बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको प्रवेशद्वार बन्यो विमानस्थल, भारतबाटै नक्कली पीसीआर बोकेर काठमाडौंको यात्रा

जनस्वास्थ्यविद् भन्छन्– सीमा नाकामा कडाई गरौँ नत्र स्थिति भयावह बन्न सक्छ
शुक्रबार, १० वैशाख २०७८, ०७ : ०२
शुक्रबार, १० वैशाख २०७८

केही समयअगाडि काम विशेषले नयाँ दिल्ली पुगेकी आफ्नी श्रीमतीलाई नेपाल ल्याउन कवित शर्मा (नाम परिवर्तन) लाई पीसीआर रिपोर्ट अनिवार्य भयो । तर, नयाँ दिल्लीमा कहाँ, कसरी पीसीआर गर्ने भन्ने अन्योल पर्‍यो । उनले यो कुरा आफ्ना एक साथीलाई भने । उनले त्यसको कुनै चिन्ता नलिन आग्रह गर्दै नाम, उमेर, ठेगाना र फोन नम्बर मागे ।

कवितले श्रीमतीको नाम, ठेगाना, उमेर, सम्पर्क नम्बर सबै पठाइदिए । त्यसको दुई घण्टामा उनको इमेल ठेगानामा एउटा पेपर आयो । पेपर उनकै श्रीमतीको पीसीआर रिपोर्टको थियो, जहाँ नेगेटिभ उल्लेख गरिएको थियो । जबकि, त्यतिबेलासम्म कवितकी श्रीमती दिल्लीको एक होटलमै थिइन् ।

यो एक उदाहरण मात्रै हो । भारतको दिल्लीबाट काठमाडौं आउनका लागि अहिले अधिकांशले स्वास्थ्य परीक्षणबिना नक्कली पीसीआर रिपोर्ट बनाएर ल्याउने गरेका छन् । विमान कम्पनी र अध्यागमन कार्यालयले कडाई नगर्ने भएका कारण विमान चढ्ने प्रयोजनका लागि मात्रै पीसीआर रिपोर्ट ल्याउने गरिएको छ ।

अहिले भारतबाट हवाई उडानमार्फत् अन्य देशमा जान प्रतिबन्ध जस्तै छ । त्यसै कारणले अहिले अधिकांश भारतीय नागरिकहरु नेपालको बाटो हुँदै तेस्रो मुलुक जाने गरेका छन् ।

बिहीबारबाट लागू हुने गरी अब भारतीय नागरिकले तेस्रो मुलुक जानका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ पनि नचाहिने भएको छ । भारतीय दूतावासको आग्रहमा दुई महिनाका लागि ‘नो अब्जेक्सन लेटर’ बिनै तेस्रो मुलुक जान पाउने गरी पूर्ववत् प्रतिबन्ध फुकुवा गरिएको हो ।

अहिले भारतमा दैनिक ३ लाखभन्दा बढी नागरिकमा कोरोना संक्रमण हुन थालेको छ । भारतमा संक्रमणको दर बढ्दै गर्दा भारतबाट नेपालमा घुम्न आउने वा नेपालको बाटो हुँदै अर्को मुलुकमा जाने भारतीयको सङ्ख्या पनि बढ्दो अवस्थामा छ । जुन नेपालका लागि खतराको संकेत हो ।

दोस्रो लहर भारतबाटै आएको हो : सरुवा रोग विशेषज्ञ बाबुराम मरासिनी

सरुवा रोग विशेषज्ञ डा. बाबुराम मरासिनी भारतको संक्रमणको दर बढ्दा नेपालमा खतरा झन बढेको बताउँछन् । उनी भन्छन्, ‘भारतको संक्रमणको दर बढिरहेको छ । तर, भारत भनेको नेपालभन्दा सम्पन्न देश हो । त्यसकारण भारतमा कोरोनाले जति क्षति गर्छ, नेपालमा त्यसको असर अझ बढी हुन्छ ।’

डाक्टर मरासिनीका अनुसार नेपालमा अहिले देखिएको कोरोनाको दोस्रो लहरको स्रोत पनि भारत नै हो । भारतमा संक्रमण बढ्न थालेपछि त्यहाँ रहेका नेपाली तथा भारतीय नागरिकहरु नेपाल आएकाले कोरोना पनि सँगै आएको मरासिनी बताउँछन् । सिमा नाकामा कडाइ नगर्ने र नक्कली पीसीआर रिपोर्ट लिएर आउनेहरुको कारण पनि कोरोना संक्रमण बढेको मरासिनीको ठहर छ ।

सीमा नाकामा कडाई गर्नैपर्छ

सरुवा रोग विशेषज्ञ डा. बाबुराम मरासिनी सीमा नाकामा कडाइ गर्न नसके स्थिति भयावह हुन सक्ने चेतावानी दिन्छन् । उनी भन्छन्, ‘कमसेकम सीमा नाकामा कडाइ गर्ने र पीसीआर रिपोर्ट अनिवार्य गर्दै कम्तिमा १ वा दुई दिन क्वारेण्टिनमा राख्न सकेको खण्डमा पनि संक्रमण नियन्त्रणमा केही सहयोग हुन्थ्यो । तर, क्वारेन्टिनमा पनि नराख्ने र पीसीआर चेक पनि नगरी नेपाल छिर्न दिने हो भने त्यसले थप समस्या ल्याउन सक्छ ।

अहिले त भारतबाट मात्रै नभई नेपालमै पनि नक्कली पीसीआर रिपोर्ट बनाइन थालेको खुलासा भइसकेको छ । सिनामंगलस्थित सुरिया हेल्थ केयर प्रालिले प्रतिव्यक्ति ९ हजार रुपैयाँ लिएर स्वाब संकलनविनै पीसीआर रिपोर्ट दिने गरेको मंगलबार खुलासा भएको थियो ।

नक्कली पीसीआर रिपोर्टकै आधारमा होटलमा बस्ने, मनलाग्दी घुम्ने र विमानमा यात्रा गर्ने गरेका कारण नेपालमा कोरोना संक्रमणको दर बढिरहेको  छ ।

अनिवार्य क्वारेन्टिनको व्यवस्था गर्नुपर्छ

वरिष्ठ जनस्वास्थ्यविद् शरदराज वन्त पनि खुल्ला सीमामा कडाई नगर्दा समस्या बढिरहेको बताउँछन् । भारतमा संक्रमणको दर बढ्दा त्यसको प्रत्यक्ष असर नेपाललाई गर्ने भन्दै हवाई मार्गबाट आउनेहरुको स्वास्थ्य परीक्षणको पनि जाँच हुनुपर्ने वन्तको भनाइ छ ।

नेपाल र भारत खुला सीमा भएको र भारतमा संक्रमण बढेपछि रोजगारी गुम्दा वा त्यहाँ अप्ठ्यारो पर्दा नेपाल आउनेको सङ्ख्या बढेको भन्दै क्वारेन्टिनको व्यवस्था गर्न नसके समस्या झनै बढ्ने उनको चेतावनी छ ।

डा. वन्त भन्छन्, ‘अहिले पीसीआर रिपोर्ट पनि नक्कली बन्ने कुरा त बाहिर आइ नै सक्यो, त्यसकारण पीसीआर रिपोर्टलाई मात्रै आधार मान्नु गलत हुन्छ ।’

विदेशी मुलुकले पनि पीसीआर रिपोर्ट मात्रै नभएर अनिवार्य क्वारेन्टिनकै व्यवस्था गरेकाले नेपालले पनि क्वारेन्टिनकै व्यवस्था गर्नु उचित हुने डा. वन्तको सुझाव छ । उनी भन्छन्, ‘सीमा नाकामा क्वारेन्टिनको व्यवस्था नगर्ने र खुरुखुरु आवत–जावत गर्न दिने हो भने स्थिति भयावह हुन सक्छ । त्यसकारण पहिलो सर्त भनेको क्वारेन्टिनको अनिवार्य व्यवस्था नै हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप