शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पदमुक्त भएपछि सांसद रेग्मीले भने– ‘म माओवादी–एमालेको साझा उम्मेदवार हुँ’

सोमबार, ३० चैत २०७७, २२ : ४०
सोमबार, ३० चैत २०७७

सुर्खेत । माओवादी केन्द्रबाट कर्णाली प्रदेशसभा सदस्य बनेका दैलेखका सांसद धर्मराज रेग्मी  पदमुक्त भएका छन् । माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गरेका उनी सोमबार पदमुक्त भएका हुन् । रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको थियो । प्रदेशसभा सचिवालयले सो पत्र प्राप्त भएको  भनी सूचनामार्फत जानकारी गराएपछि उनी पदमुक्त भएका हुन् । 

पदमुक्त भएलगत्तै उनले आफु माओवादी केन्द्रको मात्रै नभई माओवादी केन्द्रको प्रस्ताव र  नेकपा एमालेको समर्थनमा उम्मेदवार भएको उल्लेख गरेका छन् । उनले भने, ‘म माओवादी–एमालेको साझा उम्मेदवार हुँ ।’ उनले  २०७४ सालको निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र – १, क बाट बाम गठबन्धनको साझा उम्मेदवारको रूपमा एउटै घोषणापत्र लिएर प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएको समेत बताए ।

रेग्मीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि निकै आक्रोश पोखे । उनले भने, ‘दैलेख त्यस्तो जिल्ला हो, जहाँबाट कमरेड प्रचण्ड र बाबुराम लखेटिएका थिए । त्यस्तो जिल्लामा मेरो नेतृत्वमा हामीले कुशलतापूर्वक निर्वाचनमा सफलता हासिल गरेका थियौं । चुनावको दौरानमा द्वन्द्वका विभत्स घटनाहरूको मैले जिम्मेवारीपूर्वक दैलेखी जनतासमक्ष माफी मागेको छु ।’ 

‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदको पद खारेज गर्दा स्पष्टीकरण समेत लिने अनिवार्य कानुनी व्यवस्थाको धज्जी उडाएर बाटो–बाटोबाट कमरेड प्रचण्डको सनकमा फालिने ब्यवस्था लोकतन्त्र होइन्,’ उनले भने, ‘लोकतन्त्रमा त्यो अधिकार अमुक नेतामा हुँदैन् । त्यसो त युद्धताका पार्टीमा  फरक मत राख्ने नेता कार्यकर्तामाथि ‘कोर्टमार्सल’ गरिन्थ्यो ।’ 

‘कमरेड प्रचण्डले मलाई उनको दलको दलीय जिम्मेवारीबाट च्यूत गर्न सक्नुहुन्छ तर, जननिर्वाचित निकायबाट होइन्’ उनले भनेका छन् ।  कमरेड आफै ३३ वर्षसम्म स्वघोषित पार्टी अध्यक्ष भएको तथ्य छर्लङ्ग छैन र ?’ प्रचण्डमाथि उनले प्रश्न गरे, ‘आफै टीका लगाएर अध्यक्ष हुने कमरेडले जननिर्वाचित प्रतिनिधिको पद खोस्न मिल्छ ?’ 

साथै उनले कर्णाली प्रदेशसभामा आफ्ना तीन वर्ष जनताको पक्षमा भएको पनि दावी गरेका छन् ।   रेग्मीले सरकारलाई प्रभावकारी बनाउन र समृद्ध कर्णालीको चाहाना पूरा गर्न आफ्नो पहलमा चाइना रेल्वेसँग हिल्सा–सुर्खेत फास्ट ट्र्याक निर्माणसम्बन्धी कार्य अगाडि बढेको, प्रदेश निर्माणपछि आफ्नै पहलमा मुख्यमन्त्रीको चीन भ्रमण सम्पन्न गराइएको दावी समेत गरे ।

अर्को एक प्रसंगमा उनले माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने तर, हामीले उनै ओलीलाई सहयोग गर्दा प्रचण्डको कारवाहीको भागिदार हुनुपर्ने भन्दै आक्रोश समेत पोखेका छन् ।    उनले भनेका छन्, ‘प्रचण्डले एमालेको मत लिएर चुनाव जित्न हुने, हामीले चाहिँ एमाले तीर उभिँदा पद छोड्नुपर्ने ? आफुले एमालेकै चुनाव चिन्ह सूर्य छातीमा टाँगेर निर्वाचन आयोग र माइतीघर मण्डलामा प्रहसन गर्दा अनुशासन उल्लङ्घन नहुने, हामीले सूर्यको पक्षमा उभिँदा पार्टी अनुशासन उल्लङ्घन हुने ?’ उनी एमाले कर्णाली प्रदेशको सचिव र केन्द्रीय सदस्यमा मनोनित भइसकेका छन् । 

रेग्मीको फेसबुकमा गरेको सार्वजनिक अपिल यस्तो छः
 

सार्वजनिक अपिल
आदरणीय दिदिबहिनी तथा दाजुभाइ 

म धर्मराज रेग्मी २०७४ सालको निर्वाचनमा दैलेख १,क.  बाट बाम गठबन्धनको साझा  उम्मेदवारको रूपमा एउटै घोषणापत्र लिएर प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएको थिए ।  म तात्कालीन नेकपा माओवादी केन्द्रको प्रस्ताव र  नेकपा एमालेको समर्थनमा उम्मेदवार भएको थिए । त्यसकारण म माओवादी– एमालेको साझा उम्मेदवार हुँ। दैलेखका जनताको भरोसाले म दैलेखमा निर्वाचन जित्ने माओवादी केन्द्रको पहिलो जनप्रतिनिधि हुँ दैलेखको कुनै पनि वडामा माओवादीले वडा अध्यक्ष÷ सदस्य समेत जितेको छैन । वास्तवमा म  माओवादीको शिला खोज्नुपर्ने ठाउँमा चुनाव जितेको पात्र हुँ ।

दैलेख त्यस्तो जिल्ला हो, जहाँबाट कमरेड प्रचण्ड र बाबुराम लखेटिएका थिए । त्यस्तो जिल्लामा मेरो नेतृत्वमा हामीले कुशलतापूर्वक निर्वाचनमा सफलता हासिल गरेका थियौं । चुनावको दौरानमा द्वन्द्वका विभत्स घटनाहरुको मैले जिम्मेवारीपूर्वक  दैलेखी जनतासमक्ष माफी मागेको छु। 

मलाई दैलेखी जनताले खुशी र भरोसाले मतदान गरेका हुन् र जरुरत परे फेरि जनताबाट  अनुमोदन हुने नैतिक तागत छ । जनताबाट प्रत्यक्ष निर्वाचित सांसदको पद खारेज गर्दा स्पष्टीकरण समेत लिने अनिवार्य कानुनी व्यवस्थाको धज्जी उडाएर बाटो– बाटोबाट जननिर्वाचित सांसदको पद कमरेड  प्रचण्डको सनकमा फालिने ब्यवस्था लोकतन्त्र होइन । लोकतन्त्रमा त्यो अधिकार अमुक नेतामा हुँदैन, त्यसो त युद्ध ताका पार्टीमा  फरक मत राख्ने नेता कार्यकर्ता माथि कोर्टमार्सल गरिन्थ्यो । लोकतन्त्रमा त्यस्तो गर्न मिल्दैन ।

कमरेड प्रचण्डले  मलाई उहाँको दलको दलीय जिम्मेवारीबाट च्युत गर्न सक्नु हुन्छ तर जननिर्वाचित निकायबाट होइन । कमरेड  आफै ३३ बर्षसम्म स्वघोषित पार्टी अध्यक्ष भएको तथ्य छर्लङ्ग छैन र ?? आफै टीका लगाएर अध्यक्ष हुने कमरेडले जननिर्वाचित प्रतिनिधिको पद खोस्न मिल्छ? ३५ हजार दैलेखी मतदाताको प्रतिनिधिलाई कसैको ठाडो आदेशले पदच्युत गर्न मिल्छ? लोकतन्त्रमा त्यस्तो अधिकार कुनै पनि कानुनले पार्टी नेताहरूलाई दिँदैन र दिनु हुँदैन पनि । त्यो जनतामा निहित सार्वभौमसत्ताको संवैधानिक मान्यताको बर्खिलाप हुन जान्छ ।

प्रदेशसभा सदस्यका रूपमा मेरा ३ बर्ष कर्णालीवासी जनताको सर्वोत्तम  हित, लोकतन्त्र, सुशासन, भ्रष्टाचार बिरोधी अभियान सञ्चालन र विधिको शासनको पक्षमा समर्पित रहे। मैले सभामा निर्भीक रूपमा जनताको पक्षमा आवाज बुलन्द गरेँ । सत्ताको अँध्यारो कोठरी भित्र घनिभूत रूपमा बढेको भ्रष्टाचारको बिरोध गरेँ ।

सरकारलाई प्रभावकारी बनाउन र समृद्ध कर्णालीको चाहाना पूरा गर्न मेरै पहलमा चाइना रेल्वेसँग हिल्सा सुर्खेत फास्ट ट्र्याक निर्माण सम्बन्धी  कार्य अगाडि बढाइयो । प्रदेश निर्माण पछि पहिलोपटक मेरै पहलमा  मुख्यमन्त्रीको चीन भ्रमण सम्पन्न गराइयो । सो सन्दर्भमा चीनको सिचुवानमा सम्पन्न “बेल्ट एन्ड रोड इनिसिएटिभ“ कन्फ्रेन्समा  प्रदेशको प्रतिनिधित्व गरियो । कर्णाली प्रदेशमा बाह्य लगानी भित्र्याउन अधिकतम प्रयत्न गरियो। सुर्खेत विमानस्थलको धावनमार्ग बिस्तारका लागि संघीय सरकारसँग समन्वय गर्न प्रारम्भिक वातावरण बनाउन निकै प्रयत्न गरियो।

प्रदेशसभाका सुरुआती दिनहरुमा  कानुन निर्माण, मस्यौदा लेखन, कतिपय प्रशासनिक काममा समेत अगुवाइ  गरियो । एउटा सदस्यको पद र भूमिकालाई अधिकतम न्याय दिइयो। सन २०१९ अप्रिलमा प्रदेशसभा सदस्यका रूपमा मुलुकको प्रतिनिधित्व गर्दै अमेरिकाको वासिङ्टनमा वर्ल्ड बैंक ग्रुपद्वारा आयोजित “ग्लोबल पार्लियामेण्ट्री कन्फ्रेन्समा“ सहभागी भएर  नेपाल जस्तो साना अर्थतन्त्र भएका राष्ट्रहरुको द्रुत विकासमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरियो।

निर्वाचन क्षेत्रमा सन्तुलित र समानुपातिक विकासमा जोड दिइएको छ। प्रदेश सरकारको राजनीतिक पूर्वाग्रहका बाबजुत पनि हालसम्म निर्वाचन क्षेत्र कोष समेतको परिचालन गरी २९ वटा विद्यालय  (९ निर्माणाधीन २० सप्पन्न)२ वटा क्याम्पस भवन, अस्पताल, सडक, खानेपानी र कृषि क्षेत्रमा उल्लेखनीय कामहरू सम्पन्न भएका छन् ।

एउटा सदस्यका रूपमा सभा, विधायन समिति, कार्यव्यवस्था समितिमा सक्रिय सहभागिता रहेको कुरा तथ्यहरूबाट स्पष्ट नै छ । मैले हमेसा पार्टीभन्दा माथि जनता र राष्ट्र हो भन्ने मान्यता राख्दछु । पार्टीहरू निर्माण र विनिर्माण हुन्छन् ।  एकता वा विभाजन हुन सक्छन् तर राष्ट्र कहिल्यै त्यो प्रक्रियाबाट गुज्रनु हुँदैन ।

म त्यही ठानेर जनताको पक्षमा निर्भीकतापूर्वक बोलेँ । त्यसो गर्दा पार्टीको सीमाभन्दा माथि उठ्नै पर्थ्यो । त्यसो गर्दा मेरो पद रहला कि नरहला भनेर मैले कहिल्यै कोहीसँग सम्झौता गरिन र भविष्यमा पनि त्यो गरिँदैन । 
 म काठमाडौंमा जमेको वकालत चटक्कै छोडेर दैलेखमा पहिले नै हार्ने घोषणा गरिएको निर्वाचन लड्न  हानिँदा मैले दैलेखी जनताको मुहारमा खुशी फर्काउने अभिलाषा बोकेको थिए, र म निर्वाचित भएपछिको  लडाइँ त्यही जन अपेक्षाको  कडी थियो।

त्यसो त नेकपा विवाद कमरेड प्रचण्डको तत्कालै प्रधानमन्त्री हुने  र माधव कमरेडको अध्यक्ष हुने लालसाको परिणाम उत्पन्न कृत्रिम विवाद थियो ।  यसको प्रहसन  काठमाडौमा गरिए पनि रिमोट ब्रसेल्स र नयाँ दिल्लीमै थियो।
पार्टी नेतृत्वमाथि कम्फरटेवल कमरेडहरुले चौतर्फी हमला गरिरहेकै  बखत हामीले पार्टी र सरकारको नेतृत्वको रक्षाको खातिर प्रधानमन्त्री केपी वलीलाई समर्थन गरेका हौं। घटनाक्रम तीब्रतर रूपमा विकास हुँदै गए । प्रधानमन्त्रीले अनेक बाह्य प्रतिकूलतालाई जनता, कार्यकर्ता र  घरेलु शक्तिहरूको तागतमा  निस्तेज पार्नुभयो ।

एकातिर माओवादीले वली सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने तर हामीले उनै वलीलाई सहयोग गर्दा प्रचण्डको कारवाहीको भागिदार हुनु पर्ने ? प्रचण्डले एमालेको  मत लिएर चुनाव जित्न हुने, हामीले चाहिँ एमाले तिर उभिदा पद छोड्नु पर्ने?  आफुले एमालेकै  चुनाव चिन्ह  सूर्य छातीमा टाँगेर निर्वाचन आयोग र माइतीघर मण्डलामा प्रहसन गर्दा अनुशासन उल्लङ्घन नहुने, हामीले सूर्यको पक्षमा उभिदा पार्टी अनुशासन उल्लङ्घन हुने ? वाह कमरेड! तपाईंले सर्वाेच्च अदालतमा पुनरावलोकन दर्ता गर्दा नेकपा बनाइदिन अनुनय गर्ने अनि हामीलाई चाहिँ माओवादी बनेनन् भनेर छ्डी लगाउने ? यो कुन नैतिकता हो कमरेड !

अतः म हमेशा दैलेख र कर्णालीका उत्पीडित जनता, प्रदेश र देशको पक्षमा दृढतापूर्वक उभिएको छु र उभिदै जानेछु। जनप्रतिनिधिका रूपमा मेरो ३ बर्ष इमान, निष्ठा, दृढता र जनअधिकारको रक्षकका रूपमा बितेका छन् । मलाई जनताले गरेको माया, विश्वास र भरोसाको पक्षमा खरो रूपमा  म उभिएकै छु । म सदनमा हुने र नहुने कुराले जनताप्रतिको उतरदायित्वमा कमी आउँदैन । म जनतासँग समर्पित छु र रहिरहने छु । 

प्रदेश सभा सदस्य निर्वाचित गराउने दैलेखी जनता, मेरा आदरणीय मतदाता,  सञ्चार माध्यम, प्रदेश सभाका पदाधिकारी,कर्मचारीहरू, राजनीतिक दल, समर्थक, शुभचिन्तक र प्रियजनहरूप्रति आभार तथा धन्यवाद प्रकट गर्दछु । साथै यहाँहरू सबैमा नयाँ वर्ष २०७८ को हार्दिक शुभकामना ब्यक्त गर्दछु । 

मिति २०७७ चैत्र ३० ।
धर्मराज रेग्मी 
भगवतीमाई ३ मेहेल्तोली, दैलेख

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप