बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविका प्राध्यापक कुट्नेले धरौटी तिरेनन्, प्राध्यापक भन्छन्-‘म असुरक्षित छु’

सोमबार, ०६ वैशाख २०७८, १५ : ०१
सोमबार, ०६ वैशाख २०७८

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक प्रेम चलाउनेलाई निर्घात कुट्ने विद्यार्थीले अदालतको आदेश मानेका छैनन् । उच्च अदालत पाटनले कुटपिटमा संलग्न ५ जनालाई धरौटी वापत जनही ५ लाख र क्षतिपूर्ति वापत १ लाख बुझाउन आदेश गरेको थियो । ०७७ फागुन १३ मा न्यायाधीशहरु डा.कुमार चुँडाल र किरण पोखरेलले गरेको सो आदेश कुटपिटमा संलग्न अभियुक्तहरूले मानेका छैनन् । 

नेविसंघ त्रिभुवन विश्वविद्यालयका सचिव योगेन्द्र रावल, कुटपिटमा संलग्न रुपेश शाह यादव, रविन लामा, सयुज श्रेष्ठ र निरज रानामगर धरौटी नबुझाएर भागेका हुन् । त्रिवि नेविसंघका इकाइ अध्यक्ष हरि आचार्यले चाहिँ धरौटी रकम बुझाएर छुटेका छन् । 

०७७ असोज २० मा त्रिवि हाताभित्र फलामे रड र बाँसका भाटा प्रयोग गरेर उप–प्राध्यापकमाथि आक्रमण गरिएको थियो । जिल्ला अदालत काठमाडौंले सामान्य धरौटीमा छाडेपछि जिल्ला सरकारी वकिल कार्यालयले सो आदेश उपर उच्च अदालतमा पुनरावेदन गरेको थियो । 

चलाउने त्रिवि समाजशास्त्र केन्द्रीय विभागका उप–प्राध्यापक हुन् । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले अदालतले मागेको धरौटी समेत नबुझाउने चार जना आक्रमणकारीलाई पक्राउ गर्न माग गरेका छन् ।  उप–प्राध्याक चलाउनेले अहिले पनि विद्यार्थी नेताहरुले आफुलाई धम्की दिइरहेको दावी गरेका छन् । त्रिविको आवास गृहबाट आफुलाई २४ घण्टाभित्र निस्कन धम्की दिएको बताउँदै चलाउनेले रातोपाटीसँग भने– ‘हिजो आक्रमण गर्नेहरुले आज फेरि धम्की दिइरहेका छन्, म असुरक्षित छु ।’ 

आक्रमणबाट उनको टाउको, पेट र खुट्टामा चोट लागेको थियो । चलाउनेले आफु अहिले पनि बेडमा रहेको बताएका छन् । आक्रमणकारीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै चलाउनेले सर्वोच्चमा निवेदन दिएका छन् । 
त्रिवि नेविसंघका अध्यक्ष हरि आचार्यले राजनीतिक पूर्वाग्रह राखेर आफु र आफ्ना कार्यकर्तालाई प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा लगाएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै उनले भने–‘महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालिन एसएसपी श्याम ज्ञवालीले हामीलाई राजनीतिक पूर्वाग्रह राखेर मुद्दा चलाए ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप