केन्द्रीय संस्करण

समन्वयको अभावमा कोरोना संक्रमण बढ्ने आशंका

person explore access_timeबैशाख ४, २०७८ chat_bubble_outline0

यदि सरकार र मातहतका निकाय जिम्मेवार छन्, जनताको जीवन रक्षा गर्न राज्यको कर्तव्य र जिम्मेवार ठान्छन् र तत्पर छन् भने कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा तदारुकता देखाउनैपर्छ । हाम्रो देश नेपाल कम जनसंख्या भएको कारण यहाँ कोरोना नियन्त्रण गर्न सम्भव छ । यसका लागि सरकारले आवश्यक सजकता सतर्कता तत्काल र दीर्घकालीन गर्नुपर्ने स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्वाधार तयारी अवस्थामा चौबीसै घन्टा तैनाथ हुनुपर्छ । सबैभन्दा पहिला सम्भावित जोखिमका क्षेत्र ठाउँ श्रोत पहिल्याउन ढिलो गर्नु हुँदैन । 

छिमेकी मुलुक भारतमा दिन प्रतिदिन  लाखौं मानिस संक्रमित भएको हजारौं मानिसले ज्यान गुमाइरहेको, लास जलाउने र गाड्ने मसानघाटको अभाव भएको भन्ने दर्दनाक भयानक समाचार सुन्नमा आउँदा स्वभावैले हामी नेपाली पनि उच्च जोखिममा छौँ र भयभित छौँ ।

 भारत लगायत विश्वका सयौं देशमा रोजगारीको सिलसिलामा लाखौं नेपाली त्यहाँ कार्यरत छन् । कोही हवाइ मार्ग कोही सडक मार्ग हुँदै स्वदेश फर्कनेहरूको लर्को दिनहुँ बढिरहेको छ । विशेषगरी भारतमा संक्रमण अत्यन्तै धेरै भएको हुँदा भारतबाट फर्कने र त्यहाँ बस्ने लाखौं नेपाली उच्च जोखिममा छन् । स्वदेश फर्कने सीमानामा लामो लाइन देखिन्छ ।

जसरी तसरी असुरक्षित तरिकाले आएकालाई सिधै घर पठाउने अनि शिक्षण संस्था बन्द गरेर कोरोना नियन्त्रण गर्न खोज्नु मूर्खता सिवाय अरू केही होइन । आएकाले सामान्य स्वास्थ्य परीक्षण हुन नसकेको संघीय सरकारले प्रदेश सरकार र स्थानीय तहलाई पर्याप्त सहयोग नगरेको, समन्वय स्वास्थ्य सामग्रीको चरम अभाव, साधनस्रोत, स्वास्थ्यकर्मी, दक्ष जनशक्तिको अभाव रहेको, प्रहरीलाई परिचालन गरेर कोरोना नियन्त्रण त हुँदैन होला । आवत जावत रोकेर पनि सम्भव छैन 

 संघ सरकार र तालुकदार स्वास्थ्य मन्त्रालय दिनहुँ निर्देशन दिने धम्कीपूर्ण भाषा प्रयोग गर्ने बाहेक समन्वयको ठूलो खडेरी देखिन्छ । सीमामा खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मी पिपिइ, माक्स चेकजाँच गर्ने किटको अभाव भएको गुनासो गरेको सार्वजनिक संचार माध्यमबाट सुनिने गरिन्छ ।  त्यसरी जोखिमपूर्ण क्षेत्रबाट यात्रा गर्दा उनीहरुको जीवन पनि असुरक्षित त छँदैछ, उचित चेकजाँच भएन भने परिवारलाई र सिङ्गो समाजमा संक्रमित भएकाबाट संक्रमण फैलिने निश्चित छ ।

संघ, प्रदेश र स्थानीय तह मिलेर त्यसरी स्वदेश फर्कने भारत लगायत तेस्रो मुलुकहरूबाट आउने नागरिकको सही तरिकाले चेकअप गर्ने लक्षण भएकालाई उपचार, आइसोलेसन, अस्पतालमा, नभएकालाई केही दिन क्वारेन्टिनमा राख्ने, त्यो पनि सम्भव नभए प्रत्यक्ष निगरानीमा होम क्वारेन्टिनमा राख्ने व्यवस्था गरौं । स्वदेश आउँदा कत्ति पनि लापरवाही नगरौं । आफू पनि बाचौं, अरूलाई र आफ्नो परिवार समाजलाई पनि बचाउने जिम्मा तपाई हाम्रो काँधमा छ । सरकारका कर्मचारी रूखो नबोलौँ सान्त्वना दिने सही सल्लाह दिने भरपूर कोसिस गरौं । जनचेतनामूलक सन्देश प्रवाह गरौं ।

राजनीतिक, कूटनीतिक कुरा नगरौं । तर, रोजगारीको सिलसिलामा होस् चाहे व्यापारको सिलसिला, पारिवारिक नाता कुटुम्ब रोटीबेटीको सम्बन्ध भन्नुहोस्, चाहे खुल्ला सीमाका कारण धार्मिक, साँस्कृतिक,रीतिरिवाज धार्मिक तीर्थयात्री, बिना रोकावट, सामान्य परिचयपत्र पनि नचाहिने भारत नेपालको सम्बन्ध सनातन अति विशिष्ट घनिष्ट सम्बन्ध युगौँ युगदेखि रहँदै आएको छ । यो कोरोनाको संक्रमणकाल र राजनीति कूटनीति सम्बन्धको कारण विगत एक वर्षयता अलि असहज परिस्थितिमा छ ।  तथापि दुई देशको सम्बन्ध राजनीति र कूटनीति हिसाबले शासकीय शैलीबाट फेरबदल हुनसक्छ । तर, धार्मिक सांस्कृतिक साहित्य भाषा कला रहनसहनको हिसाबले जनस्तरमा प्रगाढ, प्रगतिशील र स्थिर सम्बन्ध छ । लाखौं नेपाली भारतमा रोजगारीका लागि जाने, भारतका नेपाल आउने यसको यकिन तथ्यांक न त भारतसँग छ, न नेपालसँग । अनुमानित मात्रै हो । यसरी नै असंगठित हिसाबले हजारौं वर्षदेखि निरन्तर चलिरहेको छ । 

यो कालखण्डमा कोरोना महाव्याधिको कारण चीनको वुहान प्रान्तबाट २०२० सुरु भएको कोभिड १९ आजका मितिसम्म   नियन्त्रणमा आउन सकेको छैन । विज्ञ वैज्ञानिक खोजकर्ता अनुसन्धान रातदिन लागिपरेका छन् । कतिपय देशले कोरोनाविरुद्ध भ्यक्सिन पनि निकालिसकेका छन् । नियन्त्रण हुने संकेत देखिँदैन । पछिल्लोपटक त झन् भयावह रूप लिँदै गएको देखिन्छ । यी मानव सभ्यताको निम्ति ठूलो चिन्ताको विषय हो । जीवनभन्दा ठूलो अर्को उपलब्धि हुन सक्दैन । स्वास्थ्य नै धन हो । सुखदुःख, शिक्षा, समृद्धि, शान्ति, गरिबी, अभाव, हावापानी, घाम छाया पर्यायवाची कुरा हुन् । मूलतः जीवन महत्त्वपूर्ण हो । राजनीति आदर्श सिद्धान्त दम्भ घमण्ड सत्ता दल पार्टी ज्यान रहेसम्म हो । 

घरमा अभिभावक नै सुरक्षित भए मात्रै बालबालिका सुरक्षित कसरी रहन सक्छन् ? विद्यार्थीसँग कोरोना उत्पन्न हुने होइन तिनका अभिभावक कोरोना संक्रमित भए भने बालबालिका संवत् संक्रमित हुनेछन् । त्यसैले कोरोना संक्रमण कताबाट हुन्छ, कसरी हुन्छ ? सम्भावित क्षेत्र व्यक्तिको खोजिनीति गर्नु  जोखिम क्षेत्रमा भरपर्दो निगरानी गर्नु राज्य तथा सरोकारवालाको प्रमुख दायित्व हो । त्यस्ता जोखिमयुक्त संभावित क्षेत्र पहिल्याइनु बढी बुद्धिमानी ठहरिन्छ । 

आर्थिक सामाजिक जीवन पनि बचाउनु छ, जीउ ज्यान पनि । कोरोनालाई पराजित पनि गर्नु छ । निजी तथा सार्वजनिक जीवनलाई अघि अघि पनि लानु छ । बाहिरबाट आउने र विदेशी मुलुकहरू रहनुभएका दाजुभाइ दिदीबहिनीको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व हो । आउनेलाई समयमै सीमाना र एअरपोर्टमै उच्च सर्तका अपनाउने चेकजाँच गर्न  पाँच सेकेन्ड पनि ढिला गर्नु लापरवाही गर्नु भनेको सम्पूर्ण देशलाई खतरामा हाल्नु हो । राजनीति खिचातानी झैझगडा बन्द गरेर राष्ट्रिय संकल्पका साथ दत्तचित्त भएर महामारी र सबैखाले समस्याको निराकरण गर्नतिर अग्रसर र पहलकदमी लिऔं ।
  

महामारी नियन्त्रणमा आम नागरिकको पनि उत्तिकै दायित्व हुन जान्छ । सरकारले महामारी नियन्त्रण गर्न तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड तथा रोकथाम नियन्त्रणका आवश्यक नियम अनिवार्य पालना गर्ने, आफू, परिवार र सिङ्गो समाजलाई बचाउने भूमिका स्वयम् नागरिकको पनि हो । स्वास्थ्य संस्था स्थानीय निकाय सरकार र नागरिकको समन्वयकारी भूमिका आपसी हित हातेमालो गर्दै गहन छलफल बहसको माध्यमद्वारा विज्ञहरूको सुझाव सल्लाह अन्तर्राष्ट्रिय पोर्टोकल डब्लूएचओ जस्ता अन्तर्राष्ट्रिय संघसंस्थाले तोकेको मापदण्ड वैज्ञानिक उपाय उपचार पद्धति सुझाव सल्लाह पालना गर्नैपर्छ ।

अनुदानमा दिएको भ्याक्सिन त कतिपयले लगायौँ । अब भ्याक्सिन आउने ल्याउने, नल्याउने ठेगान छैन । किसान, श्रमजीवी गरिब,विपन्न वर्ग उपचार गर्ने हैसियतमा छैनन् । पहुँच नहुने वर्ग दूरदराजमा बस्नेहरूले उपचार नपाइने हो कि भन्नेतर्फ चिन्ता जाहेर गरिरहेका छन् । सम्पन्न मुलुकहरूको हबिगत कोरोनाले चपेटामा पारिसकेको छ । अनुदानमा भ्याक्सिन लगाउने हाम्रो हैसियत स्पष्ट छ । सत्ताका लागि लुछाचुँडी चलेको स्वास्थ्य सामग्री र कात्रोमा अनियमितता भ्रष्टाचार भएको देख्दा भने दिक्क लाग्छ ।

कोरोना यहाँ उत्पादन भएको जीवाणु पनि होइन हुने भने संक्रमण क्षेत्र पनि होइन । संक्रमित क्षेत्रबाट आउने मानिसबाट अर्को व्यक्ति सम्पर्कमा हुँदै गर्दा सर्ने सरुवा रोग हो । अहिलेसम्मको अनुभवले पनि सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने,पटकपटक साबुन पानीले हात हुने,सेनिटाइजर गर्ने कोरोना जीवाणुको संक्रमणबाट बच्ने उत्तम उपाय हुन् । अब महत्त्वपूर्ण कुरा भारतसँग खुल्ला सीमामा छ । सजिलोसँग आवत जावत हुन्छ । भारत विश्वको दोस्रो आवादी अर्थात जनसंख्या भएको मुलुक हो । त्यहाँ पछिल्लो समय दिन प्रतिदिन लाखौं मानिस संक्रमित हजारौं मानिसको ज्यान गुमाइरहेका छन् ।


कोभिड १९ संक्रमित क्षेत्रबाट आएको व्यक्ति तिनको व्यक्तिगत सम्पर्कबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्नसक्छ जस्तैः हाछयु गर्दा, हात मिलाउँदा, अंङ्गमाल गर्दा, नजिकै खोक्दा, बस्दा त्यसैले भौतिक दूरी अनिवार्य छ । कोरोनाको संक्रमण विश्वव्यापी महामारीको रूपमा फैलिएको छ, जसले विश्वभरि कोरोनाको कारण आजसम्म ३० लाखभन्दा बढी मानिसले अकालमा ज्यान गुमाइ सकेका छन् । भ्याक्सिन पनि उत्पादन गरी उपचार पनि भैरहेको छ । तथापि कोरोना नियन्त्रण हुने यस्तै हुन्छ भन्न मुस्किल छ । यति समयसम्म नियन्त्रण हुन्छ भन्ने ठोस संकेत आँकलन गर्न अहिले नै हतारो हुनेछ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.