बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

ओली र नेपालले आ–आफ्नै सुर गर्ने

शुक्रबार, १० वैशाख २०७८, ०६ : ५९
शुक्रबार, १० वैशाख २०७८

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दुई दिन चार घण्टासम्म भएको छलफलले मिल्ने पारा नल्याएपछि दुवैले आ–आफ्नै सुर गर्ने भएका छन् । राजधानीमा बिहीबार करिब दुई घण्टा भएको संवाद बुधबारभन्दा पनि तिक्त भएर सकिएपछि यी दुई नेता आ–आफ्नै लय नछोड्ने उद्घोषसहित छुट्टिएका हुन् ।

भेटघाटपछि कान्तिपुरसँग नेता नेपालले अब सहमतिको सम्भावना सकिएको बताए । ‘हामीले पार्टी बचाउन जोड गरेका हौं तर उहाँको मिल्ने कुरा छैन,’ उनले भने, ‘हिजोको कुराले बरु अलिअलि आशावादी भइएको थियो, आज झन् बिग्रियो । अबको भेटघाट र छलफलको कुनै टुंगो छैन ।’ 

यी दुई नेताहरूबीच बुधबार भएको संवादमा ओलीले नेकपा एकीकरणदेखि प्रतिनिधिसभा विघटनयता कुनै पनि बेला आफूले सहयोग नपाएको गुनासो गरेका थिए । नेपालले पनि ओलीकै रवैयाका कारण पार्टी विभाजनको बिन्दुमा पुगेको बताएका थिए । 

नेपालले अहिले पार्टी एकताबद्ध राख्ने जिम्मेवारी अध्यक्षको हैसियतमा ओलीले लिनुपर्ने भन्दै त्यसका लागि ठोस प्रस्ताव ल्याउन माग गरेका थिए । उनले सहमतिको सालाखाला खाका मागेपछि ओली ‘फेरि भेटौंला’ भन्दै उठेका थिए ।

त्यही बिन्दुबाट बिहीबार संवाद थालनी गरेका नेताहरूबीच छलफल हुँदै जाँदा थुप्रै पटक नोकझोक भयो । नेपालले अब पार्टीलाई कसरी अघि बढाउने भनेर सोधेका थिए । लगत्तै ओलीले शुक्रबारको बैठकमा सहभागी भए बैठक स्थलमा छिर्न नरोकिने र फागुन २३ यता गरिएका सबै कारबाही फिर्ता गर्ने बताएका थिए ।

यो समाचार कान्तिपुर दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप