शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टेकु अस्पतालका चिकित्सक भन्छन्–विद्यालय कोरोनाको नयाँ हटस्पट बन्दैछ, अवस्था भयावह हुने चेतावनी (भिडियोसहित)

आइतबार, २९ चैत २०७७, १७ : १६
आइतबार, २९ चैत २०७७

शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बाँस्तोलाले अस्पतालहरुमा कोरोनाभाइरस संक्रमित संख्या बढ्दै गएको र विशेष सावधानी नअपनाउने हो भने भयावह अवस्था आउन सक्ने चेतावनी दिएका छन् । 

उनले पछिल्लो समय राजधानीका अस्पतालहरुमा संक्रमितको संख्या थपिने क्रममा रहेको र आईसीयू प्रयोग गर्नेहरु पनि बढिरहेको बताए । 
समूदायमा धेरै संक्रमित रहेको हुनसक्ने आशंका गर्दै उनले परीक्षण दायरालाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । ‘समुदायमा धेरै व्यक्ति संक्रमित छन् । लक्षण देखिएका केही व्यक्तिमात्र पहिचान भएका छन्’, उनले भने, ‘टेकुमा मात्रै नभएर अन्य अस्पतालमा पनि संक्रमितमा निमोनियाको समस्या बढेको पाइएको छ ।’

‘पछिल्लो तीन महिनामा जसरी हामी लापरबाही ढंगले बाहिर निस्कियौँ। मास्क लगाएनौँ, सभा सम्मेलन र भोज भतेरमा सरिक भयौं, यही कारणले संक्रमितको संख्या बढेको छ । नयाँ भेरियन्ट पनि प्रवेश गरेका छन्’, डा बाँस्तोलाको भनाइ छ, ‘अघिल्लो वर्ष पहिलो छाल भदौ असोजतिर जुन थियो त्यो अवस्थामा हामी पुगेको अवस्था छ ।’

उनले विद्यालयमा विद्यार्थीहरु संक्रमित हुने दर बढेको भन्दै उनीहरुबाट दीर्घरोगी तथा वृद्धवृद्धा जोखिममा परेको बताए । पहिले विभिन्न समूदाय विशेष हटस्पट बनेपनि अहिले विद्यालय हटस्पट बन्ने अवस्था रहेको पनि उनको भनाइ छ । 

‘अहिले विद्यालयमा  बच्चाहरु संक्रमित भएका छन् । एक्कासी विद्यालयमा थप फैलिएको अवस्थामा धेरै बच्चाहरु बिरामी हुन सक्छन् । बच्चाहरूमा संक्रमण दर पनि बढ्दै गएको छ’, उनले भने, ‘अहिले विद्यालय हटस्पट बनेको अवस्था छ । त्यहाँबाट दीर्घरोगी, वृद्धवृद्धामा फैलिन सक्छ ।’

उनले आम सर्वसाधारण र सरकार मिलेर कोरोना विरुद्ध लड्नुपर्नेमा जोड दिँदै अनावश्यक भिडभाड नगर्न, परीक्षणको दायरा बढाउन, नागरिकले पनि शंका लागेमा परीक्षण गर्न तथा जनस्वास्थ्यका मापदण्ड पालनामा ज्यान दिन सुझाएका छन् ।  
अन्यथा संक्रमणले फेरि भयावह अवस्था आउन सक्ने उनको भनाइ छ । 

 काठमाडौँ लगायत विभिन्न शहरमा कोरोना संक्रमण जोखिम बढेको अवस्थामा डा बाँस्तोलाको यस्तो धारणा आएको हो । उसो त सरकारले भिडभाड हुने कार्यक्रम लगायतको काम बन्दको सिफारिस गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप