शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको दम्भ धरहराभन्दा माथि : माधव नेपाल

‘ओलीसँगको वार्ता बालुवा पेलेर तेल निकाल्नुजस्तै’
शुक्रबार, १० वैशाख २०७८, १२ : २८
शुक्रबार, १० वैशाख २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ धरहराभन्दा माथि पुगेको आरोप लगाएका छन् । शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहेको नेपालले ओलीसँग बिहीबार भएको वार्ताका क्रममा आफूलाई धरहरा देखाउँदै दम्भ प्रदर्शन गरेको व्यङ्ग्यसमेत गरे ।

‘प्रधानमन्त्री ओलीको दम्भ अहिले धरहराभन्दा माथि भर्‍याङ उक्लेर चढेको छ,’ उनले भने, ‘उहाँ हिजो (बिहीबार) धरहरा हेर्दै हुनुहुन्थ्यो । धरहरा हेरेर आफ्नो दम्भ देखाउँदै हुनुहुन्थ्यो । उहाँको दम्भको कुनै अर्थ छैन । हामी आन्दोलन छोड्दैनौ, पार्टी पनि छोडदैनौँ, संघीयता त्याग्दैनौँ ।’

आफूहरु देशको संविधानको मुल मर्म र भावअनुसार अगाडि बढ्ने उनको भनाइ थियो । कुनै व्यक्तिको मुख हेरेर नभई जनताको मुख हेरेर आफूहरु आन्दोलनमा लागेको उनले बताए ।

प्रधानमन्त्री ओलीको विचार गलत रहेको भन्दै उनले अहिलेको प्रमुख सवाल पार्टीको नाम र चुनाव चिन्ह नरहेकोसमेत स्पष्ट पारे । उनले भने, ‘केपी ओलीको विचार गलत छ, त्यसैले यहाँ नाम र चिन्ह के हो, त्यो मुल कुरा होइन, विचार मुल कुरा हो ।’ विचारले नै सही बाटो देखाउने, विचारबाटै गलत निष्कर्षमा पुगिने उनले प्रस्ट पारे । आफूहरु सही विचारको पक्षमा रहेको उल्लेख गर्दै उनले ओलीसँगको वार्ता ‘बालुवा पेलेर तेल निकाल्नु’ जस्तै भएको प्रतिक्रिया जनाए । उनले भने, ‘बालुवा पेलेर तेल निस्किँदैन ।’

प्रधानमन्त्री ओलीले आफूलाई पटक पटक भेट्नका लागि आग्रह गरेको कारण आफूले भेटेको खुलासासमेत उनले गरे । ओलीले छलफलका लागि आफूलाई बालुवाटार बोलाएको तर बालुवाटार आउँदिन भनेर जवाफ दिएपछि बालकोटमा भेटौं भनेर प्रस्ताव गरेको पनि उनले खुलासा गरे । बालकोटमा पनि आउँदिन भनेर आफूले जवाफ दिएपछि होटलमा भेटघाट गरिएको उनको भनाइ थियो ।

‘बालुवाटार वा बालकोट गएको भए सबैले भन्थे, माधवकुमार नेपाल ओलीलाई भेट्न लुरुलुरु बालुवाटार गए, बालकोट गए,’ उनले भने, ‘म त्यो अवस्था नआओस् भनेर बालुवाटार र बालकोट जान नमानेको हुँ ।’

आफू पहिला परराष्ट्रमन्त्री भएको कारण अलिअलि कुटनीति पनि जानेको बताउँदै उनले द्वन्द्व व्यवस्थापनका लागि दुवै पक्षको सहमतिमा ठाउँ खोज्नुपर्छ भनेर होटलमा गएर छलफल गरेको बताए ।

ओलीसँग कुराकानी सुरु भएकोमा आफू केही आशावादी भए पनि ओलीमा दम्भ कायमै रहेको पाएकाले अब आफू धेरै आशावादी नरहेको उनको भनाइ थियो । उनले भने, ‘अस्ति म होटलमा गएको थिएँ, कुराकानी पनि भयो । मलाई केही आशा जागेको थियो, मैले अध्यक्ष पद र प्रधानमन्त्री पद खोस्न खोजेका होइनौं भनेर प्रस्ट भनेँ, पार्टी सिस्टमको आधारमा चल्नुपर्ने बताएको थिएँ ।’

आफूले ओलीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्कन प्रस्ताव गरेको उनले बताए । उनले भने, ‘पार्टीलाई एकतावद्ध बनाउँ, क–कसलाई थप्नुपर्छ, छलफल गरौँ भनेर प्रस्ताव गरेँ, तर उहाँले आफूले गरेका निर्णय मान्नैपर्ने अडान लिनु भयो ।’

उनले प्रधानमन्त्री ओली पार्टी एकताको पक्षमा नरहेको आरोपसमेत लगाए । उनले बिहीबारको छलफलमा ओलीले आफूविरुद्ध गरिएको ६ महिने कारवाहीका सम्बन्धमा विचार गर्न सकिने भनेर आश्वासन दिएको तर आफूले त्यो कारवाहीको औचित्यमै प्रश्न उठाएको पनि उनले जानकारी दिए । उनले ओलीतिर लक्षित गर्दै भने, ‘तपाईले मलाई पार्टीबाट निकाल्ने ? यो माधव नेपालले आन्दोलन र संगठन दुईवटै सञ्चालन गर्दै आएको छ, कसैले निकालेमा निस्कनेवाला छैन । आन्दोलन र संगठनबाट निस्कनेवाला छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप