शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हावाहुरीका कारण आँप, लिचीमा क्षति

शनिबार, ०४ वैशाख २०७८, १३ : ०८
शनिबार, ०४ वैशाख २०७८

शुक्रबार साँझ र गएराति पटकपटक आएको भीषण हावाहुरीका कारण जिल्लाको पहाडी क्षेत्रका केही स्थानसहित तराईको त्रियुगा नगरपालिका, चौदण्डी गढी र बेलका नगरपालिकासहितका स्थानमा फल लाग्न थालेको लिची र आँपमा क्षति पुगेको छ । 

शुक्रबार साँझ र राति आएको भीषण हावाहुरीको कारण त्रियुगा नगरपालिकाको जोगिदह, मोथ्याइ, देउरी, बगाहा तथा श्रीपुर क्षेत्रमा फल लाग्न थालेको आँप र फुलेर फल लाग्न थालेको लिचीमा निकै क्षति पुगेको स्थानीयवासीले बताएका छन् ।

त्रिनपा–१ जोगिदहमा गएराति आएको भीषण हावाहुरीले भर्खरै फल लाग्न थालेको लिची र आँपमा निकै क्षति पुगेको जोगिदह बरगाछीका अमेन्द्रलाल चौधरीले बताउनुभयो । चौधरीका अनुसार हावाहुरीले आँप र लिचीको हाँगासमेत भाँचिदिएको र २५ प्रतिशत फूल तथा फल हुरीले खसाएर नष्ट गरेको छ । 

यस्तै बेलका नगरपालिकाको भागलपुर र आम्बासी तपेस्वरी क्षेत्रमा पनि गएराति आएको भीषण हावाहुरीका कारण लिची र आँपमा निकै ठूलो क्षति पुगेको र हावाहुरीले अन्दाजी २० प्रतिशत फलफूल भुइँमा खसाली दिएको तपेश्वरीका प्रेमप्रसाद भट्टराईले बताए । 

जिल्लाको चौदण्डी गढी नगरपालिकाको हँडिया, सुन्दरपुर क्षेत्रमा गएराति आएको आधा घण्टाभन्दा लामो समयसम्म चलेको हावाहुरीका कारण भर्खरै फुलेर फल लाग्दै गरेको आँप र लिचीमा निकै क्षति पुगेको र हावाहुरीले आँप र लिचीका स–साना दानाहरुलाई भूइँमा झारी दिएको कृषक बताउँछन् । 

यता जिल्लाको पहाडी क्षेत्रको लिम्चुङबुङको बराह, बासबोटेसहित इनामे साउने खाँबु क्षेत्रका केही स्थानमा पनि हावाहुरीले फलफूल र अननबालीमा निकै ठूलो क्षति पु¥याएको सम्बन्धित क्षेत्रका स्थानीयवासीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप