कोरोनाका कारण ‘निफ’ अनलाइनमार्फत हुने
शुक्रबार, १० वैशाख २०७८, १६ : २५
काठमाडौंँ । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को चौथो संस्करण अनलाइन माध्यमबाट हुने भएको छ । पछिल्लो समय कोरोनाको कहर बढेसँगै आयोजकले फेस्टिभल अनलाइनमार्फत आयोजना हुन लागेको हो ।
फेस्टिभलमा सहभागी फिल्मलाई अनलाइनका विभिन्न माध्यमबाट अझै प्रभावकारी रुपमा देखाइने ‘निफ’ का अध्यक्ष केपी पाठकले जानकारी दिए । अनलाइनमार्फत फेस्टिभल आयोजना हुँदा दर्शकका लागि अझ लाभदायक हुने आयोजकको भनाई रहेको छ । वैशाख २३ देखि २७ गतेसम्म हुने निफमा नेपाली फिचर फिल्मबाहेक ५२ देशका ४ सय ५० बढी फिल्मले सहभागिता जनाउँदैछन् । यो वर्ष कोरोना महामारीको विषयमा बनेका फिल्मलाई पनि अलग्गै विधामा प्रतिष्पर्धामा छन् ।
कोभिडले पारेको प्रभावमा बनेका फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् भने अन्य विधामा उत्कृष्ट फिल्मलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।