बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बौद्धबाट बरामद गरिएको युरेनियम बेच्न खोज्ने ३ जना पुर्पक्षका लागि थुनामा

एकजना धरौटीमा छुटे
आइतबार, २९ चैत २०७७, २३ : ४५
आइतबार, २९ चैत २०७७

काठमाडौं । काठमाडौंको बौद्धबाट बरामद गरिएको साढे २ केजी युरेनियम बेच्न खोज्नेलाई अदालतले थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंले युरेनियम कारोबारमा संलग्नमध्ये ३ जनालाई थुनामा राख्न आदेश दिएको छ । एक जनाचाहिं धरौटीमा छुटेका छन् ।

रामेछाप घर भएकी जानुका तामाङको बौद्धस्थित घरमा सो युरेनियम करिब २५ वर्षदेखि लुकाएर राखिएको थियो । भारतको खानीमा काम गर्दा जानुकाका ससुरा अमर लामाले युरेनियम ल्याएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

अदालतले जानुका तामाङ, रामेछाप लिखु तामाकोशी–५ का नारायणसिंह तामाङ र रामेछापका प्रकाश चौहानलाई थुनामा पठाएको छ । अदालतको आदेशले उनीहरुलाई केन्द्रीय कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कारोबारमा संलग्न भनिएका सिन्धुलीका मनोज न्यौपानेलाई अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । २ लाख धरौटी बुझाएर उनी रिहा भएका छन् । साढे २ केजी युरेनियम बेच्न खोज्ने ४ जनालाई महानगरीय प्रहरी कार्यालयको टोलीले फागुन २८ मा पक्रेर अनुसन्धान गरेको थियो ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरुविरुद्ध ‘रेडियोधर्मी पदार्थ नियमित र निषेध गर्ने ऐन–०७७’ अनुसार अदालतमा मुद्दा दर्ता गरेको थियो । 

यो पनि...

 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप