शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश २ : प्रदेश र राजधानीको नामको प्रस्ताव दर्ता गराउन सूचना जारी

शुक्रबार, ०३ वैशाख २०७८, २० : ५८
शुक्रबार, ०३ वैशाख २०७८

प्रदेश नम्बर २ सरकारले प्रदेशको नाम र राजधानी तोक्न नसकेको समयमा प्रदेश सभाले प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले एक सूचना जारी गर्दै प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गराउनका लागि आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिव यादवले जारी गरेको सूचनामा वैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने सम्बन्धी प्रस्ताव दर्ता गराउन भनिएको छ । नामाकरण र राजधानीसम्बन्धी प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सांसदले प्रस्ताव दर्ता गराउन सक्ने प्रदेशसभा सचिवालयको सचिव यादवले जानकारी दिएका छन् ।

प्रदेशसभाद्वारा जारी गरिएको विज्ञप्तिमा प्रदेशको नामाकरणको सवालमा नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशको नामाकरण प्रदेश सभाको दुई तिहाई बहुमतबाट हुने भएकोले प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७३ ख को उपनियम (२) बमोजिम प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सभा सदस्यले सोही नियमावलीको अनुसूची ३ (ख) बमोजिम बैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा दर्ता गराउन सूचना प्रकाशन गरिएको उल्लेख गरिएको छ ।

त्यसैगरी प्रदेशको राजधानीको सवालमा नेपालको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम प्रदेशको राजधानी प्रदेश सभामा तत्काल कायम रहेको दुई तिहाई बहुमतबाट हुने भएकोले प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७३ क को उपनियम (२) बमोजिम प्रदेशको राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सभा सदस्यले सोही नियमावलीको अनुसूची ३ (क) बमोजिम बैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा दर्ता गराउन सूचना प्रकाशन गरिएको जनाइएको छ ।

यसअघि ०७६ साल चैत ४ गते प्रदेशको नाम र स्थायी राजधानीका लागि सचिवालयले गरेको प्रयास असफल भएको थियो । प्रदेश सभामा नाम सम्बन्धी ४ वटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ वटा प्रस्ताव माथि मतदान भएको थियो । तर प्रदेशको नाम र राजधानीको नामको लागि दर्ता गराइएका प्रस्तावहरु मध्ये कुनैपनि प्रस्तावको पक्षमा दुई तिहाइ मत आउन सकेको थिएन । 

यसअघिको नाम र राजधानीका लागि तत्कालिन समाजवादी पार्टी र राजपाले प्रदेशको नाम मधेस प्रस्ताव गरेको थियो भने राजधानीको नाम जनकपुर क्षेत्र नाम राखेको थियो । नेपाली काँग्रेसले प्रदेशको नाम मिथिला भोजपूरा प्रस्ताव दर्ता गराएको थियो भने नेपाली कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वर साहले मध्य मधेस नाम प्रस्ताव दर्ता गराएका थिए । तत्कालिन नेकपाले प्रदेशको नामाकरण जानकी प्रस्ताव गरेको थियो भने राजधानीको जनकपुर क्षेत्र राखेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप