शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संसदमा गर्जिए गगन थापाः चमत्कारी सरकारले न केही सोच्छ न केही गर्छ

सोमबार, ३० चैत २०७७, १९ : ४९
सोमबार, ३० चैत २०७७

काठमाडौं । काँग्रेस नेता तथा प्रतिनिधिसभा सांसद गगनकुमार थापाले केपी ओली नेतृत्वको सरकारलाई ‘चमत्कारी सरकार’ भन्ने व्यङ्ग्य गरेका छन् । उनले चमत्कारी सरकारले जनताको पक्षमा केही नसोचेको र काम नगरेको आरोप लगाए । 

‘कोभिडको प्रभावले देशभित्रका उद्योग, खुद्रा व्यापार र सबैभन्दा बढी पर्यटन क्षेत्रमा लाखौं नेपालीले रोजगारी गुमाएका छन् । सरकारी तथ्यांकले भन्छ, वैदेशिक रोजगारीमा पनि लाखौँले रोजगारी गुमाएर जो नेपाल फर्किएका छन् । फर्किएर आएका पनि जान पाएका छैनन्’, प्रतिनिधिसभा बैठकको शुन्य समयमा उनले भने, ‘यिनीहरूको पुनःस्थापनाको बारेमा यो चमत्कारी सरकार न केही सोच्छ, न केही गर्छ ।’

दक्षिण कोरियाको भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेका करिब १० हजार ५०० र प्रतिबद्ध करिब २ हजार कामदार महिनौंदेखि अलपत्र परेर काठमाडौंमा यत्रतत्र छरिएर बसेको तर सरकारले उनीहरुलाई पठाउन कुनै पहल नगरेको आरोप लगाए ।

‘यिनीहरूको बारेमा सरकारले लगातार बेवास्ता गरेको छ । फिलिपिन्सको, माल्दिभ्सको, श्रीलंकाको सरकारले गरेको जस्तो पहलकदमी लिएको भए सायद यिनीहरुले कोरिया जान पाइसकेका हुन्थे होला । भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेका, घर बिदामा आएर फर्किएका र जान नपाएका यी कामदारहरुलाई कोरियामा रोजगारी पाउने सुनिश्चितताको सन्दर्भमा सम्बन्धित मन्त्रालयले ठोस काम गरेर यसको जानकारी सदनलाई गराउनका निम्ति म सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप