शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पश्चिम बंगाल चुनाव–मोदीको भाजपाले 'दिदी'को गढ भत्काउला ?

मङ्गलबार, ३१ चैत २०७७, १५ : ४६
मङ्गलबार, ३१ चैत २०७७

पश्चिम बंगालको चुनाव सधैं नयाँ लहर र उत्साह लिएर आउँछ । अहिले यहाँ, २ सय ९४ सिटका लागि आठ चरणमा निर्वाचन भइरहेको छ । २७ मार्च, १ अप्रिल, ६ अप्रिल र १० अप्रिलमा गरी चार चरणमा अहिलेसम्म १ सय ३५ सिटमा मतदान भइसकेको छ । बाँकी १ सय ५९ सिटमा १७ अप्रिल, २२ अप्रिल, २६ अप्रिल र २९ अप्रिलमा मतदान हुनेछ ।

चुनावमा व्यस्त कोलकातामा यसपटक केसर (भाजपाको झन्डाको रंग) पनि बिस्तारै टल्कँदै छ । पहिले पुरै शहरमा ममता बेनर्जी दिदीका ठूलाठूला होर्डिङ र पोस्टर थिए । अहिले प्रधानमन्त्री नरेन्द्र मोदीले हात जोडेका केही होर्डिङ र भाजपाको चुनाव चिन्ह कमल पनि देखिन्छ । तृणमुलको फूल चुनाव चिन्हबीच मोदीको कमल फक्रनु पनि एक ठूलो परिवर्तन हो । नत्र त, पुरै दिदीमय बनेको कोलकाताको नगर निगममा  भाजपाको होर्डिङ वा झण्डा गाड्ने कसको हिम्मत ?

भाजपाको चाणक्य नीति

बंगाल भाजपाका पूर्व अध्यक्ष र हाबन्डाबाट भाजपाका उम्मेदवार रहेका राहुल सिन्हा टिएसमीका लागि यसपटक बाटो सहज नरहेको बताउँछन् । भाजपाले आफ्नो रणनीति चाणक्यको जसरी तयार गरेको छ । भाजपाले लामो समयदेखि बंगालमा सक्रियता देखाइरहेको थियो । ममता बेनर्जीका दायाँ हात मानिने मुकुल रायलाई भाजपामा ल्याउनु अमित शाहको एउटा ठूलो सफलता हो । बंगालको राजनीतिलाई राम्रोसँग बुझ्नेहरु मुकुल रायलाई तृणमूल कांग्रेसको यशोदामान्छन् । भलै, बेनर्जीले यसलाई जन्म दिइन् यशोदा मैय्याले जसरी हुर्काउने काम मुकुलले गरेका हुन् ।

जमिनमा ठूलो संख्याका कार्यकर्ता नभएपनि दिनेश त्रिवेदीको छविपनि बंगालको भद्रलोकमा राम्रो छ, उनी पनि बेनर्जीलाई छाडेर भाजपामा आइसकेका छन् ।

भलै, सौरभ गाङ्गुलीलाई भाजपा ल्याउने नेताहरुको प्रयास सफल हुन सकेन । यद्यपि, भारतीय क्रिकेट बोर्डको अध्यक्ष नियुक्त गरेर भाजपाले उनलाई नरम बनाउने चाल चलेको छ ।

यद्यपी, पश्चिम बंगालमा भाजपाको टिकट वितरण विवादरहित बन्न सकेन । पुराना कार्यकर्ताहरु अहिलेको भाजपाले अटल बिहारी बाजपेयी र लालकृष्ण आडवाणीको आर्दश नबोक्ने बताउँछन् ।

 ‘यो अर्कै भाजपना हो,’ उनीहरु भन्छन् । टिकट वितरणमा पुराना स्थानीय नेताहरु मारमा परेका छन् । टिकट उसैलाई दिइएको छ, जसले तृणमुल कांग्रेसका उम्मेदवारलाई कडा चुनौती दिनसक्ने अनुमान छ । विगत १० वर्षदेखि तृणमुल कांग्रेस सत्तामा छ र बांग्ला फिल्मका कलाकार तथा टेलिभिजन सेलेब्रिटीहरु ममता दिदी निकट छन् ।

भाजपाले यसलाई काउन्टर दिनका लागि बांग्ला भाषाकै अनेक सेलिब्रेटीहरुलाई पार्टीमा समावेश गराएर टिकट दिएको छ । बुद्धिजीविहरु उठेका ठाउँमा बुद्धिजीवी र शक्तिशालीहरु उठेका ठाउँमा शक्तिशालीहरुलाई नै चुनावमा उठाएको छ । त्यसकारण आफ्नो इलाकामा निकै खराब छवि भएकाहरु पनि यसपटक भाजपाबाट उम्मेदवार बनेका छन् । त्रिणमुल कांग्रेस पनि कम छैन, २४ परगनाको कुलतोली सिटमा तृणमुलले निकै शक्तिशाली मानिएका गणेश मन्डललाई टिक दिएको छ, उनी तृणमुल युवा कांग्रेसका अध्यक्ष हुन् । यी व्यक्तिमाथि बलात्कार, हत्या, धम्कीलगायत मुद्दा लागेको छ । 

कमजोर वामपन्थी र कांग्रेस

निकै छोटो समयमै भाजपा बंगालमा एक ठूलो शक्ति बनेर उदाएको हो । अहिले तृणमुल कांग्रेसलाई चुनौती दिने ऊमात्रै छ । भारतको सबैभन्दा पुरानो पार्टी कांग्रेस आईको केन्द्रीय नेतृत्वलाई बंगालको चुनावमा खासै चासो लागेको देखिन्न । कांग्रेसका उम्मेदवार यहाँ बेहाल र हैरान छन् । कोही पनि ठूलो नेता चुनाव प्रचारका लागि बंगाल आएनन् भन्ने उनीहरुको गु्नासो छ । 

राहुल गान्धीले आफूलाई केवल केरलासम्मकै सिमित गरेका छन् । पार्टीलाई आर्थिक सहयोग पनि कसैले गरेको छैन । कम्तिमा, कोलकाता शहरमा कांग्रेसको चुनाव प्रचार छैन भनेपनि हुन्छ । उता, झन्डै चार दशकसम्म बंगालमा राज गर्ने कम्युनिष्ट पार्टी अफ इन्डिया (सिपिएम) पनि कमजोर देखिएको छ । यो पार्टी भाजपाप्रति नरम र तृणमुलविरुद्ध कडा देखिएको छ । सिपिएमका नेताहरुले तृणमुल कांग्रेस नै आफ्नो पहिलो दुश्मन रहेको खुलेयाम बताइरहेका छन् । पहिले तृणमुललाई हराएपछि भाजपालाई हराउन सकिने उनीहरु बताउँछन् ।

१९८० देखि २०११ सम्म सिपिएमलगातार बंगालको सत्तामा थियो । २०११ मा यो पार्टीलाई ४० सिटमै खुम्चाएर १ सय ८४ सिट जितेको तृणमुलले २०१६ मा २ सय ११ सिट जितेको थियो ।

तर यसपटक दिदी चारैतर्फबाट घेरिएकी छिन् । यद्यपी, क्षेत्रीय मुद्दा उठाउने गरेकाले बंगालमा उनको भोट बैंक बलियो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप