शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा प्राकृतिक विपत्तिबाटै वार्षिक डेढ अर्ब रुपैयाँ बढी धनजनको क्षति, आगलागीबाट कुन जिल्लामा कति क्षति ?

सोमबार, ३० चैत २०७७, १३ : २२
सोमबार, ३० चैत २०७७

सुर्खेत । कर्णाली प्रदेशमा प्राकृतिक विपत्तिबाट वार्षिक डेढ अर्बभन्दा बढी रकम बराबर धनजनको क्षति हुने गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार विभिन्न प्राकृतिक प्रकोपका कारण कर्णालीमा एक वर्षमा मात्रै १ अर्ब ६४ करोडभन्दा धेरै धनमालको क्षति भएको हो ।

२०७७ सालमा कर्णाली प्रदेशमा आगलागी लगायतका विपत्तिबाट एक अर्ब ६४ करोड ५४ लाख एक हजार ५१४ रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । आर्थिक वर्ष ०७६/७७ मा यस्तो विपत्तिबाट एक अर्ब ५१ करोड ५६ लाख ४८ हजार ८७० रुपैयाँ बराबरको धनमाल क्षति भएको छ भने ०७५/०७६ मा ४ करोड ६३ लाख ४२ हजार ९८० बराबरको धनमाल क्षति भएको तथ्याङ्क प्रहरीसँग छ । 

१० वटा जिल्लामध्ये आगलागीका घटनाबाट सबैभन्दा बढी जुम्लामा क्षति भएको देखिन्छ । जुम्लामा आर्थिक वर्ष ०७६/७७ मा ४ करोड २१ लाख ८२ हजार ७ रुपैयाँ र ०७७/७८ को हाल सम्ममा १० करोड १४ लाख ८२ हजार ४ सय रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरीका अनुसार चालु आर्थिक वर्षका जुम्लामा आगलागीका घटना अधिक छन् । 

यस्तै, गत आर्थिक वर्षमा सुर्खेतमा ४२ करोड २४ लाख ९९ हजार एक सय, दैलेखमा २९ लाख ४१ हजार ७ सय, कालिकोटमा २८ लाख ४१ हजार ६ सय,  मुगुमा ९७ करोड ४२ लाख २९ हजार ८ सय, डोल्पामा ४१ लाख १३ हजार ५ सय, जाजरकोटमा १० दाख ६२ हजार ५ सय, सल्यानमा  १४ लाख ५५ हजार र रुकुम पश्चिममा ३ करोड ८६ लाख ८२ हजार बराबरको धनमाल क्षति भएको छ । 

चालु आर्थिक वर्षको चैत २९ गतेसम्म सुर्खेतमा २ करोड ५६ लाख १६ हजार,  दैलेखमा एक करोड ३५ लाख ८ हजार ५००, जाजरकोटमा ८१ लाख ४६ हजार ५००,  सल्यानमा ४७ लाख ३८ हजार, रुकुमपश्चिममा ३३ लाख ९४ हजार  १३९, कालिकोटमा  ६५ लाख ७८ हजार १००, मुगुमा ३३ लाख ३५ हजार, डोल्पामा ११ लाख ७२ हजार र हुम्लामा ८७ लाख २१ हजार ८७५ बराबरको क्षति भएको प्रहरीसँग तथ्याङ्क छ । 

कहाँ कति क्षति ? 

चालु आर्थिक वर्षको पछिल्लो एक महिनामा मात्रै कर्णालीमा आगलागीबाट ५ जनाको मृत्यु भएको छ । प्रदेशमा चैत्र महिनाभित्र ३५ वटा आगलागीका घटना भएका छन् । आगलागीबाट ९३ घर जलेर नष्ट भएका छन् भने ३१ वटा पशु चौपाया मरेका जनाइएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा कर्णालीमा आगलागीबाट ४ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । तर, चालु आर्थिक वर्षमा आगलागीबाट ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो वर्ष १११ वटा आगलागीका घटना भएका छन् । त्यसमा २ सय ३३ घरमा क्षति पुगेको प्रहरीको भनाइ छ । यो वर्ष आगलागीबाट ११ जना घाइते भएका भएका छन् भने २१५ पशु चौपाया मरेको प्रदेश प्रहरी कार्यालयका एसएसपी अर्जुन चन्द ठकुरीले रातोपाटीलाई बताए ।

उनले भने, ‘यो वर्ष त्यति हिमपात र वर्षा नभएकाले आगलागीका घटना बढेको हो । मान्छेकै लापरवाहीको कारण आगलागीका अधिकांश घटना भएको पाईएको छ ।’

यो वर्ष सबैभन्दा बढी सुर्खेत र सल्यानमा २२ /२२ वटा आगलागीका घटना भएका छन् भने सबैभन्दा कम दैलेख र डोल्पामा ७/७ वटा आगलागीका घटना भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, कालिकोटमा १६, जुम्लामा १५, जाजरकोट र हुम्लामा ७/७ वटा, रुकुम पश्चिम र मुगुमा ५/५ वटा गरी प्रदेशभर १११ आगलागीका घटना भएका छन् । आगलागीबाट १० जनता पुरुष र ५ जना महिला गरी १५ जना घाइते भएका छन् । 

आगामी वैशाख र जेठ महिनामा पनि यस्तै खडेरी परेको खण्डमा आगलागीका घटना अझै बढ्न  सक्ने प्रहरीको आंकलन छ ।

पाउँदैनन् बीमा 

कर्णाली प्रदेश सरकारले प्रदेशका कुनै पनि नागरिकको प्राकृतिक विपत्तिका कारण मृत्यु भएको खण्डमा एक लाख र घरमा क्षति भएको खण्डमा ५ लाख रुपैयाँ पाउने गरी प्रत्येक नागरिकको बीमा गरिदिएको छ । तर, विपत र घरबारविहीन भएका नागरिकहरुले बीमा रकम नपाएको गुनासो गर्ने गरेका छन् ।

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाका गोरे दमाईले हालसम्म बीमा रकम नपाएको गुनासो गरे । उनी भन्छन्, ‘जिल्लाबाट अनुसन्धान टोली आउँदा रकम पाउँछौ भनेर आश्वासन दिने गरेका छन् तर हालसम्म केही पनि पाएका छैनौँ ।’

आर्थिक अभावका कारण अहिलेसम्म पालमा बसेर गुजारा चलाइरहेको उनको भनाइ छ । उनीमात्र होइन, त्यस वडाका १५ घरपरिवार बाढी पहिरोका कारण घरबारविहीन भएका छन् । यो त एउटा उदाहरणमात्र हो, प्राकृतिक विपत्तिबाट विक्षिप्त बनेका अधिकांशको पीडा यस्तै छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुचना अधिकारी कृष्णबहादुर रोकायाका अनुसार आगलागीबाहेक अधिकांश घरबारविहीन बनेका नागरिकहरूका लागि बिमाबापतको चेक बनिरहेको छ । फागुन मसान्तसम्म आएका ६४ वटा घटनाका सम्बन्धमा फाइल अघि बढाइएको उनले बताए । उनले भने, ‘केहीको चेक बनिसकेको छ । केहीको बन्ने क्रममा छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप