केन्द्रीय संस्करण
समाचार

नेपाली फुटबलका अँध्यारा पक्ष

person explore access_timeचैत २९, २०७७ chat_bubble_outline0

पूर्वखेलाडी कृष्ण गुरुङ अहिले नेपाली फुटबल फ्यानहरुको संस्था ‘हाम्रो फुटबल नेपाल’का अध्यक्ष छन् । फुटबल खेलाडीहरुले सामना गर्नुपरेका चुनौती के–के छन् ? नेपालको अन्तर्राष्ट्रिय प्रदर्शन कत्तिको सन्तोषजनक छ ? फ्यानहरुलाई समेटेर फुटबलको बृहत्तर विकास गर्न एन्फाले के गर्नुपर्छ ? दर्शकहरुको हौसलाले खेलमा कत्तिको प्रभाव पार्छ ? यी र यस्तै विषयमा केन्द्रित रहेर रातोपाटीका अन्वेषण अधिकारीलाई गुरुङले आफ्नो अनुभव सुनाएका छन् ।

म २० वर्षपछाडि फर्कन्छु ।

यतिबेला नेपालकै सफल क्लबमध्येको एक आरसिटीमा आबद्ध थिएँ तर खेलाडीका रूपमा मेरो अनुभव धेरै सुखद रहेन ।  फुटबलमा फिट्नेसले ठूलो अर्थ राख्छ । अहिले सम्झँदा म केही अल्छी थिए भन्ने लाग्छ । म औसत खेलाडी थिएँ, त्यसैले धेरैजसो समय बेन्चमै बित्यो ।

ए डिभिजन लिग, शुुभजन्मोत्सव कप, विभिन्न गोल्डकपमा प्लेइङमा नपरेको पनि होइन । तर खेलका दौरान म धेरै दबाब महसुस गर्थे । कन्ट्याक्ट गेम भएकाले फुटबलमा फल र धकेलाधकेल सामान्य कुरा हो । तर मलाई भने विपक्षी खेलाडीले गरेको त्यस्तो फल इन्टेसनलजस्तो लाग्थ्यो, अर्थात् म एग्रेसिभ थिएँ । भलै मैदान बाहिर भने सबैसँग मित्रवत् थिएँ । यही नेचरका कारण चाँडै कार्ड खान्थेँ । यही कारण मलाई टोलीमा राख्नु प्रशिक्षकका लागि जुवा खेले सरह थियो– एकजनाले रेडकार्ड खाँदा खेल नै बिग्रने भएकाले । एकपटक शुुभजन्मोत्सव कपका दौरान आरसीटी पुलिसविरुद्ध १–० ले अघि थियो । सेन्ट्रल मिडफिल्डमा खेलिरहेकाले ममाथि ठूलो जिम्मेवारी थियो । तर एकजना विपक्षी खेलाडीले रेफ्रीले नदेख्नेगरी मलाई फल गरे । फुटबलमा विपक्षीलाई डिस्ट्रर्ब गर्न र उनीहरुको ध्यानलाई खेलबाट मोड्न प्रायः यस्तै गरिन्छ । म एग्रेसिभ भएँ, अनि उनलाई पनि फल गर्ने मौका ढुकेर बसेँ । गोल गर्नतिर लाग्नुपर्ने खेलाडी फल गर्न लागेपछि के हुन्छ ? त्यही भयो । रेफ्रीले मलाई रेडकार्ड देखाए । अनि १० खेलाडीमा सीमित आरसीटीले खेल ४–१ ले गुमायो । त्योभन्दा ठूलो दुुखद पक्ष, मैले फल गरेका खेलाडी धेरै समयसम्म घाइते भए । अहिले सम्झँदा लाग्छ पुलिसको खेलाडी भएकाले नै उनी रिकभर हुनसके, अन्थया मेरो गल्तीले  उनको करियर नै सकिने रहेछ । किनभने विभागीय टोलीबाहेक अन्य क्लबहरुले घाइते खेलाडीलाई लामो समय पाल्दैनन् । उनीहरुको उपचारमा पनि सहयोग गर्दैनन् ।

यही खेलमा मैले अर्को दुुर्भाग्य पनि सामना गर्नुप¥यो । खेल हारेको सम्पूर्ण दोष मेरै टाउकोमा थोपरियो ।  क्लब व्यवस्थापनका कतिपय व्यक्तिले आक्रोशित भएर ज्यान मार्नेसम्मको धम्की दिए ।

जीवनमा सबै कुरा मिठा मात्रै हुुँदैन । तीता–मीठा घटनाक्रमबाट सिकेर जीवन अघि बढ्ने हो । फुटबल पनि यही हो । फुटबलमा यस्ता गल्ती धेरैपटक हुन्छन् । तर यहाँ सामान्य गल्तीमा पनि खेलाडीहरु ठूलो कारबाहीको भागिदार हुनुपर्ने, मिहिनेतअनुसारको प्रोत्साहन चाहिँ नपाउने अवस्था छ ।

अधिकांश बेन्च प्लेयरको ध्यान कतिबेला मैदान छिर्न पाइन्छ भन्नेमै केन्द्रित रहन्छ । तर मेरो सवाल केही फरक थियो । मलाई मैदान छिर्ने ठूलो आश पनि थिएन । बरु बेन्चमा बस्नुका पनि केही फाइदामा इन्जोय गर्थें ।  जस्तो, खेलाडी मात्रै नभएर रेफ्री, प्रशिक्षक र दर्शकको मनोभावलाई पनि नजिकबाट नियाल्न पाइयो । समग्रमा भन्नुपर्दा फुटबललाई नजिकबाट बुझ्न पाइयो ।

मलाई फुटबल खेल्न जत्तिकै रुचि यस खेलबारेको अध्ययनमा थियो । यही रुचि र लगावले आज पनि मलाई फुटबलमा जोडिरहेको छ ।

बिडम्बना मान्नुुपर्छ २० वर्षपछि पनि नेपाली फुटबलको अवस्था खासै सुध्रिएको छैन । राष्ट्रिय टिम र विभागीय क्लबबाट खेल्ने खेलाडीबाहेक अरूलाई फुटबलबाट जीवन धान्नै कठिन छ । धेरै खेलाडीहरुले अहिले पनि क्लबबाट नियमित पारिश्रमिक पाउँदैनन् । ए डिभिजन क्लबको बेन्चमा बस्ने, बी वा सी डिभिजन खेल्नेको त कुरै नगरौँ । त्यस्ता धेरै खेलाडी राति सुरक्षागार्डको काम गर्छन् अनि समय मिलाएर फुटबल खेल्न आउँछन् । किनभने क्लबबाट पाउनेभन्दा धेरै पैसा उनीहरुले गार्डका रूपमा ड्युटी गर्दा पाउँछन् । तपार्इंलाई थाहै होला, विगतमा राष्ट्रिय लिग खेलेका धेरै खेलाडी अहिले खाडीमा पसिना बगाइहेका छन् ।

भर्खरै मात्रै नेपाल सुपर लिगको अक्सन सम्पन्न भयो । केही समयपछि खेल सुरु होला । त्यहाँ खेलाडीमाथि लगाइएको बोलीले पनि फुटबलर कुन अवस्थाबाट गुज्रिएका छन् भन्ने छर्लङ्ग हुन्छ । कर्पोरेट सेक्टरको समेत संलग्नतामा आयोजना हुने प्रतियोगितामा एउटा खेलाडीमा २० हजार रूपैयाँदेखि  बोली लगाउन थालिएको छ, जबकि २० हजारले एउटा राम्रो बुट पनि आउँदैन । फुटबलका विकृतिहरुबारे मात्रै कुरा कोट्याइयो भने लामो होला । सुधारमा कसरी केन्द्रित हुने भन्नेमा पनि हाम्रो ध्यान जानुपर्छ ।

अनि बन्यो ‘हाम्रो फुटबल नेपाल’

फुटबलमा लगाव भएका केही पूर्वखेलाडी, व्यवसायी तथा खेलप्रेमीहरु केही वर्षदेखि एन्फा कम्प्लेक्समा रमाइलोका लागि फुटबल खेल्दै थियौँ । त्यस अवधिमा पनि हामीले कुनै न कुनै रूपमा खेलाडीहरुलाई सहयोग गरिरहेकै थियौँ । तर व्यक्तिगत मात्रै नभएर संस्थागत सहयोगको खाँचो देखिएपछि नेपाली फुुटबलका लागि पनि केही गरौँ भन्ने सल्लाह भयो । नेपालमा विभिन्न युरोपेली क्लबका नाममा फ्यान क्लबहरु खोलिएका छन् । ती क्लबहरुले विभिन्न कार्यक्रम पनि राखेकै छन् । तर हाम्रो आफ्नै राष्ट्रिय टोलीलाई हौसला दिनुपर्ने फ्यानहरु भने एकजुट भएका रहेनछन् । अब त्यसरी हुँदैन । हाम्रो फुटबललाई पनि फलो गरौँ । खेलाडी र एन्फासँग समन्वय गरौँ र फुटबलको बृहत्तर विकासमा ध्यान केन्द्रित गरौँ भनेर हामीले २०१८ मा ‘हाम्रो फुटबल नेपाल’ गठन गर्ने योजना बनायौँ । दुई वर्षसम्म हामीले नेपाली फुटबल पछाडि पर्नुका कारणहरु के छन् ? फुटबल फ्यानहरु एकीकृत नहुनुका कारणहरु के हुन् भन्ने अध्ययन ग¥यौँ । अव्यवस्थित व्यवस्थापन कसरी कम गर्न सकिन्छ ? काठमाडौँमा पढ्न आएको सामान्य विद्यार्थीले फुटबल हेर्न सक्नेगरी कसरी टिकट निर्धारण गर्न सकिन्छ ? फुटबलमा धेरैभन्दा धेरै मानिसलाई कसरी जोड्न सकिन्छ भन्नेबारे केन्द्रित भयौँ । त्यसपछि २०२० मा आएर काठमाडौँ जिल्ला प्रशासनमा आधिकारिक रूपमा दर्ता भयौँ । यसरी ३ वर्षदेखि हामी सक्रिय छौँ ।

हामी भविष्यमा एन्फासँग समन्वय गरेर अघि बढ्छौँ । नेपाली फुटबलमा पर्यवेक्षक संस्थाका रूपमा एन्फालाई सुझाव दिने फ्यानहरुको एउटा निकाय चाहिन्छ भन्ने आवश्यकता महसुस गरेरै यो संस्था दर्ता गरेका हौँ । 

अहिले म यसको अध्यक्ष छु र हाम्रो १९ सदस्यीय समावेशी कार्यसमिति फुटबल फ्यानहरुलाई एकीकृत गर्नका लागि सक्रिय छ । सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेसँगै हामीले पनि नेपाललाई फुटबलमय बनाउने भनेर कार्यक्रम घोषणा गरेका थियौँ । त्यही कार्यक्रमअन्तर्गत हामीले पहाडी जिल्लाका सरकारी विद्यालयहरुमा फुटबल जर्सी वितरण गर्न सुरु ग¥यौँ । सरकारी स्कुलमा अध्ययन गर्ने खेलाडीहरुमा फुटबलप्रतिको मोह ठूलो भए पनि पहाडमा राम्रो मैदान र खेल सामग्रीको अभाव छ । यही बुझेर हामीले त्यहाँ कार्यक्रम सञ्चालन गरेका थियौँ । यसक्रममा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र तराईको जिल्ला बारामा हामीले खेल सामग्री वितरण ग¥यौँ । तर कोरोनाका कारण सोचेजसरी काम गर्न पाइएन । महिला राष्ट्रिय टोलीकी खेलाडी सावित्रा भण्डारी (साम्बा) घाइते भएपछि उनको उपचारमा सहयोग गर्ने हाम्रो योजना बनिसकेको थियो । तर एन्फाले नै उनलाई कतारमा उपचार गराइदिने घोषणा गरेको छ । यो निकै स्वागतयोग्य छ । यद्यपि कतारमै उपचार गराएका प्रदीप महर्जन फेरि पहिलेजसरी खेलमा फर्किएनन् । त्यसैले घाइते भएपछि खेलमा फर्कनु जटिल छ । राम्रो उपचार र व्यक्तिगत इच्छाशक्ति दुवै चाहिन्छ । अहिले विक्रम लामा र विमल घर्तीमगरको पनि कतारमै उपचार चलिरहेको छ । उनीहरु चाँडै खेलमा फर्किऊन् भन्ने हाम्रो कामना हो । तर एक–दुुईजना मात्रै नभएर धेरैभन्दा धेरै खेलाडीहरुलाई उपचारको ग्यारेन्टी कसरी गर्न सकिन्छ भन्नेबारे पनि हामीले योजना बनाइरहेका छौँ ।

२०७८ वैशाख १ गते हामी एउटा घोषणा गर्दैछौँ । जसअन्तर्गत ५ जना खेलाडीलाई ‘हाम्रो फुटबल नेपालले’ ले १ वर्षका लागि प्रोत्साहनस्वरूप  मासिक पारिश्रमिक उपलब्ध गराउनेछ ।

हाम्रो फुटबल नेपाल व्यापारिक पृष्ठभूमि भएका सदस्यहरुको संस्था हो । त्यसैले हामी त्यस्ता कर्पोरेट संस्थाहरुको पनि खोजी गर्दैछौँ, जसले खेलाडीलाई रोजगारी दिन सकोस् । खेल र अभ्यासको समयबाहेक बाँकी समय काममा लगाउनेगरी रोजगारी दिँदा त्यस्ता कर्पोरेट हाउसको छवि पनि माथि नै उठ्छ भन्ने हाम्रो ठम्याइ छ । यसबारे विभिन्न कर्पोरेट हाउसहरुसँग छलफल पनि चलिरहेको छ । अहिलेसम्म २२ जिल्ला र २ वटा प्रदेशमा हाम्रो फुटबल नेपाल गठन भइसकेको छ । यसलाई अब विदेशमा पनि विस्तार गर्दैछौँ । विदेश विभागबाट केही रकम सङ्कलन पनि हुन्छ र त्यो रकम खेलाडीहरुकै पक्षमा खर्च हुन्छ । विदेशमा बसेका समर्थकहरुले १ घण्टाको पारिश्रमिक नेपाली फुटबलका लागि छुट्टयाइदिनुभयो भने पनि नेपाली खेलाडीहरुका लागि त्यो सहयोग ठूलो प्रोत्साहन साबित हुनेछ ।

दर्शकलाई पनि सम्मान गर्नुपर्‍यो

तपाईंलाई म थ्री नेसन्स कपको उदाहरण दिन्छु । त्यहाँ भन्डै ६० जना दर्शकहरुले बाहिर बारमा उभिएर समूह चरणको खेल हेरिरहेको फोटो सामाजिक सञ्जालमा भाइरल भयो । त्यसपछि हामीले ती दर्शकको  अभिलेख राख्यौँ र मेरै खर्चमा ६० जनालाई रङ्गशाला छिराएँ । ६ सय जनालाई छिराउनुपर्ने थियो तर टिकट महँगो भएकाले धेरैलाई छिराउनसक्ने अवस्था रहेन । महँगो टिकटकै कारण दर्शकले खेल हेर्न नपाउने यो बिडम्बनापूर्ण अवस्था फुटबल विकासका लागि बाधक छ ।

दर्शकलाई बेवास्ता गरेर यस खेलको विकास असम्भव छ । विश्वमा धेरैले सहज र सरल रूपमा बुझ्ने, खेल्ने र हेर्न खेल फुटबल हो । यो कुनै विलासी खेल होइन । त्यसैले विद्यार्थी, मजदुरलगायत धेरैभन्दा धेरै वर्गका दर्शकलाई यस खेलसँग जोड्नुपर्छ । अहिलेको अवस्थामा नेपाली फुटबलका धेरै फ्यानहरुले यस खेलमा अपनत्व महसुस गर्न पाएका छैनन् । त्यस्तो परिस्थिति अन्त्य गर्नका लागि पहिले महँगो टिकटलाई सस्तो गर्नुप¥यो भन्ने हाम्रो सुझाव छ । किनकि राष्ट्रिय टोलीको खेल हेर्ने रहर सबैलाई हुन्छ तर १ हजारको टिकट किनेर एउटा विद्यार्थीलाई फुटबल हेर्न सहज छैन । १ हजारले त उसको १०–१५ दिनको खर्च चल्छ । यदि टिकट शुल्क कम हुन्थ्यो भने उसले आफ्ना ५ जना साथीभाइ वा परिवारका सदस्यलाई पनि लिएर फुटबल हेर्न आउनसक्ने वातावरण हुन्थ्यो र फुटबल संस्कृतिको विकासमा टेवा पुग्थ्यो । तर टिकट महँगो भएकाले ऊ एक्लै आउनुपर्ने अवस्था छ । एक्लै आएर फुटबल हेर्दा कसरी यसको मज्जा लिइएला ? यो त समूहमा बसेर हेर्ने खेल हो । युरोपेली फुटबलमा सबैभन्दा अगाडि बस्नेलाई बढी टिकटदर र पछाडि बसेर फुटबल हेर्छु भन्नेलाई सुलभ मूल्य तोकिएको हुन्छ । हाम्रोमा पनि त्यस्तो नगरी हुन्न । अगाडि बस्नेलाई १ हजारकै टिकट तोकिए पनि पछाडि बसेर २ सय रुपैयाँमै एउटा खेल हेर्ने वातावरण सिर्जना हुुनुपर्छ भन्ने मलाई लाग्छ । अहिलेजस्तो टिकट महँगो भएकैले खेलप्रेमीहरु फुटबल हेर्नबाट वञ्चित हुनुपर्ने परिस्थिति रहनुहुन्न ।

अर्को कुरा हाम्रा धेरै फुटबल फ्यानहरु टिकट काट्न जाँदा कुटिएका छन् । राष्ट्रिय टिमको खेल हेर्न र टोलीलाई हौसला दिन जाँदा सम्मानित हुनुको साटो उल्टै कुटिनुपर्ने यो अवस्था परिवर्तन हुनैपर्छ । घण्टौँ लाइनमा लागेर टिकट काट्नुपर्ने बाध्यतालाई अब हटाउनुपर्छ । अनलाइन टिकट प्रणाली सुरु गर्नुपर्छ भन्ने हाम्रो माग हो । अनि क्लबका खेलमा रङ्गशाला खाली हुने र राष्ट्रिय टिमका खेलमा मात्रै भरिभराउ हुने अवस्था छ । यो अवस्था दर्शकमा अपनत्वको भावना जागृत गराउन नसक्दाकै परिणाम हो । फुटबल विकास गर्ने हो भने पहिले खेलाडीहरुको सेवा सुविधालाई ध्यान दिनुपर्छ । उनीहरुले सुरक्षित महसुस गर्नसके मात्रै खेल प्रतिस्पर्धात्मक बन्छ ।

अनि दर्शकले सम्मानित रूपमा सुलभ मूल्यमा लिग हेर्न पाउने वातावरण तय भएसँगै फुटबलप्रति उनीहरुको लगाव बढ्छ । यस्तो हुँदा एकै खेलको टिकट बेचेर धेरै आम्दानी नआउला, तर हरेक खेलमा दर्शक जोडिएपछि आउने थोरै–थोरै आम्दानीले पनि कुल आम्दानी उस्तै हुन आउँछ । ठूलो सङ्ख्याका दर्शकले सामाजिक सञ्जालमा लेख्ने सकारात्मक टिप्पणीले जुन माहोल सिर्जना गर्छ, त्यो निकै ओजनदार हुन्छ ।

राष्ट्रिय लिगमा दर्शकलाई आकर्षित गर्नका लागि यस्ता धेरै स्किमहरु ल्याउनैपर्छ । अहिले त राष्ट्रिय लिगमा रङ्गशाला खाली हुने अवस्था छ । जबकि राष्ट्रिय टिमका लागि खेलाडी चयन हुने यही लिगबाट हो । अनि राष्ट्रिय लिग नै कम दर्शकले हेर्ने भएपछि राष्ट्रिय टिममा कस्ता खेलाडी चयन हुन्छन् भन्ने विषयमा पनि कमैलाई चासो हुने भो । जब राष्ट्रिय लिगमा धेरै दर्शकको चासो हुन्छ तब मात्रै राष्ट्रिय टिमको छनोट पनि पारदर्शी हुँदै जान्छ ।

अहिलेको अवस्था हेर्नुभयो भने राष्ट्रिय टिममा खेलाडी चयन गर्दा फिट्नेस र मिहिनेतको ख्याल गरेको देखिन्न । वर्षौंसम्म नतिजा दिन नसक्ने खेलाडी नै दोहारिइरहेका छन् । राम्रो प्रदर्शन गरेका र फ्यानहरुले रुचाएका खेलाडीसमेत टिममा पर्न असफल छन् । जस्तो एपीएफका आशिष लामालाई हेर्नुस्, गत सिजनको लिगमा २३ गोल गरेका यी खेलाडी राष्ट्रिय टिमको अन्तिम २३ मा परेनन् । अनि हामी सर्वाधिक गोलकर्तालाई बाहिर राखेर टिमले गोल गर्न सकेन भन्दै चिच्याइरहेका छौँ ।

हामीले थ्री नेसन्स कपजस्ता तीन–चारवटा देश सहभागी आमन्त्रण प्रतियोगिता जितेकै भरमा मख्ख परेर बस्नुपर्ने अवस्था बिडम्बनापूर्ण छ । हाम्रो लक्ष्य त साफ च्याम्पियनसिपको उपाधि हुनुपर्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.