शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जलवायु परिवर्तनका सम्भावित असरहरू

मङ्गलबार, १६ मङ्सिर २०७७, १२ : २२
मङ्गलबार, १६ मङ्सिर २०७७

जलवायु परिवर्तनको प्रमुख कारण वैश्विक तापन हो । जुन हरितगृहको परिणाम भनिन्छ । हरित गृह प्रभाव त्यो प्रकृया हो जसमा पृथ्वीको सतहसँग टक्कराएर  फर्कने सूर्यका किरणहरु वातावरणमा उपस्थित केही ग्यासहरु अवशोषित गरी लिन्छन् । परिणामस्वरुप पृथ्वीको तापमानमा वृद्धि हुन्छ ।

कार्वनडाइअक्साइड, मिथेन, क्लोरोफ्लोरोकार्बन्स, नाइट्रस अक्साइड क्षोभमण्डलीय ओजोन ती मुख्य ग्यास हुन जुन हरित गृहप्रभावका लागि उत्तरदायी ह्ुन्छन् । वातावरणमा यी ग्यासहरुको निरन्तर बढ्दो मात्राले वैश्वीक जलवायु परिवर्तनको खतरा दिनदिनै बढ्दै  गइरहेको छ । हरितगृह प्रभावले गर्दा अनेक क्षेत्रहरुमा औसत तापमानमा बढोत्तरी भएको देखिएको छ । वैज्ञानिकहरुको भविष्यवाणीका अनुसार वर्ष २०२० सम्म दुनियाको तापमान पछिल्लो १००० वर्षहरुको तुलनामा सर्वाधिक हुनेछ ।

अन्तरशासकीय जलवायु परिवर्तन पैनलले वर्ष १९९५ मा भविष्यवाणी  गरेका थिए कि यदि मौजुदा प्रवृत्ति जारी रह्यो भने २१ सौं  शताब्दीमा तापमानमा ३.५ देखि १० डिग्री सेल्सीयस सम्मको बृद्धि हुनेछ ।

बीसौं शताब्दीमा विश्वको सतहको औसत तापमान ०.६ डिग्री सेल्सियससम्म बढेको छ । यस शताब्दीको पहिलो दशक (२०००–२००९) अहिलेसम्मको सबैभन्दा उष्ण दशक रहेको छ जसले यो सावित गर्दछ कि हरितगृह प्रभावको परिणामस्वरुप  जलवायु परिवर्तनको बेला शुरु भइसकेको छ । वैश्विक जलवायु  परिवर्तनका अनेकन प्रभाव हुनेछन् जसमध्येबाट धेरैजसो हानिकारक हुनेछन् ।

सम्भावित प्रभावहरु

जलवायु परिवर्तनको प्रभाव मानव स्वास्थ्यमा पर्नेछ । विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार जलवायुमा तापनका कारण श्वास तथा हृदय सम्बन्धी रोगहरुमा बृद्धि हुनेछ । दुनियाका  विकासशील देशहरुमा झाडापखाला, हैजा, क्षयरोग, पित ज्वरो तथा म्यादी ज्वरो जस्ता संक्रामक रोगहरुको बारम्बार वृद्धि हुने छ । किनकि रोग फैलाउनेखाले रोग बाहकहरुको गुणन एवं  विस्तारमा तापमान एवं बर्षाको महत्वपूर्ण भूमिका हुन्छ ।

दक्षिण अमेरिका, अफ्रिका तथा दक्षिणपूर्व एसियामा लामखुट्टेबाट फैलने रोगहरु जस्तै मलेरिया, डेंगु, पहेंलो ज्वरो तथा जापानी ज्वरोको प्रकोपमा बढोत्तरीका कारण यी रोगहरुका कारण हुने मृत्युदरमा बृद्धि हुनेछ । यसबाहेक हात्तीपाइले तथा चिकन गुनियाको पनि प्रकोप बढ्नेछ ।

लामखुट्टेबाट सर्ने रोगहरुको विस्तार उत्तरी अमेरिका तथा युरोपका चिसो देशहरुमा पनि हुनेछ । हाम्रो आफ्नै परिवेशमा विगतमा तराईमा मात्र देखिने जापानी ज्वरो, डेंगु, मलेरिया हिजोआज पहाडी, मध्यपहाडी तथा हिमाली क्षेत्रमा पनि नियमित देखिन थाल्नुले पुष्टि गर्छ ।

मानव स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभावले गर्दा एउटा ठूलो जनसंख्या विस्थापित हुनेछ, जसलाई पर्यावरणीय शरणार्थी भनिनेछ । जलवायु परिवर्तनको फलस्वरुप रोगाणुहरुमा बढोत्तरीका साथसाथै यिनको नयाँ प्रजातिहरु विकसित हुनेछन् । परिणामस्वरुप बालिनालीहरुको उत्पादकत्वमा विपरीत प्रभाव पर्नेछ । किरा फट्याङ्ग्रा नाशीजीवहरु तथा रोगाणुहरुबाट सुरक्षाका लागि जीवननाशकहरुको उपयोगको मात्रामा बढोत्तरी हुनेछ, जसले गर्दा वातावणा प्रदूषित हुनेछ । साथै मानवीय स्वास्थ्यमा पनि प्रतिकूल प्रभाव पर्नेछ ।

वैश्विक जलवायु परिवर्तनको परिणामस्वरुप दुनियाँको मनसुनी क्षेत्रहरुमा वर्षमा बृद्धि  हुनेछ, जसले गर्दा बाढी, भुस्खलन तथ भूमी अपरदान जस्ता समस्या पैदा हुनेछ । पानीको गुणस्तरमा गिरावट आउनेछ । वैश्विक जलवायु परिवर्तनले जलश्रोतहरुको वितरणमा पनि प्रभाव पर्छ । उच्च अक्षांश भएका देशहरुमा तथा दक्षिण पूर्वएसियाका जलश्रोतहरुमा पानीको अधिकता हुन्छ । जव कि मध्य एसियामा पानीको कमी हुन्छ भने न्यून अक्षांश भएका देशहरुमा पानीको कमी हुन्छ ।

जलवायु परिवर्तनका कारण ध्रुवीय हिँऊ पग्लिनाले विश्वको औसत समुद्री जलस्तर एक्काइसौं शताब्दीको अन्त्यसम्म ९ देखि ८८ सेमीसम्म बढ्ने सम्भावना छ, जसबाट दुनियाँको आधिभन्दा बढी आवादी जुन समुद्रबाट ६० कि.मी. को दूरीमा अवस्थित छन्, तिनमाथि विपरित प्रभाव पर्नेछ ।

बंगलादेशको गंगा–ब्रम्हपुत्र, डेल्टा, मिश्रको नील डेल्टा तथा मार्शलद्विप र मालदिव सहित अनेकौं साना द्विपको अस्तित्व वर्ष २१०० सम्म समाप्त हुने अध्येताहरुले बताउँदै आएका छन् ।

वैश्विक जलवायु परिवर्तनको प्रभाव समुद्रमा पाइने जैविक विविधता सम्पन्न कडा चट्टानहरुमाथि पर्नेछ, जसलाई महासागरहरुको उष्ण कटिबन्धीय वर्षा पनि भनिन्छ । समुन्द्री पानीमा उष्णताको परिणामस्वरुप लेऊहरुमा प्रतिकूल प्रभाव पर्नेछ जसले भोजन तथा वर्ण उपलब्ध गराउँछन् । उष्ण महासागर सफाइ प्रक्रियाको कारक हुनेछ, जसले यी उच्च उत्पादकता भएको इकोसिस्टमलाई नष्ट गर्छ ।

प्रशान्त महासागरमा सन् १९९७ मा अलनिनोका कारण बहेको ताजको तीब्रता प्रवालहरुको मृत्युको सबैभन्दा गम्भीर कारण बनेको थियो । एक अध्ययनअनुसार पृथ्वीमा लगभग १० प्रतिशत प्रवालहरुको मृत्यु भइसकेको छ । ३० प्रतिशत गम्भीर रुपले प्रभावित भएका छन् । ३० प्रतिशतको क्षरण भएको छ । ग्लोवल कोरल रीप मोनिटरिङ्ग नेटवर्क अष्ट्रेलियाको अनुमान अनुसार वर्ष २०५० सम्म सबै प्रवालहरुको मृत्यु हुनेछ ।

 जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा पनि असर पर्नेछ । संयुक्त राज्य अमेरिकामा बालिनालीको उत्पादकत्वमा कमी आउने छ, जबकि अर्कोतिर उत्तरी र पूर्वी अफ्रिकामा, मध्य पश्चिम देशहरु नेपाल, पश्चिमी देश मेक्सीकोमा गर्मी तथा चिस्यानले गर्दा वालीनालीहरुको उत्पादकतामा बढोत्तरी हुनेछ । वर्षा जलको उपलब्धताका आधारमा धान उत्पादनको क्षेत्रफल बढ्न सक्नेछ ।

वातावरणमा ज्यादा उर्जाको संलग्नताले वैश्विक वायु पद्धतिमा पनि परिवर्तन हुनेछ । वायु पद्धतिमा परिवर्तनको परिणामस्वरुप वर्षा असमान हुनेछ । भविष्यमा मरुभूमिहरुमा बढी वर्षा हुनेछ, जबकि यसको विपरीत पारम्पारिक कृषि हुने क्षेत्रहरुमा कम वर्षा हुनेछ । यस किसिमको परिवर्तनले ठूलो मात्रामा मानवीय बसाइँसराईलाई प्रोत्साहित गर्नेछ, जसले मानव समाजको सामाजिक, आर्थिक तथा राजनैतिक ढाँचालाई प्रभावित गर्नेछ ।

वैश्विक जलवायु परिवर्तनको फलस्वरुप बाढी, खडेरी तथा आँधी, तुफान, टोर्नाडो जस्ता प्राकृतिक आपतहरुको लगातार बृद्धिका कारण  अन्न उत्पादनमा गिरावट आउनेछ । स्थानीय खाद्यान्न उत्पादनमा कमी, भोकमरी र कुपोषणको कारण बन्ने छ, जसबाट स्वास्थ्यमा दीर्घकालीन प्रभाव पर्नेछ । खाद्यान्न र पानीको कमीबाट प्रभावित क्षेत्रहरुमा समुदायहरूबीच द्वन्द्व हुनेछ ।

जलवायु परिवर्तनको प्रभाव जैविक विविधतामा पर्नेछ । कुनै पनि प्रजातिको अनुकुलनका लागि समयको आवश्यकता पर्दछ । वातावरणमा आकस्मिक परिवर्तनले अनुकुलनको अभावमा त्यसको मृत्यु हुनेछ । जलवायु परिवर्तनको सर्वाधिक प्रभाव समुन्द्रको तटीय क्षेत्रहरुमा पाइने दलदली क्षेत्रका वनस्पतिमा पर्नेछ, जसले तटलाई स्थिरता प्रदान गर्नका साथसाथै समुन्द्री जीवहरुको प्रजननका लागि क्रिडास्थल प्रदान गर्छ । दलदली वन, जसलाई ज्वारीय वन पनि भनिन्छ, यसले तटीय क्षेत्रहरुलाई समुन्द्री तुफानहरुबाट रक्षा गर्ने काम पनि गर्दछ । जैविक विविधतामा आउने परिवर्तनका कारणले गर्दा यसमा पारिस्थितिक असन्तुलनको जोखिम बढ्नेछ ।

अब पनि जलवायु परिवर्तनका बारेमा हामी सबैले सोचेनौं भने भोलिका दिनमा जलवायु परिवर्तनले गर्दा पृथ्वीमा रहने सबै प्राणीहरुलाई असर पु¥याउने छ । यसका लागि देशैभरि वातावरण मैत्री कार्यक्रम युद्धस्तरमा सञ्चालन गर्न अपरिहार्य छ ।

जलवायु परिवर्तनमा धनी र औद्योगिक मुलुकहरुको मात्र योगदान  छ, हाम्रो केही छैन भन्दै यसको प्रभाव न्यूनीकरणका उपायहरूमा अहिलेदेखि नै नलाग्ने हो भने हाम्रो आर्थिक हैसियतले यसबाट पर्न सक्ने खाद्यान्न र पानीको संकटबाट बचाउन सकिँदैन । नीतिनिर्माण तहदेखि कार्यान्वयन तहसम्म यस विषयलाई गम्भीरतापूर्वक लिने चेतना जागृत होस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. केदार कार्की
डा. केदार कार्की
लेखकबाट थप