शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागलुङका ३० वनमा डढेलो

बिहीबार, ०२ वैशाख २०७८, १४ : ३६
बिहीबार, ०२ वैशाख २०७८

बागलुङ । गर्मीयाम शुरु भएसँगै दैनिकजसो आगलागीका घटना भइरहेका छन् । पछिल्लो समय बागलुङमा ३० वटा वनमा आगलागी भएको छ । विभिन्न वन तथा घर गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । जिल्ला डिभिजन वन कार्यालयका अनुसार जिल्लाका  ३३० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । ढोरपाटन शिकार आरक्षका बुँकी क्षेत्र, गलकोटको घुम्टे, रेश सिगानाको बुछुङ सल्लेरी सामुदायिक वन, मालिका सामुदायिक वनसहितका आगलागी भएको सो कार्यालयका सहायक वनअधिकृत मदन कँडेलले जानकारी दिए । लामो समयको खडेरी र मानवीय लापरवाहीका कारण वर्षेनी आगलागीका घटना हुने गरेको उनको भनाइ छ । 

जिल्लामा सबैभन्दा बढी काठे खोलाको धम्जा, गलकोट र बरेङ गाउँपालिकाको जङ्गलमा आगलागी भएको सहायक वन अधिकृत कँडेलले बताए । ‘लामो समयदेखि खडेरी परेको छ, खडेरीले गर्दा सबै पात पतिङ्गर र काठजन्य वस्तु सुकेका हुन्छन्, थोरै सर्तकता नअपनाउँदा आगलागी भइहाल्छ, यस्तो समयमा निकै संयमता अपनाउनुपर्छ’ उनले भने, ‘स्थानीयवासी सचेत नभएसम्म आगलागीका घटना भइरहन्छ ।’ 

नेपालमा डढेलो ९५ प्रतिशत मानवीय कारणले लाग्ने गरेको पाइएको छ । बागलुङमा अन्य कारणभन्दा मानवीय लापरबाहीका कारणले गर्दा आगलागीका घटना हुने गरेको सहायक वन अधिकृत कँडेलले बताए । आगलागीको घटना न्यूनीकरणका लागि कार्यालयले समुदायमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको उनको भनाइ छ । चालू आर्थिक वर्षको हालसम्म आगलागीबाट रु एक करोड ८७ लाख ६३ हजार ५०० बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
 
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकबाल हवारीका अनुसार आठ महिनाका अवधिमा आगलागीमा परी तीन जना घाइते, २९ चौपायाको मृत्यु र १८ चौपाया घाइते भएका छन् । त्यस्तै १९ घर र १५ गोठ पूर्णरुपमा जलेर नष्ट भएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप