शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश २ मा एमाले संसदीय दलको नेतामा महतो चयन

आइतबार, २९ चैत २०७७, १८ : ५४
आइतबार, २९ चैत २०७७

जनकपुर । नेकपा एमालेले प्रदेश २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डललाई हटाएर शत्रुधन​ महतोलाई चयन गरेको छ । नेकपा एमालेका नेता माधवकुमार नेपाल- झलनाथ खनाल पक्षले प्रदेश– २ को संसदीय दलको नेतामा महतोलाई चयन गरेको हो ।

आइतबार प्रदेश सभा संसदीय दलको कार्यालयमा बसेको माधव–झलनाथ पक्षको संसदीय दलको बैठकबाट दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर महतोलाई नयाँ नेता चयन गरेको प्रदेश सभा सदस्य मञ्जु यादवले जनाइन् ।

प्रदेशसभा सदस्य यादवले बैठकमा ११ जना सांसदको उपस्थिति रहेको र २ जना बिरामी भएका कारण नआए पनि उनीहरुको पनि हस्ताक्षरसहित मण्डललाई हटाएर महतोलाई चयन गरिएको बताइन् ।

प्रदेशसभा सदस्यद्वय गोविन्द न्यौपाने र डिल्ली उप्रेती बिरामी भएका कारण बैठकमा उपस्थित हुन सकेनन् । प्रदेश २ मा २१ जना प्रदेश सभा सदस्य  मध्ये  माधव–झलनाथ पक्षसँग १३ जना छन् । माधव–झलनाथ पक्षले कारबाही गरेको मण्डल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकटका हुन् ।

सो बैठकले उपनेतामा रवीन्द्र बैठा, प्रमुख सचेतकमा सुन्दर विश्वकर्मा र बेची लुंगेलीलाई चयन गरेको प्रदेशसभा सदस्य यादवले जनाकारी दिइन् ।

नेकपा एमालेभित्रको आन्तरिक विवादका कारण माधव–झलनाथ पक्षले देशभर वडा, जिल्ला, प्रदेश, केन्द्र समानान्तर कमिटी बनाउन थालेको छ ।

नेकपा माओवादी केन्द्रले समेत प्रदेशसभामा संसदीय दलको नेतामा भरत साहलाई चयन गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप