बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हामीले टाँसिदिएको जुँगा केही दिनपछि निकाल्दिन्छौ : प्रधानमन्त्री ओली

सोमबार, ३० चैत २०७७, १८ : ५९
सोमबार, ३० चैत २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी विरोधीहरुलाई सफल हुन नदिने बताएका छन् । नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनका नाममा नक्कली कुरा गर्नेहरु सलबलाई रहेको बताएका हुन् । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल तर्फ इंगित गर्दै उनले विगतमा विभिन्न किसिमका सपना बाँडेर युवाहरुलाई युद्धमा लगाउनेहरू नै अहिले लोकतन्त्र र अग्रगामी कदम विरुद्ध लागेको दाबी गरे । झण्डै दुई तिहाईको पार्टी फुटाएर वर्तमान सरकार ढाल्नका लागि अरूसँग बिन्ती गर्दै हिँडेको भनी उनले दाहालप्रति व्यंग्य गरे ।

उनले भने, ‘एकेडेमीको डबलीमा जो भेट्यो त्यही । ए भाइ मन्त्री, प्रधानमन्त्री भइदेउन होऔ । शेरबहादुरजीलाई भेट्यो । दाई प्रधानमन्त्री भइदिनुपर्यो । महन्थजीलाई भेट्यो ए दाई प्रधानमन्त्री भइदिनुपर्यो । किनभन्दा कम्युनिष्ट सरकार ढाल्नुपर्यो क्या त्यसकारण शेरबहादुर भइदिनुपर्यो । यो देशलाई अगाडि बढाउन शेरबहादुरजी प्रधानमन्त्री बन्दिनुपर्यो । कम्युनिष्ट आन्दोलनलाई बचाउनका लागि । कम्युनिष्ट आन्दोलनको एकता बचाउन । यस्ता नक्कली कुरा गर्ने तत्वहरु अहिले पनि छन् । सलबलाई रहेका छन् । यी चुनौतीहरु अहिले पनि छन् । तर तपाईहरु ढुक्क रहनुहोस् यस्ता छद्भेषी, वामपन्थी विरोधी, कम्युनिष्ट विरोधी, प्रगतिविरोधी, अग्रगामी आन्दोलन विरोधी, राष्ट्रियता, लोकतन्त्र विरोधी तत्वहरूलाई सफलता साथ अगाडि जान दिइने छैन ।  यिनका गलत र अपराधिक उद्देश्यहरु सफल हुन सक्ने छैन ।’  

आफुहरुले जिताइदिएकाले अहिलेको हैसियत प्राप्त भएको भन्दै उनले केही दिनमा त्यो हैसियत पनि खोस्ने चेतावनी दिए । उनले भने, ‘सदस्यताबाट निस्कासन गरे धित पुर्याए हुन्छ । हामीले टाँसिदिएको जुँगा । अलिक दिनपछि त्यो जुँगा हामी निकाल्दिन्छौ त्यसपछि सक्कियो ।’

उनले नेकपा एमाले, कम्युनिष्ट, वामपन्थी र देश बनाउनेसँग नमिलेर दुई तिहाइको सरकार ढलाएर कम्युनिष्ट आन्दोलन समाप्त पार्न उद्त रहेको दाबी गरे । माओवादी अध्यक्ष प्रचण्डतर्फ इंगित गर्दै लोकतन्त्र विरुद्ध क्रान्तिका सपना देखाएर युद्धमा लागेको र कयौंलाई पीडा दिएकाहरु नै ‘मैले आफ्नालाई छोडेर अरुसँग मिलेछु’ भनेर भन्ने गरेको आरोप लगाए । प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘झण्डै दुई तिहाईको पार्टी फुटाएर यो सरकार ढाल्नलाई काँग्रेससँग बिन्तिपत्र लिएर जाँदा आफ्ना छोडियो कि छोडिएन ? अन्त गइयो कि गइएन ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप