शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा कोरोना सङ्क्रमणको बढ्दो जोखिमः विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

शुक्रबार, ०३ वैशाख २०७८, १३ : ४१
शुक्रबार, ०३ वैशाख २०७८

–नारायण अधिकारी

चितवन । पत्रकार राधेश्याम खतिवडाले कोरोनाको जोखिम बढेपछि आफूले छोरालाई बिहीबारबाट विद्यालय पठाउन छाडेको बताए ।  कक्षा ९ मा पढ्ने उनका छोरा मात्र होइन, धेरै अभिभावकले आफ्ना सन्तानलाई घरमा नै राखेर पढाउन थालेका छन् । नेपाल पत्रकार महासङ्घ चितवन शाखाका निवर्तमान अध्यक्षसमेत रहेका खतिवडाले मानव स्वास्थ्यभन्दा ठूलो कुरा केही नहुने भएकाले भीडभाडमा बच्चालाई पठाउनु जोखिम भएको बताए ।

कोरोना भाइरस सङ्क्रमण जोखिम बढेसँगै जिल्लाका संस्थागत विद्यालयमा विद्यार्थी घट्न थालेका छन् । लिटिल फ्लावर स्कूल नारायणगढका प्राचार्य रोबी केयुले एउटा कक्षामा तीन÷चार जना विद्यार्थी कम आएको बताए । उनले भने, ‘रुघा, खोकी र ज्वरो आएका विद्यार्थीलाई घरमा नै आराम गर्न भनेका छौँ ।’
 
सचेत अभिभावकले छोराछोरीलाई विद्यालय पठाउन छाडेसँगै ठूला संस्थागत विद्यालयमा विद्यार्थी घट्न थालेका छन् । नारायणी नमूना मावि भरतपुरका प्राचार्य पूर्णप्रसाद दवाडीले आफ्नो विद्यालयमा एक जना कर्मचारीलाई कोरोना सङ्क्रमण भएको र केही शिक्षक बिरामी परेको बताए । यस्तै अवस्था रही रहेमा विद्यालय सञ्चालन गर्न कठिन हुने उनको भनाइ छ ।
 
शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीले संस्थागत विद्यालयमा विद्यार्थीको उपस्थिति घटेको भन्ने जानकारी प्राप्त भएको बताए । सातवटै पालिकाका शिक्षा प्रमुखसँग छलफल गरेर के गर्ने भन्ने विषयको टुङ्गो लगाउने उनको भनाइ छ । मन्त्रालय र विभागमा आफूले समन्वय गरिरहेको भन्दै उनले सम्पूर्ण विद्यालयलाई सावधानी अपनाउन आवश्यक निर्देशन दिइएको जानकारी दिए । पछिल्लो समयमा बालबालिकामा समेत कोरोना सङ्क्रमण देखिन थालेपछि त्रास बढेको हो ।
 
जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार १३ पुगेको छ । जसमध्ये ९८ सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये ११४ को मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले कम उमेरकालाई सङ्क्रमण देखिन थालेको बताए । सबैले आ–आफ्नो ठाउँबाट स्वास्थ्य निर्देशिका कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । जिल्लामा ३२३ सामुदायिक र २१६ संस्थागत गरी ५३९ विद्यालय छन् । ती विद्यालयमा एक लाख ५४ हजार विद्यार्थी अध्ययनरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप