शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकको ८ महिनाको रिपोर्ट : मुद्रास्फीति ३.०२ प्रतिशत, निर्यात ७.८ प्रतिशतले बढ्यो

सोमबार, ३० चैत २०७७, २१ : ३०
सोमबार, ३० चैत २०७७

नेपाल राष्ट्र बैंकले २०७७ फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशत रहेको जनाएको छ ।  अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४१ प्रतिशत रहेको पनि राष्ट्र बैंकले जनाएको छ । 

आर्थिक वर्ष २०७७÷७८ को आठ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ शीर्षकको राष्ट्र बैंकको तथ्यांकमा  २०७६ फागुनको तुलनामा २०७७ फागुनमा घ्यू तथा तेल, फलफूल, सुर्तिजन्य वस्तुहरु र दाल तथा गेडागुडी उपसमुहको मुल्यवृद्धि क्रमशः १९.९७ प्रतिशत, १३.६७ प्रतिशत, १०.४१ प्रतिशत र १०.१७ प्रतिशत रहेको उल्लेख छ । 

समीक्षा महिनामा काठमाडौं उपत्यकामा २.५० प्रतिशत, तराईमा ३.२५ प्रतिशत, पहाडमा ३.४० प्रतिशत र हिमालमा १.१४ प्रतिशत मुद्रास्फीति रहेको पनि बैंकको भनाइ छ । यस्तै २०७६ फागुनमा यी क्षेत्रहरुमा क्रमशः ७.६१ प्रतिशत, ६.८४ प्रतिशत, ५.५३ प्रतिशत र ५.४२ प्रतिशत मुद्रास्फीति रहेको थियो । २०७७ फागुनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.३० प्रतिशत रहेको छ भने अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.५७ प्रतिशत रहेको थियो । 

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि गत वर्षको सोही महिनाको तुलनामा क्रमशः ८.४५ प्रतिशत, ५.५९ प्रतिशत र ३.४७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ४.९२ प्रतिशत रहेको छ ।

फागुनमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.८९ प्रतिशतले बढेको देखिएको छ भने अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.५१ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकाङ्क २.४३ प्रतिशतले बढेको छ भने तलव सूचकाङ्क यथावत रहेको छ ।

वैदेशिक व्यापार 

यसैगरी आर्थिक वर्ष २०७७÷७८ को आठ महिनामा कुल वस्तु निर्यात ७.८ प्रतिशतले वृद्धि भई रु.८० अर्ब ७८ करोड पुगेको छ । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ११.३ प्रतिशत र २.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ४३.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, तयारी पोशाक, जुत्ता तथा चप्पल, जस्तापाता, तार, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ । 

आर्थिक वर्ष २०७७÷७८ को आठ महिनामा कुल वस्तु आयात २.१ प्रतिशतले वृद्धि भई रु.९४३ अर्ब ९९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ९.८ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः ७.१ प्रतिशत र १२.१ प्रतिशतले कमी आएको छ । 

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भडियो, टेलिभिजन तथा पार्टपूजा लगायतका वस्तुको आयात घटेको छ । 

निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ​ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । 

व्यापार घाटा बढ्यो

आर्थिक वर्ष २०७७÷७८ को आठ महिनामा कुल वस्तु व्यापार घाटा १.६ प्रतिशतले वृद्धि भई रु.८६३ अर्ब २१ करोड कायम भएको छ ।
 अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो । 

०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई फा​गुन मसान्तमा रु.१४३६ अर्ब ५४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ फागुन मसान्तमा ६.२ प्रतिशतले वृद्धि भई १२ अर्ब ३७ करोड पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप