बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कमलपोखरीको ८५ प्रतिशत काम सम्पन्न, पोखरीमा भरियो २० लाख लिटर पानी

सोमबार, ३० चैत २०७७, २० : २५
सोमबार, ३० चैत २०७७

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिएका छन् । वडा–१ का अध्यक्ष भरतलाल श्रेष्ठ, सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठ लगायतलाई साथमै लिएर पुनर्निर्माण भैरहेको कमलपोखरीको निरीक्षणका क्रममा सोमबार त्यहाँ पुगेका शाक्यले यस्तो निर्देशन दिएका हुन् ।

निरीक्षणका क्रममा प्रमुख शाक्यले जय धनञ्जय कँडेल निर्माण सेवा जेभीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलासँग पुनर्निर्माणको काममा ढिलासुस्ती भएको भन्दै असन्तुष्टि जनाउँदै पटक–पटक समयसिमा थप गर्ने पक्षमा महानगरपालिका नरहेको प्रष्ट पारे ।

 ‘काम जुन गतिका साथ हुनुपर्ने हो त्यो अनुसार भैरहेको छैन,’ शाक्यले भने, ‘पटक–पटक समय थप गर्ने र काममा ढिलासुस्ती गर्ने भन्ने हुँदैन । के–कति काम भएको छ । त्यो सबै विवरण मलाई तत्काल उपलब्ध गराउनुहोला । मलाई परिणाम चाहियो,’ उनले भने । 

शाक्यले निरीक्षणका क्रममा डिजाइन अनुसार तलमाथि नहुने गरी काम पनि निर्देशन दिए । प्रमुख शाक्यको निर्देशनपछि कम्पनीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलाले बढीमा दुइ हप्ता भित्र पुनर्निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरे । 

‘करीब ८५ प्रतिशत काम सम्पन्न भएको छ,’ उनले भने, ‘अब फिनिसिङ र बत्तीलगायतका काम बाँकी छ । त्यो पनि दुई हप्ता भित्र जसरी पनि सम्पन्न गरी हस्तान्तरण गर्छौ ।’ 

प्रमुख शाक्यले निरीक्षणकै क्रममा कमल पोखरीमा पानी भरणको काम भैरहेको जानकारी दिए । ‘चैत मसान्तसम्म काम सक्ने गरी हामीले ठेकेदार कम्पनीलाई अन्तिम मौका दिएका हौँ,’ शाक्यले पोखरीतिर देखाउँदै भने, ‘केही दिनभित्रै यो पोखरीमा पानी टनाटन बनाउने तयारीमा छौँ । हामीले पुनर्निर्माणकै क्रममा आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेका छौँ ।’ 

यस्तै काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठले अहिले पोखरीमा करीब २० लाख लिटर पानी हालेको जानकारी दिए । ‘पोखरीमा टनाटन पानी भर्न करीब साढे दुई करोड लिटर पानी आवश्यक पर्छ,’ उनले भने, ‘हामी केही दिनभित्रै पानी टनाटन पार्छौँ ।’
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप