शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘सीजीले व्यावसायिक दौरानमा पछाडि फर्केर हेर्नुपरेको छैन’

सीजीका ब्रान्ड म्यानेजर दिवाकर नगरकोटीसँगको कर्पोरेट वार्ता
बिहीबार, ०२ वैशाख २०७८, १७ : १५
बिहीबार, ०२ वैशाख २०७८

चौधरी ग्रुप अफ कम्पनी (सीजी) नेपालकै एक प्रतिष्ठित कम्पनी हो । अन्तर्राष्ट्रिय व्यापार व्यवसायदेखि उत्पादनसँग समेत जोडिएको यो कम्पनीले अहिलेसम्ममा ४० भन्दा बढी कम्पनीमा करिब साढे १७ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष लगानी गरेको छ । कम्पनीले खाद्य तथा पेय पदार्थ, विद्युत् तथा घरेलु प्रयोगका विद्युतीय उपकरण, बियर, चुरोट, वित्तीय संस्था, पूर्वाधार, होटल, आवास विकास, अटोमोबाइल, अस्पताल, स्कुललगायतका दर्जनौँ क्षेत्रमा लगानी गरेको छ ।

तीमध्ये कम्पनीको सबैभन्दा लोकप्रिय उत्पादन वाइवाई चाउचाउ हो । यो उत्पादन नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा समेत निकै परिचित छ ।

त्यसो त कम्पनीका अन्य उत्पादन बजारमा परिचित नै छन् । यस्तैमा कम्पनीले सन् २००६ देखि नै नेपाली बजारलाई लक्षित गर्दै आफ्नै ब्रान्डमा होम अप्लाएन्स, इलेक्ट्रोनिक्स अर्थात् विद्युतीय सामग्रीसमेत दिँदै आएको छ । घरायसी प्रयोजनमा प्रयोग हुने, सामान्य आइरन, ओभन, मिक्चर फ्रिजदेखि उच्च प्रविधियुक्त टेलिभिजन, मोबाइलसम्मको उत्पादन दिइरहेको छ ।

प्रस्तुत छ सीजी ब्रान्डका विशेष इलेक्ट्रोनिक्स प्रोडक्टहरुका बारेमा कम्पनीका ब्रान्ड मेनेजर दिवाकर नगरकोटीसँग रातोपाटीले गरेको सङ्क्षिप्त कर्पोरेट वार्ता :

पछिल्लो समय सीजीको बजार कस्तो छ ? कसरी अघि बढ्दै हुनुहुन्छ ?

समग्र बजारको कुरा गर्ने हो भने सीजीको बजार एकदमै राम्रो छ । व्यवसायमा हामीले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । गत वर्षभन्दा यो वर्ष र यो वर्षभन्दा आउने वर्ष वार्षिक रूपमा हामीले व्यावसायिक सफलता हात पार्दै आएका छौँ । सीजी कम्पनी त्यसै पनि उपभोक्ताको रोजाइमा छ । साथै हाम्रो उत्पादनको उत्कृष्टताको टार्गेट हरेक वर्ष पूरा गर्दै आएका छौँ ।

विशेषतः सीजीको इलेक्ट्रोनिक्स बजार कस्तो छ ? हाल कम्पनीले कस्तो कस्तो प्रोडक्टलाई बजारमा फोकस गर्दै छ ?

हाल नेपाली बजारमा सीजीको आफ्नै ब्रान्डमा ३५ भन्दा बढी इलेक्ट्रोनिक्स उत्पादनहरु छन् । त्यसमा सामान्य आइरन, माइक्रोओभनदेखि उच्च प्रविधिका फ्रिज, टीभी मोबाइलसम्म पनि सीजीले उत्पादन गरिरहेको छ । यस्तो प्रोडक्टहरु कम्पनीको आफ्नै लोगोमा बजारमा पठाइरहेको छ । यी प्रोडक्ट नेपाली उपभोक्ताहरुले पनि अति नै रुचाइरहेका छन् । उत्कृष्ट उत्पादन, बलियो र किफायती भएकै कारण उपभोक्तामाझ सीजी लोकप्रिय भएको हो । त्यसो त कम्पनीले उत्कृष्टतामा कुनै सम्झौता गरेको छैन । यो नै हाम्रो सफलता हो ।

कम्पनीले यी प्रोडक्ट स्वदेशमै उत्पादन गर्छ कि एसम्बलिङ मात्र ?

कम्पनीले गर्ने भनेको त एसम्बलिङ नै हो । विश्व बजारमा पाइने कच्चा पदार्थहरुलाई सङ्कलन गरेर तयारी उत्पादन दिने हो । कम्पनीको आफ्नै उत्पादन भए पनि यी प्रोडक्टहरु अधिकांश बाहिर नै एसम्बलिङ हुन्छन् । केही समयअघिसम्म टेलिभिजनको एसम्बलिङ नेपालमै हुन्थ्यो । तर अहिले त्यो पनि बाहिर नै गरिन्छ । विशेषगरी भारत, चीन, इन्डोनेसिया, बैङ्कक, ताइवानमा सीजीका प्रोडक्ट एसम्बलिङ हुने गर्छन् ।

नेपाली बजारले बढी रुचाएको सीजी प्रोडक्ट चाहिँ कुन हो ?

प्रायः सीजीका सबैजसो प्रोडक्ट नै बजारले रुचाएको छ । यसमा यो वा त्यो भन्ने नै छैन । बिक्रीका हिसाबले केही तलमाथि त अवश्य नै छन् । त्यसमा अहिलेसम्म धेरै बजारले रुचाएको र धेरै बिक्री हुनेमा सीजी चेस फिचर्स (कोल्ड स्टोरका लागि प्रयोग हुने फ्रिज) नै हो । यो उपभोक्ताहरुले अति नै मन पराएको पाएका छौँ । त्यसो त अन्य उत्पादन मन नपराउने भन्ने होइन । अन्य सीजीका टिभी, फ्रिजहरु पनि बजारमा निकै रुचाइएको छ । सिजनअनुसारका सबै खालका सीजी प्रोडक्टहरुको राम्रै व्यापार हुने गरेको छ ।

वार्षिक कति छ कारोबार ?

यति नै भन्ने त छैन तर हामीले हरेक वर्ष एउटा वार्षिक टार्गेट राखेका हुन्छौँ । त्यो सहजै पूरा छ । गत वर्ष हामीले १५० करोडभन्दा माथिको व्यावसायिक टार्गेट राखेका थियौँ । त्यो पूरा भयो । यो वर्षलाई हामीले झण्डै २०० करोड अर्थात् १९० करोडको टार्गेट राखेका छौँ । यो पनि पूरा हुनेमा हामी विश्वस्त छौँ । किनभने आर्थिक वर्षलाई नै आधार बनाएर टार्गेट राखिने भएकाले यो वर्ष पूरा हुन अझ तीन महिना जति बाँकी नै छ । पूरा हुनेमा ढुक्क छौँ ।

बजार प्रतिस्पर्धा अर्थात् अन्य ब्रान्डसँगको प्रतिस्पर्धा कतिको छ नि ?

ग्लोबल मार्केट हो, प्रतिस्पर्धा त भइ नै हाल्छ नि । प्रतिस्पर्धी नहुने हो भने त एकाधिकार भइहाल्छ नि । तर पनि हामीलाई समस्या छैन । सीजी ब्रान्ड आफैमा उत्कृष्ट ब्रान्ड भएकाले बजारमा हामीलाई गाह्रो छैन । किनभने उपभोक्ताहरुले सीजीको उत्पादनलाई चिनिसकेका छन् । जसले कम्पनीको मूल्यलाई भन्दा पनि क्वालिटी र कम्पनीको सेवालाई बढी आत्मसात गरेका छन् ।

त्यसको मतलब सीजीका प्रोडक्ट बजारका अन्यभन्दा महँगा छन् भन्न खोज्नुभएको हो ?

त्यसो पनि होइन । केही सामान्य प्रोडक्टलाई छाडेर सीजीका त्यस्ता प्रोडक्ट पनि छन् जुन बजारमा तुलनात्मक रूपमा अन्यभन्दा निकै नै उत्कृष्ट र उच्च प्रविधिमैत्रीसमेत छन् । त्यस्ता प्रोडक्टहरु भने केही महँगा छन् भन्न खोजेको हुँ । तर त्यति धेरै फरक पनि छैन । जस्तो हामीले भर्खरभर्खर मात्र बजारमा उच्च टेक्नोलोजीमा आधारित गुगल सर्टिफाइड एन्ड्रोइड टेलिभिजन ल्याएका छौँ । यी बजारमा उपलब्ध सामान्य टेलिभिजनभन्दा उत्कृष्ट र प्रविधिमैत्री छन् । जसले सीधै गुगलमार्फत फङ्सनहरुको अपडेट गर्न सक्छ । यो टेलिफिजन नेपाली ब्रान्डमध्येमै पहिलो पटक सीजीले भित्र्याएको हो ।

त्यसो भए अब सीजीले बजारलाई त्यस्तो नयाँ उत्पादन चाहिँ के दिँदै छ त ?

हालसालै सीजीका दुईवटा नयाँ प्रोडक्ट आउँदैछन् । एउटा डिक्स वासर र अर्को वाइफाई युक्त एसी । यी उत्पादन कम्पनीले चाँडै नै बजारमा ल्याउँदै छ । तर कहिलेसम्ममा आइपुग्छन् यकिन भएको छैन । अहिले कम्पनीले त्यसको तयारी गरिरहेको छ ।

नयाँ प्रोडक्टको मूल्य केकस्तो रहन्छ ?

प्रोडक्ट नै नआइसकेकाले अहिले नै मूल्य थाहा हुने कुरा भएन । त्यसको मूल्य प्रोडक्ट आइसकेपछि मात्र निर्धारण हुन्छ ।

सीजीको नयाँ वर्ष विशेष केही छ कि ?

हो, अहिलेको मुख्य विषय यही हो । पक्कै पनि सीजीले आफ्ना ग्राहकलाई नयाँ वर्ष विशेष केही न केही अवश्य ल्याएको छ । त्यो हो सीजी राम्रो गर्वका साथ हाम्रो उपहार योजना । नयाँ वर्षलाई नै टार्गेट गरेर हामीले स्योर सर्ट उपहार योजनादेखि नगद क्यास ब्याक योजनासमेत ल्याएका छौँ । त्यसमा आकर्षक गिफ्ट ह्याम्पर उपहार योजनासमेत छ ।

जस्तो कि टेलिभिजनमा न्यूनतम १४ प्रतिशतदेखि अधिकतम २० प्रतिशतसम्म क्यास ब्याक अफर दिएका छौँ । त्यस्तै म्युजिक सिस्टममा अधिकतम १७ प्रतिशत, माइक्रोओभनमा १३ प्रतिशत, रेफ्रिजिरेटर (फ्रिज) मा सेगमेन्ट हेरी १४२० प्रतिशत, चेस्ट फिजरमा १४ प्रतिशत र सोकेसमा १५ प्रतिशतको छुट अर्थात् क्यास ब्याक सुविधा दिएका छौँ । त्यसमा थप मल्टी डोर रेफ्रिजरेटरमा ४ हजार रुपैयाँ पर्ने सीजी मिक्स्चरसमेत फ्री दिएका छौँ ।

त्यस्तै माइक्रोओभनमा कुकिङ किट, वासिङ मेसिनमा मिक्स्चर, टप लोड र ट्विन ट्युब वासिङ मेसिनमा आइरन फ्री दिएका छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप