बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ वर्षको पूर्व सन्ध्यामा नगरकोटमा चहलपहल बढ्यो

मङ्गलबार, ३१ चैत २०७७, १६ : ३५
मङ्गलबार, ३१ चैत २०७७

नगरकोट । नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय क्षेत्र नगरकोटमा आन्तरिक पर्यटकको बाक्लो चहलपहल देखिएको छ ।  नगरकोटमा तारेदेखि साना गरेर ६७ वटा होटल सञ्चालनमा रहेका छन्  ती होटलमा कार्यरत रहेका १ हजार ३ सय जना कर्मचारी र श्रमिकहरुको काम गर्दै आइरहेका छन् । कोरोनाको त्रास केही देखिए पनि होटलहरूमा पर्यटकको बुकिङ राम्रो भएको होटल व्यवसायीहरुले जानकारी दिएका छन् । 

स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्दै नगरकोटका होटल पाहुनाको स्वागतमा जुटिसकेका छन् । होटलमा बस्ने आउनेहरुलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिन हरेक होटलले मुख्य प्रवेशद्वारमा नै सेनिटाइजरको व्यवस्था गरेका हुन् । 
होटल क्लब हिमालयका ज्ञानु वाइवाले होटल पूर्ण बुकिङ भएको बताए । रातोपाटीसँग कुरा गर्दै भने, ‘हामीले पाहुनाहरूलाई रोजाई अनुसारको प्याकेज उपलब्ध गराएका छौं ।’

उनका अनुसार होटलले १५, १६, १८ हजार रुपैयाँको प्याकेज जोडीलाई राखेको छ । होटलले खाना, नास्ता, सांगीतिक कार्यक्रम त्यसमा समेटेको छ ।  होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानेका अनुसार सोधखोज र जानकारी लिने धेरै भएका र बुकिङ मध्ययम रहेको छ । उनको होटलले ४५ सयदेखि ६ हजार सम्मको प्याकेज बनाएको छ । जसमा पाहुनाले आफ्नो रुचिअनुसारको कोठामा बस्न सक्नेछ । 

यता तारे स्तरको होटल मिस्टीक माउण्टेनका म्यानेजर धिरज तामाङले पनि होटल पूर्ण बुुकिङ्ग भएको जानकारी दिएका छन् । यस होटलले पनि जोडीलाई १७ हजारको प्याकेज उपलब्ध गराएको छ । 

स्थानीयको जीवनस्तर उकास्न पहल आवश्यक

स्तरोन्नतीको क्रममा रहेको भक्तपुर–नगरकोट–कुन्ताबेसी सडक खण्डलाई सम्पन्न गर्न नसक्नु ठुलो असर हो । केही किलोमिटर सडक पिच भएपनि पूर्ण रुपमा निर्माण हुन सकिरहेको छैन ।  स्थानीयको जिवन यापनलाई सुधार गर्दै ग्रामीण पर्यटन र आर्थिक रुपमा अगाडि बढाउन तरकारी खेती, पशुपालन, होमस्टे, सीपमुलक तालिम दिन जरुरी छ ।

वनभोज खान नगरकोट जानेको संख्या धेरै भएपनि पानी र शौचालयको अभाव अझै पनि छ । त्यसैले सामान्य शूल्क लिएर ती आवश्यकताको पुरा गर्नुपर्दछ । एक रात बस्ने स्वदेशी पाहुनालाई दुई रात र विदेशी पाहुनालाई चार रात बस्ने वातावरण बनाउने हो भने सबैलाई फाइदा हुन सक्छ ।

तामाङ, गुरुङ, क्षेत्री, बाहुनलगायतका समुदायको बसोबास रहेको यस क्षेत्र वरपर स्थानीय कला संस्कृतिको जगेर्ना गर्दै ती कुरा पर्यटकलाई देखाउन जरुरी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप