ad
केन्द्रीय संस्करण

सीमा नाकामा संयन्त्र नहुँदा कोरोना सङ्क्रमणको जोखिम

person explore access_timeचैत २९, २०७७ chat_bubble_outline0

नेपालगञ्ज । छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण बढ्दो भए पनि बाँकेको नेपाल–भारत सीमा जमुनाह नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी संयन्त्र परिचालन गरिएको पाइँदैन ।  सीमा नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि संयन्त्र नहुँदा भारतको उच्च जोखिम भएको ठाउँबाट नेपाल प्रवेश गर्नेबाट सङ्क्रमणको जोखिम बढेको पाइएको छ । अहिले भारतको महाराष्ट्र, तामिलनाडु, पञ्जाब, मध्यप्रदेश, नयाँदिल्ली, गुजरात, कर्नाटक र हरियाणा राज्यमा दोस्रो लहरको सङ्क्रमणको दर बढ्दो रहेको छ । सीमा नाकामा ती राज्यबाट आउनेलाई बढी निगरानी गरिएको छ । 

भारतका ती ठाउँमा सङ्क्रमण बढेपछि सरकारले यही चैत ११ गतेदेखि सरकारले सबै नेपाल–भारत सीमा नाकामा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेक्स) स्थापना गरेको छ । सीमा नाका जमुनाहामा पनि सहायता कक्षमा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी संयन्त्र नहुँदा नेपाल प्रवेश गर्नेले सङ्क्रमण भित्र्याउने जोखिम रहेको कक्षका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवाली बताउँछन् ।

संयन्त्र नहुँदा जमुनाहा नाकाको सहायता कक्षले प्रभावकारी रुपमा रोकथाम र नियन्त्रणको काम गर्न समेत सकिरहेको छैन । प्रभावकारी संयन्त्र नभए तापनि कक्षमा रहेका कर्मचारी नेपाल प्रवेश गर्ने व्यक्ति विवरण र ज्वरो नाप्ने काम भने गरिरहेको छन् । सीमा नाकामा सङ्क्रमितलाई राख्नका लागि होल्डिङ सेन्टर र क्वारेन्टिनको व्यवस्था भने गरिएको छैन ।  

तीन जना कर्मचारीले एउटा थर्मल गनको भरमा भारतको उच्च जोखिम भएको ठाउँबाट आउने व्यक्तिबाट सङ्क्रमण रोकथाम र नियन्त्रण गरिरहेका छन् । कर्मचारी अभावले सीमा नाका भएर नेपाल प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य सुरक्षाका मापदण्ड कसरी अपनाउने, १० दिनसम्म क्‍वारेन्टिनमा बस्नुपर्ने जस्ता कुरा सिकाउन नसकिएको उनको भनाइ छ । 

भारतबाट आउनेलाई शङ्का र लक्षण देखिए नमूना एन्टिजेन परीक्षण गर्ने गरिएको छ । नाका हुँदै आएका व्यक्तिको नाम, ठेगाना, उमेर र कुन ठाउँबाट आएको भनेर मात्र कक्षमा रहेका कर्मचारीले रजिष्टर्डमा टिपेपनि कर्मचारी अभावले सबै विवरणका लागि फाराम भराउन सकिएको छैन । भारतमा सङ्क्रमण बढेपनि खुला सीमाका कारण दैनिक ४ देखि ५ हजारसम्म व्यक्ति सीमापारि रुपडिया बजारमा दैनिक खाद्यान्न र अन्य सामान किन्न बिना रोकतोक सीमा वारपार गरिरहेका देखिन्छन् । 
ल्याब टेक्निसियन ज्ञवालीले कर्मचारी पर्याप्त नहुँदा आफूहरुले भारतबाट आउने व्यक्तिको ज्वरो नाप्ने र विवरण सङ्कलन गर्नुबाहेक कुनै काम गर्न नसकिएको बताए ।  “भारतको उच्च जोखिम भएका ठाउँबाट मानिस आइरहेका छन् तर ती मानिसलाई सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न हामीले सकिरहेका छैनौँ,” उनले भने, “ती मानिसबाट सङ्क्रमण फैलने जोखिम रहेको छ । बेलैमा सरकार सचेत हुनुपर्दछ ।”

कर्मचारी अभाव

सरकारले सीमा नाका र अन्तरराष्ट्रिय विमानस्थलमा स्थापना गरेको स्वास्थ्य कक्षमा एक मेडिकल अफिसर, एक हेल्थ असिस्टेन्ट, एक सिनियर अहेव, एक नर्स, एक जना अनमी, एक ल्याब टेक्निसियन र एक कार्यालय सहयोगीको गरी सात जनाको अस्थायी दरबन्दी सिर्जना गरेको छ । जमुनाहा नाकामा एक सिनियर अनमी, एक अहेव र एक ल्याब टेक्निसियन मात्र रहेका छन् । 

ल्याब टेक्निसियन ज्ञवालीले दरबन्दीअनुसार कर्मचारी नहुँदा सीमा नाका भएर आउने व्यक्तिको कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न नसकिएको स्वीकार गरे । उनले ती व्यक्तिको विवरण लिने, सामान्य थर्मल गनबाट ज्वरो नाप्ने बाहेक अरु कुनै काम गर्न नसकिएको बताउँछन् । “हामी तीन जनाले कसरी ६०० देखि ७०० जना मानिसको लागि व्यवस्थापन गर्न सक्दछौँ,” उनले भने, “सीमा नाकाबाट आउनेको हामीले विवरण मात्र राख्न सकेका छौँ । हामीले ती व्यक्तिलाई कोभिड–१९ बच्न र अरुलाई बचाउन सचेतना गराउन सकेका छैनौँ ।” उनका अनुसार नाका हुँदै आएका व्यक्तिमा सङ्क्रमण देखिए कसरी व्यवस्थापन गर्ने भन्ने तयारी समेत रहेको छैन  ।

यही चैत १३ गते भारतको महाराष्ट्रबाट आएका रोल्पाका एक जनामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण देखिएपछि उनलाई व्यवस्थापन गर्न समस्या भएको थियो । बिहान १० बजे परीक्षण गर्दा सङ्क्रमण देखिएको उनलाई राति ९ बजे मात्र एम्बुलेन्सको व्यवस्थापन गरेर सङ्क्रमितको घर रोल्पा पठाइएको उनको भनाइ रहेको थियो । “कोभिड–१९ लाई ‘छिटो परीक्षण र छिटो उद्धार’ (क्युक टेस्ट क्युक रेस्पोन्स) भन्ने मान्यता रहेको हुन्छ”, उनले भने, “तर यहाँ कुनै तयारी छैन । सङ्क्रमित देखिएपछि कसरी व्यवस्थापन गर्ने भन्ने कुनै तयारी नै छैन । रोल्पाका एक जनालाई सङ्क्रमण देखिएपछि १० घण्टापछि उनलाई घरमा पठाएको थियौँ ।” 

कक्षमा पर्याप्त जनशक्ति नहुँदा नाकाबाट नेपाल प्रवेश गर्नेको सबैको विवरण पनि लिन सकिएको छैन । बिहान ७ बजे कक्ष खुले पनि सुरक्षाकर्मी नहुँदा नाका प्रवेश गर्ने व्यक्तिको ज्वरो नाप्ने र विवरण सङ्कलन गर्न सकिएको छैन । बिहान १० बजे सुरक्षाकर्मी आएपछि मात्र व्यक्ति ज्वरो नाप्ने र विवरण सङ्कलन गर्ने काम हुने गर्दछ । 

कक्षका अहेव हेमन्त रानाले जिल्लाबाट कसैले पनि काम गर्न समन्वय नगरेको बताउँछन्  । ‘हामीले तीन जनालाई खटाएका छौँ । के गर्ने कसरी गर्ने भनेर अहिलेसम्म कोही पनि समन्वय गर्न आएका छैनन्’ उनले भने, ‘हामीले जति गर्न सकेका छौँ । त्यति गरेका छौं । हामीले मात्र गरेको कामबाट सीमा नाकाबाट आउने व्यक्तिबाट कोभिड–१९ लाई नियन्त्रण गर्न सकिँदैन ।’ उनले सीमा नाकामा कोभिड–१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणको लागि कुनै बलियो संयन्त्र नहुँदा नेपाल प्रवेश गर्ने व्यक्तिबाट कोभिड–१९ सङ्क्रमणको जोखिम भइरहेको बताउँछन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले कर्मचारी अभावले नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणको प्रभावकारी काम हुन नसकेको स्वीकार गरे । उनले चाँडै नै दरबन्दी अनुसार कर्मचारी राखेर रोकथामको कामलाई प्रभावकारी बनाइने बताए । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी) का स्रोत व्यक्ति तेज वलीले कर्मचारी व्यवस्थापन गरिरहेको जानकारी दिए ।

“हामी जिल्ला र स्थानीय तहले मात्र सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न असम्भव छ,” उनले भने, “सङ्घबाट नै कर्मचारी व्यवस्थापन गरिरहेका छौँ । कर्मचारी व्यवस्थापनपछि प्रभावकारी रुपमा रोकथाम र नियन्त्रण गर्दछौँ ।” उनका अनुसार अहिलेसम्म छ हजार २०४ जना जमुनाहा नाकाबाट नेपाल प्रवेश गर्नेको विवरण र ज्वरो नाप्ने गरिएको छ । यस्तै कोभिड–१९ को दोस्रो लहर चलेपछि बाँकेमा सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । 

सीमा नाकामा १० जनामा सङ्क्रमण 
भारतको उच्च जोखिम ठाउँबाट आएका १२४ जनामा एन्टिजेन परीक्षण गरिएकामा १० जनामा सङ्क्रमण देखिएको  कक्षका  ल्याब टेक्निसियन ज्ञवालीले बताए । महाराष्ट्रबाट आएका व्यक्तिमा धेरै सङ्क्रमित भेटिएका छन् । 

उनका अनुसार  सङ्क्रमणको लक्षण, शङ्का र ज्वरो आएपछि नमूना सङ्कलन गर्दा सङ्क्रमित देखिएको हो । सङ्क्रमितमध्ये लक्षण भएकालाई भेरी अस्पताल र लक्षण नभएकालाई सम्बन्धित जिल्लामा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वयमा घर पठाइने गरिएको छ । कक्षका ल्याब टेक्निसियन ज्ञवालीका अनुसार अहिले सबैभन्दा बढी भारतको महाराष्ट्रको मुम्बई, गुजरातबाट धेरै नेपाली स्वदेश फर्किरहेका छन् । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.