शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ वर्ष २०७८ सुरु, राष्ट्रपतिदेखि सभामुखसम्मले शुभकामना दिँदै के–के भने ?

बुधबार, ०१ वैशाख २०७८, १० : ००
बुधबार, ०१ वैशाख २०७८

विक्रम संवत् २०७८ बुधबारदेखि सुरु भएको छ । विश्वभरका नेपालीले एकापसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष हर्षोल्लास साथ मनाउँदैछन् । 

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराईले बताए । 

नयाँ वर्षको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डसहित विभिन्न दलका नेताले शुभकामना दिएका छन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै देशबासीको नाममा सम्बोधन गर्दै नयाँ वर्षको शुभकामना दिएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७७  राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताएकी छिन् ।  नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना  सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलहरूबीचमा मतैक्य कायम हुनु, केही राजनीतिक समूह सशस्त्र विद्रोहको बाटो परित्याग गरी शान्तिपूर्ण मार्गमा आउनु महत्वपूर्ण राजनीतिक उपलब्धि भएको उल्लेख गरेकी छिन् । 

उनले संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरिनु, विश्व खुशी प्रतिवेदन–२०२१ मा नेपाललाई दक्षिण एशियाको सबैभन्दा खुशी मुलुकको रूपमा उल्लेख गरिनु, कोभिड–१९ महामारीविरुद्ध सरकारले अवलम्बन गरेको प्रभावकारी प्रतिकार्य रणनीतिका कारण मृत्युदरलाई अन्य मुलुकको तुलनामा न्यून राख्न सफल हुनु, समयमै कोरोनाविरुद्धको खोप अभियानको थालनी हुनुजस्ता कार्य सकारात्मक उपलब्धि भएको जनाएकी छिन् । 

उनले कोरोना कहरको बीचमै रानीपोखरी, दरबार हाईस्कूललगायत भूकम्पबाट क्षतिग्रस्त भएका ऐतिहासिक संरचनाको पुनःनिर्माण सम्पन्न हुनुका साथै चिर प्रतिक्षित मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँमा पानी वितरण शुरु गरिनुलाई २०७७ सालका उल्लेखनीय सामाजिक आर्थिक उपलब्धिको रूपमा लिन सकिने पनि जनाएकी छिन् । 
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसको महामारी नेपालमा चाँडै नियन्त्रण हुने र प्रतिकूलताको बीच पनि देश ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न निरन्तर अगाडि बढिरहने विश्वास व्यक्त गरेका छन् । 

आफ्नो शुभकामना सन्देशमा उनले देश–विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु–स्वास्थ्य, उत्तरोत्तर प्रगति एवं राष्ट्रको निरन्तर समुन्नति र समृद्धिका लागि कामना गर्दै भनेका छन्, ‘विसं २०७८ शुभारम्भसँगै हामीले २०७७ लाई बिदाइ गरेका छौँ । बितेका वर्ष हाम्रा लागि सुखद् रहन सकेन । विश्वव्यापी महामारी कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन बीच स्वागत गरिएको २०७७ सालभरि हामीले महामारीको असर भोगिरह्यौँ ।”
 
अर्थतन्त्रका सबै क्षेत्रमा महामारीको असर पर्दा गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ऋणात्मक बन्न पुगेको स्मरण गर्दै उपराष्ट्रपतिले महामारीकै कारण लाखौँलाख विद्यार्थीले विद्यालयको कक्षाकोठामा पुग्न नपाएको उल्लेख गरेका छन् । 

जस्तोसुकै प्रतिकूलता, कठिन परिस्थिति र पीडामा पनि मुस्कुराउन सक्ने हामी नेपालीको विशेषता भएको  स्पष्ट पार्दै उनले विषम परिस्थितिका बीच हाम्रो घरआँगनमा आइपुगेको नयाँ वर्ष स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णरुपमा पालना गरेर हर्षका साथ मनाउन आग्रह गरेका छन् ।  
यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूबीच नयाँ वर्ष प्रारम्भसँगै नयाँ समन्वय र समझदारी कायम हुने अपेक्षा गरेका छन् । अग्रगामी निकासका लागि हाम्राबीचमा दृढ संकल्प आवश्यक रहेको भन्दै सभामुखले प्रतिबद्धताहरू व्यवहारमा देखिए मात्रै विश्वासको आधारशिला तयार हुने बताए । 

उनले  संसद्लाई जीवन्त र जनमुखी बनाउन सङ्घीय संसद्को नेतृत्वको हैसियतले सबैखाले पहल र प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त ग गरेका छन् । उनले भनेका छन्, “हामीले मानव सभ्यता र अस्तित्वलाई नै चुनौती खडा हुने गरी फैलिएको कोभिड–१९ को महामारी, ठूला ठूला प्राकृतिक विपत्ति र संवैधानिक सङ्कट ब्योहोरेर विक्रम सम्वत् २०७७ साललाई बिदा गरेका छौँ ।”

सङ्कट अझै टरेको छैन भन्दै सभामुखले हामीले गत वर्षभन्दा अझ बढी सजक र सतर्क भएर अघि बढ्नुपर्ने अवस्था रहेको तथा महामारीविरुद्ध सङ्घर्ष जारी रहेको स्पष्ट पारेका छन् ।  सभामुखले अनुशासित भएर कोभिड–१९ लाई जित्ने प्रणसहित शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाउन सबैलाई आग्रह पनि गरेका छन् 
यसैगरी राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले पनि नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेका छन् । 
यस्तै काँग्रेस सभापति शेरबहादुर देउवाले मुलुकमा फेरि पनि कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी सुरक्षितरूपमा नयाँ वर्ष मनाउन सबैलाई आग्रह गरेका छन्।

नयाँ वर्ष २०७८ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले अनिवार्यरूपमा मास्क, स्यानेटाइजरको प्रयोग गर्नुका साथै भौतिक दूरी कायम गर्ने, भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेरलगायत कार्यक्रम नगरी सुरक्षितरुपमा नयाँ वर्ष मनाउन आग्रह गरेका हुन्।

विसं २०७७ को वर्ष सम्पूर्ण विश्व नै प्राणघातक कोरोना भाइरसबाट आक्रान्त रहेको र नेपाल पनि यसबाट प्रभावित हुन पुगेको उल्लेख गर्दै देउवाले कयौँ नेपाली दाजुभाइले स्वदेश र विदेशमा महामारीका कारण जीवन गुमाउनुका साथै ठूलो सङ्ख्यामा नागरिक प्रताडित हुनुपरेको बताएका छन्।

कोभिड–१९ ले आम नागरिकको दैनिक जीवनमा ठूलो असर पुर्‍याउनुका साथै उद्योग, व्यापार, विद्यालयलगायत धेरै क्षेत्र नराम्रोसँग प्रभावित भएको र काँग्रेसले जिम्मेवार प्रतिपक्षी दलका रुपमा चुनौतीलाई सामना गर्न सरकारलाई सम्पूर्णरुपले सहयोग गरेको उनको भनाइ छ।

सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा प्रभावकारी रुपमा काम गर्न नसकेका बाबजुद पनि नेपाली जनताले लकडाउनको पालना गर्दै भौतिक दूरी कायम गरेर उच्च सतर्कता अपनाएर अत्यन्त संयम र एकताका साथ कोभिडविरुद्ध लडिरहेको देउवाको भनाइ छ ।

देउवाले आमनेपाली नागरिकको सात दशक भन्दा लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त नेपालको संविधानको कार्यान्वयन र संरक्षणका लागि सबै राजनीतिक दलबीच हार्दिक एकता कायम गर्दै लोकतन्त्रमा आधारित समतामूलक र समृद्ध नेपाल निर्माणमा अगाडि बढ्न सबैका लागि नयाँ वर्ष प्रेरणादायी बन्न सकोस् भन्ने कामना गरेका छन्।

उनले यो वर्ष विश्वले कोभिड–१९ माथि पूर्णरूपले विजय पाउन सफल हुनेछ भन्ने विश्वासका साथ स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।
यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्तिविरुद्ध लड्ने सामथ्र्य पैदा हुने  विश्वास व्यक्त गरेका छन् ।  उनले कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम ऐक्यबद्धताका लागि अपिल गरेका छन् ।

नेपाली जनताको आकांक्षा र पार्टी नेतृत्वको दूरगामी सोचका कारण कम्युनिष्ट पार्टीहरूबीच एकता कायम भएको उल्लेख गर्दै उनले कम्युनिष्ट पार्टीबीचको एकतालाई प्रतिगामी प्रतिक्रियावादीले षड्यन्त्रमूलक ढङ्गले विभाजन गरेको स्मरण गरेका छन् । 

देशलाई अग्रगतिमा लैजान र जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार गठन अपरिहार्य भएको स्पष्ट पार्दै अध्यष दाहालले सबै पक्षलाई  एकताबद्ध हुन आह्वान गरेका छन् । उनले सन्देशमा भनेका छन्,, “अबको हाम्रो समाजवाद कस्तो हुने,  यसको अर्थनीति र राजनीति कस्तो हुने र राज्य संरचना कस्तो हुने भन्ने प्रश्नको जवाफ हामीले दिनुपर्ने भएको छ । वर्ग सङ्घर्ष, उत्पादनका निम्ति सङ्घर्ष र वैज्ञानिक प्रयोगजस्ता समाज विकासका नियमलाई आत्मसात् गर्दै विचारको विकास गर्न पनि उत्तिकै आवश्यक छ ।”


यसैबीच बुधबारको सम्बोधनमार्फत प्रधानमन्त्री ओलीले सरकारले जनतामा आशा जगाउने कामहरु गरेको बताएका छन् । ओलीले केही पनि भएको छैन भन्दै जनतालाई निराश बनाउने प्रयासहरु भए पनि सरकार त्यसबाट किञ्चित् विचलित नभएको बताए । 

यस्तै सातै प्रदेशका मुख्यमन्त्रीहरुले पनि नयाँ वर्षको अवसरमा शुभकामना दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप