शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीविरुद्धको अविश्वास प्रस्तावका लागि सांसदको हस्ताक्षर जुटाउँदै काँग्रेस

शुक्रबार, १० वैशाख २०७८, २३ : ४०
शुक्रबार, १० वैशाख २०७८

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापनका लागि आन्तरिक तयारी तीव्र बनाएको छ । बुधबारको पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकबाट नयाँ सरकार गठनका लागि परिस्थिति अनुकुल बन्दै गएको निष्कर्ष निकालेको काँग्रेसले आफ्ना सांसदलाई ‘स्ट्यान्डबाई’ बस्न भनेको छ । विशेष गरी काठमाडौं उपत्यका बाहिर भएका सांसदलाई ‘स्ट्यान्डबाई’ बस्न भनिएको हो ।

बर्दियामा रहेका सांसद किशोर सिंह राठोरले काठमाडौंमा रहेका सांसदले सोही अनुसारको सूचना पठाएको बताए । पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद अधिवेशन अन्त्यपछि काँग्रेसका केही सांसद गृहजिल्ला पुगेका छन् । माओवादीले विश्वासको मत फिर्ता र अविश्वासको प्रस्ताव दर्ताको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएपछि काँग्रेसले आफ्ना सांसद तयारी अवस्थामा रहन निर्देशन दिएको हो । अब काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच निर्णायक छलफल गरेर अविश्वास प्रस्ताव अघि बढाउने तयारी भइरहेको बुझिएको छ ।

ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारीमा जुटेको काँग्रेसले प्रतिनिधिसभाको अंकगणितको लेखाजोखा गरिरहेको छ । काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालका अनुसार काँग्रेस सांसदले संसद बैठकमा सहभागी हुनुअघि नियमित हस्ताक्षर गरेका हुन्छन् । बैशाख २ गतेको प्रतिनिधिसभा बैठकमा उपस्थिति सबैको हस्ताक्षर कायम छ ।

अर्कोतिर काँग्रेसका दोस्रा तहका नेताहरु माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव– बाबुराम भट्टराई पक्षसँग निरन्तर संवादमा छन् । बिहीबार जसपाका महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरुको छलफलमा पनि काँग्रेस नेता र यादव–भट्टराईबीचको उठ–बसबारे चर्चा भएको थियो । काँग्रेस अविश्वासको प्रस्ताव दर्ता गर्न अग्रसर देखिएपछि ठाकुर–महतो पक्षले यसलाई गम्भीरताका साथ हेरेको छ ।

माओवादी केन्द्रसहित एमालेको खनाल–नेपाल पक्ष र जसपाको यादव–भट्टराईको सहयोग रहनेमा काँग्रेस विश्वस्त देखिएको छ । सोही अनुसार हस्ताक्षर जुटाउन काँग्रेस लागिपरेको स्रोतको दाबी छ ।

ओली इतर गठबन्धनको सरकार बनाउन काँग्रेसका ६३ (दुई जना निलम्बित), माओवादीका ४९ (चार पद मुक्त) र जसपाका ३४ (दुई निलम्बित) सांसदको मत चाहिन्छ । जसपाको ठाकुर–महतो पक्ष ओलीको विकल्पमा उत्रिन तयार देखिएको छैन ।

 


ठाकुर–महतो पक्षको रिक्तता खनाल–नेपाल पक्षबाट पुरा गर्ने काँग्रेसको रणनीति छ । सोही अनुसार काँग्रेसले खनाल–नेपाल पक्षसँग छलफल अगाडि बढाएको छ ।

चैत २९ गते काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपालबीच गोप्य भेटवार्ता भएको थियो । त्यसयता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नेपालबीच निरन्तर छलफल जारी छ ।

उनीहरुको छलफलमा पनि नयाँ सरकार निर्माणको विषयले स्थान पाउने गरेको छ । नेपालले नयाँ सरकार निर्माणमा सहयोग गर्ने बचन दिएको काँग्रेस नेताहरुको दाबी छ । विहीबार जनकपुरमा पनि नेता नेपालसँग काँग्रेसका केही नेताले छलफल गरेको पाइएको छ ।

उनीहरुसँगको संवादमा नेता नेपालले केपी ओलीसँगको सहकार्यको विषय टाढिँदै गएको बताएका थिए । नेता नेपालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘उहाँ (केपी ओली) सँग सहकार्यको सम्भावना टाढिदै गएको छ । म नयाँ ढङ्गले सोच्ने ठाउँमा पुगेको छ ।’ नेता नेपालले नयाँ बाटोबारे धेरै नखुलाएको स्रोतले बतायो ।

 


बुधबार र बिहीबार ओलीसँगको छलफलबारे काँग्रेस नेताहरुको जिज्ञासामा नेपालले सहकार्यको ढोका बन्द हुँदै गएको बताएका थिए । उनले आफू निकट मानिएका २० भन्दा बढी सांसदले आफूलाई साथ दिने संकेत गरेको स्रोतको दाबी छ । नेपालको उक्त अभिव्यक्तिले काँग्रेसजनमा उत्साह सञ्चार भएको बुझ्न गाह्रो छैन । किनभने ओलीले नेपाल पक्षका सांसदमाथि कारबाही गरे आफै थप असुरक्षित हुने खतरा छ ।

काँग्रेसका एक सांसदले भने, ‘यतिबेला केपी ओलीजी न खाउँ त दिनभरिको शिकार, खाउँ त कान्छा बाउको अनुहारको अवस्थामा पुग्नुभएको छ ।’ यसले काँग्रेसलाई भने सरकार बनाउन सहजता प्रदान गरेको उनको भनाइ छ । त्यसैले पनि नेताहरु सक्रिय देखिएको उनले बताए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप