्चन पानीजस्ता आमा दिदीबहिनीहरूका नाडीका चुरा फुकालेर स्याबास स्याबास भन्दै टाउकोभन्दा हातमाथि उचाल्थे । दाजुभाइहरू गम्लङ्ग अँगालो मारेर भन्थे– हामी उठिसक्यौँ भन्ठानेका त अब बल्ल उठ्यौँ हामी हाम्रो चेतनाबाट । यसरी आवाजले, कलमले, कविताले, गीतले र व्यवहारले मञ्जुलले धेरैलाई  उठाउनुभएको छ र धेरै जना आफै उठेका पनि छन् । परम्पराले र संस्कृतिले जबरजस्ती अँध्यारोमा थुनिएकाहरूलाई उज्यालो घाममा ल्याएर आँखा खोलिदिनुभएको छ । सत्ता र शक्तिले मात्तिएर मस्तिष्कमा भोटे ताल्चा लगाएर आफू र आफ्नाभन्दा अरूलाई रौँ बराबर  नगन्नेहरूलाई पग्लेर फूलझैँ मुस्कुराउने बनाउनु भएको छ ।

 साँच्चै मञ्जुलको कलममा त्यस्तो नदेखिने शक्तिशाली चेतनाको के खुराक छ होला ?  अक्षरले र आवाजले चट्टानमा कसरी कमल फुलाउन सकेको होला ? मरुभूमिको धपधपीमा चिसो पानी कलकली कसरी बगाउन सकेको होला ? कलम र आवाजमा जादु कसरी भर्न सकेको होला ?

के मञ्जुल यसरी नै क्रान्तियोद्धा भएर हिँडिरहन सक्लान् ? त्यतिबेला गर्न सकिने प्रश्न हो यो । जुन समय ल्याउनका लागि मञ्जुलले आफू भन्नुभएन, आफ्नो भन्नुभएन, घर भन्नुभएन परिवार भन्नुभएन, भविष्य भन्नुभएन । मात्र भनिरहनुभयो मेरो देश ।

 देशको मुहार फेर्नलाई, जनताको मुहार उज्याले बनाउनुपर्छ भन्ने एक मात्र लक्ष्य थियो मञ्जुलको । त्यसैले जीवनमा कुनै रहर पाल्नु भएन न डर नै ।

गीतसङ्गीतको हतियार बनाएर मञ्जुलले अजङ्गका पहाडहरू फुटाल्नुभएको छ कि झुकाउनु भएको छ । कैयौँ गितारमा आफ्ना औँलाहरू खियाउँदै तारहरू चुँडाउनु भएको छ  । तर विजयको शङ्ख बज्न थालेपछि त्यही समय पापी बनेर ताली बजाउने हात बन्न थालेका छन् मञ्जुलहरूका । लाखौँ पाइताला खियाएर सुदूर गाउँहरूमा चेतनाको बीउ छरेर रातदिन गाएर हिँड्ने मञ्जुल र मञ्जुलहरू सुन्ने स्रोता बन्न बाध्य छन् । त्यही भएर मञ्जुल अहिले धेरै बोल्नुहुन्न । सुन्नेहरूको माझ उभिँदा पनि एक शब्द नबोलेर फर्कनुहुन्छ । बेकारमा किन बोल्नु त मञ्जुल !

बुझिसके, अब सबैले बुझिसके । हिजो अर्थ लाग्ने बेलाको बोलीको त कुनै अर्थ लाग्न सकिरहेका छैन भने अहिले मञ्जुल मात्र होइन कोही पनि बोल्नुको के अर्थ ?

बोल्न त कम बोल्नुभयो र मञ्जुलले । गीत भएर, कविता भएर, सङ्गीत भएर । परिवर्तनका लागि मन मष्तिष्कसम्म पुग्ने गरेर बाल्नुभएको छ  । गीत सुन्नका लागि बसेकाहरू मञ्जुलले उद्घोषण गर्न थालेपछि मुग्ध भएर आफैलाई बिर्सन्थे ।

हाँसेर बोल्नहुन्छ मञ्जुल । प्रेमले नजिक्याउने सामथ्र्य मञ्जुलको पयार्यजस्तै बनेको छ । उहाँको बोली र व्यवहार आकर्षक छ । एक पटक भेटेपछि सम्मोहन जाग्छ उहाँप्रति । जहिले भेट्नेलाई पनि धेरै ढिलो भेट भयो भन्ने लाग्छ । साहित्य सङ्गीतमा रुचि राख्ने जो भए पनि उत्प्रेरित गरिरहने उहाँको स्वभाव नै छ । आजका युवाहरूमा प्रोत्साहनको बीज छ¥यो भने भोलि फल्छ फल्छ भन्ने विश्वास छ उहाँमा । अरूलाई माया गर्न जानियो भने मात्र अरूबाट पनि माया पाउन सकिन्छ भन्ने विश्वास छ उहाँमा । यही कारण मञ्जुल व्यक्तिभन्दा प्रवृत्ति बनेको छ । सातदोबाटोको घरमा मात्र बस्नु हँदैन मञ्जुल । धेरै घरघरमा हुर्केर बढ्नुभएको छ मञ्जुल । मेचीमहाकालीको छातीमा फैलिनु भएको छ मञ्जुल ।

के मञ्जुल भनेको मेघराज नेपाल मात्र हो र अब ?

नागरिकताको फोटोमुनि लेखिएको नाम मात्र हो र मञ्जुल ? त्रिभुवन विश्वविद्यालयको पेरोलको नाम मात्र हो र मञ्जुल ?

मञ्जुल त कतै गीतारको तार भएर गुन्जिरहनु भएको छ । कतै मञ्जुल कविता भएर वाचन गरिरहनुभएको छ । कतै मञ्जुल नियात्रा भएर फैलिरहनु भएको छ । कतै मञ्जुल गीत भएर गाइरहनु भएको छ । मञ्जुल उपन्यास भएर पढिरहनुभएको छ । उद्घोषण भएर सुनाइरहनु भएको छ । मञ्जुल कतै प्रेरणा भएर लेखिरहनु भएको छ । जहाँ पनि सजिलै पुग्नसक्नु हुने मञ्जुल नहिँड्नु भएको बाटो पो कुन होला र ?

अक्षरबाट चिनेको मञ्जुललाई मैले पुल्चोक दमकल नजिक धेरै धेरै पटक भेटेको छु । मङ्गलबजार र पुतली सडकमा डेरामा हुँदा पनि धेरै धेरै समय बिताएको छु । तर घर बनिसकेपछि सातदोबाटोमा भने थोरै मात्र भेटिरहेको छु । समयले कसरी बाँध्छ बाँध्छ मान्छेलाई, आफूलाई कहाँ थाहा हुँदोरहेछ र ?

मञ्जुल दाइको पुल्चोकबासमा धेरै कप चिया बिस्कुटसँग अक्षर मिलाउन गएको छु । रहरले केही लेख्नासाथ सुनाउन र सिक्न हतार लाग्थ्यो मलाई । मञ्जुल सधैँ सोधिरहनु हुन्थ्यो– ‘भाइ के लेखिरहनुभएको छ ? के पढिरहनु भएको छ ?’ जाने पनि नजाने पनि मञ्जुल दाइलाई सुनाउनको लागि मैले लेख्नैपथ्र्यो । लेख्थेँ पनि, कहिले कविता, कहिले निबन्ध ।

मञ्जुल दाइ गीत गाउनुहुन्थ्यो म नाटक गर्थें । तीन दशकभन्दा अगाडिका दिनमा उहाँ निकै उत्साही हुनुहुन्थ्यो । उहाँका उत्साहका पाइला पछाडि हामी पनि हैँसे गर्न खोज्थ्यौँ । नबनेका बाटोमा हिँडेर हामीले यात्रा गरेका थियौँ । कार्यक्रम गरेका थियाँै । पहाडको बाटोमा हिँड्नलाई रात भनेका थिएनौँ, दिन भनेका थिएनौँ । भोक भनेका थिएनौँ, थकाइ भनेका थिएनौँ । हाम्रो लक्ष्यको माध्यम थियो हाम्रो कला र हामीलाई उभ्याउने मञ्च । सङ्गीत नाटकको यात्रा भएर हामीले धेरै पटक एउटै बाटा हिँडेका थियौँ । ललितपुरको बाटो पुगि नसकेको बेलाको भट्टेडाँडातिर उहाँले भन्नुभएको अहिले पनि सम्झिरहेको छु– ‘भाइ तपाईं नाटक गर्न धेरै ठाउँमा गइरहनु हुन्छ, त्यसको अनुभव यात्रामा लेख्ने गर्नुस् राम्रो हुन्छ ।’

त्यसबेला उहाँले कुन साइतमा भन्नुभएको थियो मलाई कुन्नि ? तर त्यो मेरा लागि रामवचनजस्तो सिद्ध भएको छ । त्यसपछिका रङयात्रालाई मैले जाने पनि नजाने पनि लेख्न थालेँ । लेखेपछि उहाँलाई कतिखेर सुनाउँ भनेर हतारो लाग्थ्यो । कहिले बिहानै पुग्थेँ, धेरैजस्तो अफिसबाट फर्किंदा पस्थेँ । कहिलेकहीँ त राति पनि जान्थेँ । म उत्साह र जिज्ञासाले रचना सुनाउँथे । उहाँ गम्भीर भएर सुन्नुहुन्थ्यो । ध्यानमग्न भएर सुन्ने सुनाउने गर्दा कतिपटक हामीले एउटै कपको चिया पिएको देखेर सुष्मिता बहिनी हाँस्नुहुन्थ्यो । जति पटक जाँदा पनि उहाँ झर्को नमानेर सच्याइदिने र सिकाइदिने गर्नुहुन्थ्यो । प्रेरणाले भरिएर निस्कन्थे म सधैँ । समयले मलाई पनि त्यस्तो गर्न रमाइलो लाग्ने बानी बसाल्यो जस्तो लाग्छ । त्यही भएर नै होला अहिले पनि मेरा नियात्रामा मञ्जुलको मन्त्र छोडेको छैन मैले । त्यही भएर मेरा अक्षरमा नदेखिने मञ्जुलहरू सधैँ देखिरहने छन् ।

मञ्जुल दाइ मेरो धेरै कुराका साक्षी पनि हुनुहुन्छ । मेरा कलिला अक्षरका स्वाद थाहा पाउने उहाँ मात्र हुनुहुन्छ । छयालीसको जनआन्दोलनमा पञ्चायत जोगाउने जुलुसमा अफिसले खटाउँदा मैले गरेको विद्रोह, असन्तोष र आक्रोशको साक्षी पनि उहाँ हुनुहुन्छ । प्रजातन्त्र पुनस्र्थापना भएकै दिन अफिसबाटै खुसीको अबिरले रङ्गीएको देख्ने साक्षी पनि उहाँ नै हुनुहुन्छ । त्यही आन्दोलनमा उहाँलाई पुलिसले गिरफ्तार गरेर लुकाएको थियो । मोटरसाइकलमा सिर्जनलाई पछाडि राखेर दिनभरि खोज्न गएका थियौँ । सिंहदरबारको ट्राफिक पुलिसभित्र टाढाबाट उहाँलाई देख्नासाथ ढुक्क भएका थियौँ हामी । उहाँले हामीले पनि देख्नासाथ खुसीले हात हल्लाउनुभएको थियो । त्यसपछि हामी ढुक्क भएर फर्किर्एका थियौँ ।

गीतारमा औँला चलाउँदै मञ्जुलले गाउन थाल्नुभएपछि सुन्ने कोही पनि चुप लागेर बस्न सक्दैनन् । कोही दुई हात ठोकी ठोकी ताली मार्छन् । कोही छमछमी नाच्न थाल्छन् । मञ्जुलका उद्घोषण सुनेपछि मुटु बलियो बनाएर प्रतिबद्ध हुनेहरू, गीत सुनेर धरधरी रुने आँखाहरू भने मञ्जुलका साक्षी हुन् ।

फागु पूर्णिमाको दिन मञ्जुलको अवतरण भयो यस धर्तीमा । सबै रङ मिसिएर होली भएजस्तै समूह र सहकार्यमा विश्वास गर्नुहुन्छ त्यसैले । त्यसै हुनुभएको होइन रङ्गीन रङ्गीन मञ्जुल । उल्लास उल्लास मञ्जुल ।

भोजपुरको पानीले जीवनलाई शालीन र सरल बनाउन सिकायो मञ्जुललाई । ट्याम्के डाँडाले सिर्जनशील बनाउन सिकायो । साहित्य र कला भएर टाढाटाढासम्म पुग्न सिकायो । जीवनलाई साहित्यिक र साङ्गीतिक बनाएर हिँड्न सिकायोे । दुःखसुखको उकाली र ओराली हिँड्न सिकायो । त्यसैले त होला चट्टानजस्तै पत्रपत्र बनेर एकसाथ हिँडेकोे सहयात्रीसँगको सम्बन्धमा समयले पर्खाल लगाउँदा पनि विचलित हुनुभएन । समस्याहरू पहाड बनेर आए पटक पटक तर मञ्जुलको धैर्य, मञ्जुलको सहास, मञ्जुलको विश्वास अग्लो डाँडाको ध्वजाजस्तै सधैँ फरफराइरहन सकेको छ ।

सबैलाई अँध्यारोबाट उज्यालो यात्रा गर्न सिकाउने मञ्जुल कहाँ अँध्यारोमा अलमलिरहन सक्नुहुन्छ र ? मञ्जुल अँध्यारोको विरोधी मान्छे । उज्यालोको पक्षपाती मान्छे । उमेरका धेरै अवसर गुमाएर मञ्जुलले अँध्यारोसँग जुधेकै हो । आफ्नो विश्वास र प्रतिज्ञाको लिकबाट अलिकति मात्र बिचलित हुनुभएको भए मञ्जुलले नपाउने केही थिएन होला । देशअनुुसारको भेष बन्नुभएको भए भौतिक रूपमा सम्पन्न त हुनुहुन्थ्यो होला तर भावनात्मक रूपमा मञ्जुल एकादेशको भइसक्नु हुने थियो । केही पाउनका लागि केही गर्नेहरू कुन समाजमा टिकिरहन सकेका छन् र ? मञ्जुलसँग इमान थियो र बचाइ पनि छ । मञ्जुललाई यही पनले प्रतिष्ठाको रथमा टिकाइरहेको छ ।

  धेरै पटकको सामाजिक र सांस्कृतिक युद्धमा तरबार छेक्न ढाल बन्नुभयो तर अहिले मञ्जुलका लागि शब्दको ढाल बन्न पनि कन्जुस्याइँ गर्छन् मानिसहरू । मञ्जुल मात्र नभएर थुप्रै पात्रहरू मञ्जुल बनिरहेका छन् । के गणतन्त्रको परिणाम भनेको यसरी नै प्रमाणित हुँदै जानु हो ? सगरमाथाजत्रो अन्यायको भारी बोकेर किन बोल्नु त मञ्जुल ?

तर नबोलेर पनि नदेखिने घाउहरू छोपिने हुन् र ? होस् अब, सुकिसकेको घाउलाई निचोरेर दुुखाउनु हुँदैन । अब मञ्जुलका छातीमा कसैले लुकेरे बङ्कर नबनाओस् । मञ्जुलको मनमा हिउँ नथुपारोस् । उहाँको सद्भावलाई सडक बनाएर कसैको पाइतालाले नटेकोस् ।

सकिन्छ भने कहिल्यै नओइलाउने रातो गुलाफ फुलाऔँ उहाँको भावनामा । अस्ताउन लागेको घामले होइन, उदाउँदो घामले अभिषेक गरौँ उहाँको समर्पण र त्यागलाई । सिर्जना र प्रोत्साहनलाई ।

खबरदार ! मञ्जुलको मनलाई लोभ्याएर, भड्काएर, फसाएर मञ्जुललाई मञ्जुलबाट विचलित बनाउन खोज्नेहरू । तिमीहरूका लागि यो सधैँ हार्ने भ¥याङभन्दा अरू केही सावित हुनेछैन । आकारमा बदलिरहने बादलजस्तै तिम्रा मानसिकताले मञ्जुलको महानतामा कुनै भूकम्प जानेछैन । मञ्जुल कुनै एउटा चुनावले चिनाएको उम्मेदवार होइन । दशकौँको घामपानीको समय र सन्दर्भले बोकेको ननिभ्ने उज्यालो हो ।

म त सधैँसधैँ मञ्जुलसँग भिजेर निथ्रुक्क हुन चाहने मान्छे । गोधूलीमा सँगै गीत गुनगुनाउन चाहने मान्छे । नभेटेर भेटिरहन चाहने मान्छे । तर पनि अन्योलमा छु म । एउटै मञ्जुलभित्र धेरै  मञ्जुलहरूलाई कसरी उत्खनन् गर्न सकिन्छ भनेर । म खोजिरहेछु मञ्जुलहरूलाई ठ्याक्कै पत्ता लगाउनसक्ने मनका अन्वेषकहरू !

यो खोजी आजमार्फत भोलिको खोजी हुनेछ ।

यो खोजी बेइमानमाथि सत्यको खोजी हुनेछ ।

यो खोजी मञ्जुलमार्फत हाम्रै खोजी हुनेछ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.