बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै

शुक्रबार, १० वैशाख २०७८, ०९ : ३९
शुक्रबार, १० वैशाख २०७८

मकवानपुर । पछिल्लो समय कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि नेपालमा पनि कोरोनाको संक्रमणको दर उच्च हुँदै गएको छ । संघीय राजधानी रहेको बागमती प्रदेशमा पनि कोरोना भाइरसको संक्रमण केही दिनदेखि तीव्र रुपमा वृद्धि भएको छ । 
बागमती प्रदेशमा हालसम्म १६ हजार ६ सय २० जनामा कोरोना संक्रमण देखिएको छ भने बिहिबारमात्र ६ हजार ७ सय ८ जनाको स्वाबको नमुना परिक्षण गर्दा १ हजार २ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशका १३ जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी कोरोना संक्रमणबाट संक्रमित भएका छन् । 

प्रदेशको सामाजिक विकास मन्त्रालयले बिहिबार सार्वजनिक गरेको तथ्याङ्कका अनुसार काठमाडौंमा मात्र ९ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमणबाट ललितपुरमा १ सय ६ जना भक्तपुरमा ८१ जनामा संक्रमित भएका छन् ।

प्रदेशका अन्य १० जिल्लाहरुका सहरी क्षेत्रमा कोरोनाको प्रभाव उच्च देखिएको छ । मन्त्रालयको तथ्याङ्कका अनुसार बिहिबार रसुवामा कुनैपनि कोरोना संक्रमित फेला परेका छैनन् । कोरोना संक्रमणबाट नुवाकोटमा १२ जना, धादिङमा ३ जना, चितवनमा २२ जना, सिन्धुलीमा ८ जना, मकवानपुरमा ३० जना, रामेछापमा ५ जना, दोलखामा ३ जना, काभ्रेमा १७ जना र सिन्धुपाल्चोकमा ४ जनामा संक्रमण देखिएको छ । 

२४ घण्टामा प्रदेशमा कोरोनाका कारण २ जनको मृत्यु

बागमती प्रदेशमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौंका ८० वर्षीय एक वृद्ध र भक्तपुरकी ६४ वर्षीया एक महिला रहेका छन् ।
चैत २१ गते कोरोना संक्रमण पुष्टि भएका काठमाडौंका वृद्धलाई उच्च रक्तचापको रोग रहेको थियो । संक्रमण पुष्टि भए लगत्तै अस्पताल भर्ना भएका उनको मृत्यु भएको जनाइएको छ । 

बैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएकी भक्तपुरकी महिलामा उच्च रक्तचाप, मधुमेह र दमको रोगबाट पीडित रहेको मन्त्रालयले जनाएको छ । आफुमा कोरोना संक्रमण पुष्टि भए लगत्तै अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको थियो । 

२९ जना भेन्टिलेटर र ६० जना आइसियुमा

बागमती प्रदेशका २९ जना कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ६० जना कोरोना संक्रमितहरु आइसियुमा उपचाररत रहेका छन् ।  प्रदेशका विभिन्न अस्पतालले कुल १ सय ६० भेन्टिलेटर र ४ सय १५ आइसियू बेडहरु संचालनमा ल्याएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै ४ सय २२ जना कोरोना संक्रमितहरु संस्थागत आइसोलेशनमा रहेका छन् भने होम आइसोलेशनमा ५ हजार ३ सय ७ जना रहेका छन् ।
बिहिबार २ सय ६३ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप