शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीबाट ठूलो भूल भयोः भीम रावल

आइतबार, २९ चैत २०७७, १६ : ११
आइतबार, २९ चैत २०७७

कैलाली । नेकपा एमाले (नेपाल–खनाल पक्ष)का सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट ठुलो भूल भएको बताएका छन् । 
आइतबार नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई नबोलाइ फागुन २८ गते आफ्ना गुटको बैठकबाट महाधिवेशन आयोजक कमिटी बनाउनु ओलीको ठूलो भूल बताएका हुन् । 

ओलीले पार्टीको विधानमा उल्लेखित बुदा नं. १३ को क तथा १४ र ५८ उलङ्घन गरी महाधिवेशन आयोजक कमिटी बनाएर ठूलो गल्ती गरेको रावलको भनाइ छ । उनले नवौं महाधिवेशनमा जस्तो संरचनामा थियो त्यस्तै संरचना अनुसार जिल्ला प्रदेश वडा स्तरसम्मका पार्टी र जनसंगठनका सबै कमिटीहरु सकृय तुल्याउन  आफूहरुले कमिटी गठन गरेको पनि दावी गरे ।  

देशलाई आवश्यक परेमा आफूहरु कुनै पनि पदमा नरही अनवरत रुपमा पार्टी, देश र जनताका निमित्त बलिदानी दिन तयार रहेको उनको भनाइ छ । 
रावलले केपी ओलीको कारबाही स्वेच्छाचारी र  विधान विपरित भएकाले नडराउन समेत पार्टीका नेता कार्यकर्तालाई अनुरोध गरे ।

शनिबार सिके राउत नेतृत्वको जनमत पार्टीको महाधिवेशनका बेला जनकपुरमा राखिएको पर्चा पम्प्लेट ब्यानरमा ‘स्वतन्त्र मधेश’को नारा लेखेको प्रति उनले असन्तुष्टि व्यक्त गरे ।
राउतसँग केपी ओलीले गरेको ११ बुँदे सहमतिको सार यही थियो भन्ने प्रश्न गर्दै उनले यसबारे सम्बन्धित पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए । 

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको तक्मामा नेपालको पुरानो नक्सा प्रयोग गरिएको प्रति पनि उनले आपत्ति जनाए । 
उनले मानपदवीमा अंकित नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र नराखिनुको जवाफ प्रधानमन्त्री ओलीले जवाफ दिनु पर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप