शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाका ३४ सांसदको हिसाब–किताब

सोमबार, ३० चैत २०७७, १२ : ४३
सोमबार, ३० चैत २०७७

काठमाडौँ, चैत २९ । जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने सङ्केत गरेका छन् । उनले काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री ओलीविरुद्ध प्रस्ताव लैजानुस् नत्र जसपालाई साथ दिनुस् भनी आग्रह गरेका छन् ।

यसरी प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजान जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र परिषद्का अध्यक्ष भट्टराईले तयारी थालेपछि सांसद सङ्ख्याको हिसाब किताब हुन थालेको छ । जसपा नेपालमै अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले डा. भट्टराईलाई साथ नदिने अवस्था रहेको छ ।

अध्यक्ष ठाकुर र वरिष्ठ नेताहरू प्रधानमन्त्री ओलीलाई नै निरन्तरता दिनुपर्ने पक्षमा रहेका छन् । जसपा नेपालले राखेका माग पूरा गर्ने प्रक्रिया थालेका कारण तत्कालै प्रधानमन्त्री ओलीको विकल्प नखोज्ने पक्षमा ठाकुर पक्षका नेताहरु रहेका छन् ।

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने अग्रसरता लिएपछि डा. भट्टराईलाई सुरुमा आफ्नै पार्टीको चुनौती सामना गर्नुपर्ने हुन्छ । माओवादी केन्द्र, माधव नेपाल पक्षका सांसदले साथ दिए पनि काँग्रेस र जसपाका ठाकुर पक्षले साथ दिन्छन् कि दिँदैनन् निश्चित छैन ।

जसपा नेपालमा ३४ सांसद छन् । पूर्वसमाजवादी र राजपा नेपालका १७–१७ जना सांसद रहेका छन् । त्यसमा पूर्वराजपाका सांसद रेशम चौधरी जेलमा छन् भने पूर्वसमाजवादी पार्टीका सांसद हरिनारायण रौनियार भ्रष्टाचारका मुद्दाका कारण निलम्बनमा परेका छन् । दुवै पार्टीमा १६–१६ जना सांसद बाँकी छन् ।

पूर्व समाजवादी पार्टीमा रहेका आठजना सांसदले पूर्व राजपालाई साथ दिने आँकलन गरिएको छ । गत वैशाखमा पार्टी फुटाउन जुटेका प्रदीप यादव, उमाशङ्कर अरगरिया, विमल श्रीवास्तव, डा. सुरेन्द्र यादव, रेणु यादव, रुही नाज, इस्तियाक राई, कलुदेवी विश्वकर्माले पूर्व राजपालाई साथ दिने स्रोतहरुले दाबी गरेका छन् । यी आठजनामध्ये रेणु यादव र डा. सुरेन्द्र यादव उपेन्द्र यादवका पक्षमा गइसकेको बताइएको छ । अरू सांसदहरु अझै पनि महन्थ ठाकुरलाई साथ दिने तयारीमा रहेको ठाकुर निकट नेताहरु बताउँछन् ।

 

उता पूर्व राजपाबाट महेन्द्र राय यादव उपेन्द्र यादवको साथमा गइसकेका छन् । शरतसिंह भण्डारी, निर्जला राउत र राजकिशोर यादवले पनि उपेन्द्र यादवलाई साथ दिने स्रोतहरूले दाबी गरेका छन् ।

जसपा नेपालको ३२, माओवादी केन्द्रको ४९, माधवकुमार नेपाल समूह (एमाले) को ३७ र काँग्रेसको ६१ सांसद रहेका छन् । जम्मा सांसद १७९ हुन्छन् । यसले बहुमत पुग्दो रहेछ । काँग्रेसले साथ दिएन भने जसपाका अध्यक्ष डा. भट्टराईलाई बहुमत पुर्याउन गाह्रो हुनेछ । माओवादी केन्द्रका ४९, एमाले (नेपाल समूह) ३७ र जसपा ३२ सांसदको हिसाब हुन्छ अर्थात बाँकी ११८ सांसद रहन्छन् । जसपा नेपाल पनि विभाजन भयो भने १५ जना सांसद उपेन्द्र यादव र डा. भट्टराईको पक्षमा छन् । ४० प्रतिशत सांसद सङ्ख्या पुर्याएर पार्टी विभाजन भयो भने केही गर्न सकिँदैन । त्यतिकै उपेन्द्र पक्ष छाडेर महन्थ पक्षमा लागे भने कारबाही हुनसक्छ, त्यो डरले नजान पनि सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप