बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोनाको कीर्तिमान : एकैदिन ३ लाख १५ हजारभन्दा बढीमा संक्रमण

बिहीबार, ०९ वैशाख २०७८, १० : ५६
बिहीबार, ०९ वैशाख २०७८

नयाँ दिल्ली । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणले दैनिक कीर्तिमान बनाउँदै गएको छ । केहीदिन यता संक्रमण दर लगातार बढ्दै गएको भारतमा बुधबारमात्र तीन लाख १५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । भारतमा एकैदिन यति ठुलो संख्यामा संक्रमित पाइएको यो पहिलो पटक हो ।

यतिमात्र होइन, कुनै देशमा एकैदिन यति ठुलो संख्यामा संक्रमित पाइएको पनि यो पहिलो पटक हो । यसअघि अमेरिकामा ८ जनवरीमा एकैदिन ३ लाख ७ हजार जनामा संक्रमण पाइएको थियो ।

मृत्युको तथ्यांकमा पनि कीर्तिमान

भारतमा मृत्युको तथ्यांक पनि डरलाग्दो ढङ्गले बढेको छ । बुधबार भारतमा कोरोना संक्रमणका कारण दुई हजार १०१ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमणका कारण एकैदिन यति ठुलो संख्यामा मृत्यु भएको पनि यो पहिलो पटक हो । यसअघि मंगलबार दुई हजार २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

विश्वमै भारत त्यस्तो एकमात्र देश हो, जहाँ कोरोनाका कारण एकैदिन दुई हजारभन्दा बढीको मृत्यु भइरहेको छ । अहिले विश्वका अन्य मुलुकमा कोरोनाका कारण दैनिक एक हजारभन्दा कम मानिसको मृत्यु भइरहेको छ ।

सक्रिय संक्रमितको संख्यामा एकैदिन एक लाख ३३ हजारले बढ्यो

भारतमा सक्रिय संक्रमितको संख्यामा पनि एकैदिन एक लाख ३३ हजारले वृद्धि भएको छ । यो पनि आफैमा नयाँ कीर्तिमान हो । बुधबार भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख ३३ हजारले बढेको हो ।

यसअघि १८ अप्रिलमा एक लाख २९ हजार र गत मंगलबार एक लाख २५ हजारले सक्रिय संक्रमितको संख्या बढेको थियो । भारतमा अहिले २२ लाख ८४ हजार सक्रिय संक्रमित छन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप