बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आजबाट भारत बेलायतको 'रेड लिष्ट'मा, नेपाललाई पनि खतरा

शुक्रबार, १० वैशाख २०७८, १२ : ५३
शुक्रबार, १० वैशाख २०७८

लन्डन । आज शुक्रबार बिहान ४ बजेदेखि भारत  बेलायतको यात्रा प्रतिबन्धसम्बन्धि  नियमको  ‘रेड लिष्ट’ मा सूचीकृत भएको  छ । शुक्रबारदेखि  भारतलाई ‘रेड लिष्ट’ मा राखिने बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले यसअघि नै जानकारी दिएका थिए ।

भारतमा कोरोना संक्रमण दर तीव्र रुपमा फैलिएपछि बेलायत सरकारले यस्तो निर्णय गरेको हो । सन् २०१९ को अन्तबाट शुरु भएको कोरोना भाइरसको संक्रमण सन् २०२१ सम्म आइपुग्दा सबैभन्दा बढी  दैनिक संक्रमण हुने मुलुकमा भारत अग्र स्थानमा रहेको छ । पछिल्ला दुई दिनमा भारतमा दैनिक  तीन लाख भन्दा बढी संक्रमितको पुष्टि भएको छ ।

‘रेड लिष्ट’ मा परेसँगै पछिल्लो १० दिनमा भारतको यात्रा गरेका यात्रुहरुलाई बेलायत प्रवेशमा रोक लगाइनेछ । कोरोना संक्रमणको उच्च दर रहेका र नयाँ भेरियन्टसँग देखिएका मुलुकहरूबाट भित्रिने यात्रुलाई विशेष निगरानीमा राख्ने प्रयासमा ल्याइएको 'रेड लिष्ट' मा करिब ४० वटा  देश समावेश छन् ।

बेलायती नागरिक वा बेलायतको 'रेसिडेन्स पर्मिट' हुनेहरूलाई यात्रा बन्देजको नियम लागू हुनेछैन । तर उनीहरुले पनि अनिवार्य रुपमा १० दिन होटेल क्वारेन्टिन बस्नुपर्नेछ । होटेल क्वारेन्टिनका लागि लाग्ने साढे १७ सय पाउन्डको खर्च समेत यात्रु आफैंले व्यहोर्नुपर्ने ।

नयाँ नियम भारतबाट आउने मात्र नभइ भारत हुँदै आउने यात्रुहरुलाई पनि लागू हुनेछ । जसको प्रत्यक्ष असर नेपालबाट आउने यात्रुलाई पनि पर्ने निश्चित छ । भारतसंग सिमाना जोडिएको छिमेकी मुलुक नेपालमा पनि कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्न थालेको छ ।

भारतमा कोरोना संक्रमण बढ्न थालेपछि त्यहाँ बस्दै आएका नेपालीहरु नेपाल फर्किन थालेका छन् । दिनको एकसय भन्दा कम संक्रमित रहँदै आएको नेपालमा अहिले दैनिक संक्रमितको संख्या दुई हजार तीन सय भन्दा बढी पुगेको छ । शुक्रबार बिहान सार्वजनिक गरिएको  तथ्यांक अनुसार  पछिल्लो  २४ घन्टामा मात्र थप ३ लाख ३२ हजारभन्दा बढी संक्रमित  भेटिएका छन् ।

सोहि अनुपातमा संक्रमण दर बढ्दै जाने हो भने नेपाल पनि बेलायतको ‘रेड लिष्ट’ मा पर्ने प्रवल सम्भावना छ । बेलायतमा र नेपालमा हुने कोरोना संक्रमण ठिक विपरित हुने भएकोले बेलायतमा कोरोना महामारीको दोस्रो लहर फैलिन थालेपछि थुप्रै गैर आवासीय नेपालीहरु अहिले नेपालमा पुगेका छन् ।

विशेष गरि गैरआवासीय नेपाली संघका थुप्रै अभियन्ताहरु नेपालमा रहेका छन् । तर, पुन: नेपालमा संक्रमण बढ्न थालेपछि बेलायत फर्किने तरखरमा रहेकाहरु भरतलाई ‘रेड लिष्ट’ को सूचीमा राखेपछि संकटमा परेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा गोरखाको लाप्राक निर्मित नमुना बस्ती अधिकारिक रुपमा हस्तान्तरण गर्नको लागि पनि यतिबेला विभिन्न मुलुकका एनआरएनए अभियन्ताहरु नेपालमा छन् ।

शुक्रबार गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक समारोहबीच लाप्राक नमुना बस्तीका घरहरु लालपूर्जासहित धार्चे गाउँपलिकाका लाभग्राहीहरुलाई हस्तान्तरण गरिसकेका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप