शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय नागरिकले लुकीलुकी लगाउँछन् चीनले उपलव्ध गराएको खोप !

शुक्रबार, ०३ वैशाख २०७८, १७ : ५१
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौं । चीनले अनुदान सहयोगमा नेपाललाई उपलब्ध गराएको भेरोसेल खोप भारतीय नागरिकले दुरुपयोग गरेको पाइएको छ । भारतीय नागरिकले चीन उड्ने हवाई टिकट देखाउँदै उपत्यकाका विभिन्न अस्पतालबाट खोप लगाइरहेको पाइएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै २० जना भारतीय नागरिकले खोप लगाएका छन् । परिचयपत्र विना नै खोप वितरण गरेका कारण भारतीय नागरिकहरुले फाइदा उठाएको अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए । ‘२० जना भारतीय नागरिकले खोप लगाउँदासम्म हामीले थाहा पाएनौँ’ उनले भने, ‘सुटकेश नै बोकेर खोप लगाउन अस्पताल आएपछि भारतीय नागरिक भएको थाहा पायौँ ।’

सुटकेश बोकेर खोप लगाउन पुगेपछि शंका गरेर परिचयपत्र माग्दा भारतीय पासपोर्ट धेरैले देखाएपछि एकदिन खोप कार्यक्रम स्थगित समेत उनले सुनाए । ‘हिजोदेखि शंका लागेका व्यक्तिसँग परिचयपत्र माग्छौँ’ उनले भने, ‘नेपालमा लामो समयदेखि तरकारी फलफुल व्यवसाय गर्दै आएका भारतीय नागरिकलाई खोप दिइरहेका छौँ ।’  

टेकु अस्पतालमा भारतीय भिसा देखाएर खोप लगाउन आएकालाई खोप नदिइए पनि वीर अस्पताल र काठमाडौं मेडिकल कलेज लगायतका अस्पतालबाट खोप दिने क्रम रोकिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरु, चीनमा व्यापार गर्ने नेपाली व्यापारीलाई खोप दिने निर्णय गरेको थियो । 

अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधि, फलफूल तरकारीलगायतका व्यापारीलाई खोप दिने निर्णय गरेको थियो । अनुदानमा आएको भेरोसेल खोप काठमाडाैंका २३ वटा खोप केन्द्रबाट वितरण भइरहेको छ ।  ५० हजारभन्दा बढीले खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप